गुरुकुल दाङ अन्तरविद्यालय क्रिकेटको उपाधि पुरन्धारा एभेरेष्टलाई
विकास भट्टराई
दाङ,१२ पुस । गुरुकुल दाङ जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सिजन–२ को उपाधि पुरन्धारा एभेरेष्ट एकेडेमीले जितेको छ । घोराही उपमहानगरपालिका–१७ स्थित घोराही क्रिकेट मैदानमा शनिवार भएको प्रतियोगिताको फाइनल खेलमा पुरन्धारा एभरेस्ट एकेडमीले ग्रेट अरनिको स्कुललाई ८ विकेटले पराजित गर्दै उपाधी चुमेको हो ।
फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ग्रेट अरनिकोले २० ओभर पूरा खेल्दै ७ विकेट गुमाएर मात्र ८७ रन बनाएको थियो । ग्रेट अरनिकोको लागि ब्याटिङमा बिमोचन थापाले २६ रन, विश्वास वलीले ११ रन र राजेश खड्काले १० रन बनाए । बलिङमा पुरन्धाराका लागि अनुप डांँगी र सरगम भारतिले समान २–२ विकेट र मनोज केसीले १ विकेट लिएका थिए । ८८ रनको जवाफी लक्ष्य पछ्याएको पुरन्धाराले १४.४ ओभरमा २ विकेटको क्षतिको लक्ष्य पूरा गर्दै बिजयी बनेको थियो । पुरन्धराको जीतका लागि प्रिन्स थापाले ३० रन, मनोज केसीले ३१ रन र पूर्ण केसीले ११ रनको योगदान दिएका थिए । बलिङमा ग्रेट अरनिको लागि राजेश खड्का र प्रमोद डांँगीले समान १–१ विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच पुरन्धाराका लागि ब्याटिङ र बलिङमार्फत उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा विजयी बनाउन सफल पुरन्धाराका कप्तान मनोज केसी बनेका थिए । उनलाई दाङ जिल्ला क्रिकेट संघका सल्लाहकारले निरन्जन राजभण्डारीले पुरस्कार प्रदान गरेका थिए । त्यस्तै ४ म्याचमा १०८ रन बनाएका ग्रेट अरनिकोका विकेट किपर तथा ब्याटर बिमोचन थापा प्रतियोगिताको उदाउँदो खेलाडी घोषित भएका थिए । साथै ४ म्याचमा ११६ रन बनाएका पुरन्धारा एभरेष्टका प्रिन्स थापा उत्कृष्ट ब्याट्सम्यान, २ खेलमा १० विकेट लिएका गोर्खा इन्टरनेशनल स्कुलका दक्ष्य ठकुरी उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडी ४ म्याचमा ब्याटिङमा १३१ रन र बलिङमा ७ विकेट लिएका पुरन्धाराका मनोज केसी बन्न सफल भएका थिए । कार्यक्रमका बिजेता खेलाडीलाई ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगौयाको अध्यक्षत तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको ाको समापन कार्यक्रममा दाङ जिल्ला क्रिकेट संघले ब्लाइन्ड महिला क्रिकेट विश्वकपमा प्रमुख प्रशिक्षक भई नेपाली टिमलाई उपबिजेता बनाउन सफल प्रशिक्षक सन्जु केसीलाई सम्मान गरेको थियो । त्यसैगरी दाङ जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सिजन–२ को मुख्य प्रायोजन गरेको गुरुकुल स्कुल घोराहीलाई पनि सम्मान गरिएको थियो । दाङ जिल्ला क्रिकेट संघका उपाध्यक्ष किशोर जिएमको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव सचिव सन्जु केसीले गरेका थिए ।
