अन्तरविद्यालय शिक्षक भलिबलको उपाधि गोरखालाई
दाङ, १४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीद्वारा आयोजित अन्तरविद्यालय शिक्षक भलिबल २०८२ को उपाधि गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले हात पारेको छ ।
गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल र मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलबिच भएको फाइनल खेलमा गोरखाले मेचीकालीलाई हराउँदै उपाधि हात पारेको हो ।
खेलको उपविजेता मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल भएको छ । शनिवार सम्पन्न प्रतियोगिताको सेकेन्ड रनर अप ज्ञानज्योति एजुकेसनल एकेडेमी र शान्तिसुधा इङ्लिस बोर्डिङ स्कुल भएका थिए । खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शनी गरेका गोरखाका खेलाडी गोविन्द रोकालाई बेस्ट प्लेअर अवार्ड प्रदान गरिएको थियो ।
प्रतियोगिताको विजेता विद्यालयलाई १० हजार नगद पुरस्कार र ट्रफी, उपविजेतालाई आठ हजार नगद पुरस्कार र ट्रफी, सेकेन्ड रनर अपलाई छ÷छ हजार नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो भने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । ज्ञानज्योति प्रोग्रेसिभ स्कुल नारायणपुरको खेल मैदानमा भएको प्रतियोगितामा एघार विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
प्याब्सन घोराही अध्यक्ष बालकृष्ण वलीको अध्यक्षता एवम् प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा बोल्दै न्यौपानेले खेलले शिक्षकबिच सुमधुर सम्बन्ध स्थापित गर्न मद्दत गर्ने बताए । आगामी वर्षमा पनि शिक्षकका लागि मैत्रीपूर्ण खेलकुद सञ्चालन गर्दै परस्पर सम्बन्ध कायम राख्न न्यौपानेले आग्रह गरे ।
प्याब्सन घोराही नगर उपाध्यक्ष मानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बिमल भण्डारीले गरेका थिए ।
