Ad Area

पवित्रादेवी स्मृति क्रिकेट : पुरन्धारा च्यालेन्जर्सको विजयी सुरुवात


हिमाल महरा
दाङ,१३पुस । पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगितामा पुरन्धारा च्यालेन्जर्सको विजयी सुरुवात गरेको छ । दाङ युथ क्लबको आयोजनामा तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा आइतबारदेखि सुरु भएको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पुरन्धारा च्यालेन्जर्स विजयी भएको हो ।

घोराही(१७ गुलरियास्थीत घोराही क्रिकेट रंगशालामा भएको उद्घाटन खेलमा पुरन्धारा च्यालेन्जर्सले तुलसीपुर स्पोर्ट्स एकेडेमीलाई ४४ रनले पराजित गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको पुरन्धारा च्यालेन्जर्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४३ रन बनायो। पुरन्धाराका लागि दर्श सोनारले सर्वाधिक ४४ रनको योगदान दिए भने मनोज केसीले ३३ रन र मोहन खत्रीले १७ रन बनाए। अतिरिक्तबाट टोलीले १८ रन प्राप्त गरेको थियो।

तुलसीपुर स्पोर्ट्स एकेडेमीका बलरमध्ये उमेश गिरीले २ विकेट लिन सफल भएका थिए। १४४ रनको लक्ष्य पछ्याएको तुलसीपुर स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९९ रनमै सीमित हुन पुगेको थियो । तुलसीपुरका लागि मोहन केसीले ४२ रनको संघर्षपूर्ण पारी खेले भने सचिन बीकले अविजित २९ रन जोडे। पुरन्धारा च्यालेन्जर्सका बलर पुरनबहादुर विकले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। उनको प्रभावशाली प्रदर्शनका कारण उनलाई खेलको म्यान अफ द म्याच घोषित भएका थिए । त्यस्तै शुशान्त नेपालीले २ विकेट हात पारे।

प्रतियोगिताअन्तर्गत सोमबार दोस्रो दिन बिहान द एजाइन क्रिकेट क्लब र श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लबबीच तथा दिउँसो घोराही क्रिकेट एकेडेमी र भ्याली जुनियर क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने क्लबका कोषाध्यक्ष सुजित शर्माले जानकारी दिएका छन।