पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक,आठ टिम सहभागी हुने
दाङ, १० पुस । पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता–२०८२ को ट्रफी सार्वजनिक गरिएको छ ।
आयोजक दाङ युवा क्लबले विहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको हो । दाङ युवा क्लवका उपाध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, स्वर्गीय पवित्रादेवी शर्माका माइला छोरा जयानन्द शर्मा र साइला छोरा ई.ऋषिराम शर्माले गरेका थिए ।
घोराही उपमहानगरपालिका–१७ स्थित गुलरियास्थीत घोराही क्रिकेट मैदानमा पुसको १३ गतेदेखि २१ गतेस्म्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका आठ वटा टिम सहभागी हुने आयोजक दाङ युवा क्लबका कोषाध्यक्ष सुजित शर्माले जानकारी दिएका छन् । कोषाध्यक्ष शर्माका अनुसार प्रतियोगितामा पुरन्धरा क्रिकेट क्लब, घोराही क्रिकेट एकेडेमी, भ्याली जुनियर क्रिकेट क्लब, तुलसीपुर स्पोट्र्स एकेडेमी, एजाइन क्रिकेट क्लब, घोराही टाइगर्स, देउखुरी वारियर्स र श्री त्रिशिद्धेश्वरी स्पोट्र्स क्लब रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेल पुरन्धरा क्रिकेट क्लब र तुलसीपुर स्पोट्र्स एकेडेमीबीच खेल हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ तथा उपविजेता टिमले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विधागत रुपमा पनि प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजक लुक्स फेशन वेयर, फुड्स पार्टनरमा लिटिल फरेष्ट र इन्सोरेन्स पार्टनरमा नेको इन्सोरेन्स रहेका छन् ।कार्यक्रमको सहजीकरण महानन्द पाण्डेयले गरेका थिए ।
प्रतियोगिता दाङ युवा क्लबको आयोजना तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा यहि पुसको १३ गतेदेखि २१ गतेसम्म घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत घोराही क्रिकेट मैदानमा हुनेछ ।
