प्रथम कौशला चौधरी स्मृति फुटबल प्रतियोगिता हुने
दाङ, १५ पुस । दाङको तुलसीपुरमा प्रथम कौशला चौधरी स्मृति फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ ।
रतननाथ युथ क्लबको आयोजनामा तुलसीपुर उपमहानगरपालिका–१६ उत्तर कुरहरियास्थित लक्ष्मीपुर खेलमैदानमा यही पुस २६ देखि २८ गतेसम्म प्रथम कौशला चौधरी स्मृति फुटबल प्रतियोगिता हुने भएको हो ।

स्थानीय खेल प्रतिभाको पहिचान, खेलकुदको विकास तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले नगद ३५ हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक रतननाथ युथ क्लबका एलिन चौधरीले जानकारी दिएका छन् । चौधरीका अनुसार उपबिजेता हुने टिमले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र गर्नेछ ।
प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिने रतननाथ युथ क्लबले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका विभिन्न फुटबल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि प्रवेश शुल्क दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ । टिम दर्ताका लागि पुस २४ गतेसम्मलाई समय तोकिएको छ । खेल तालिका टिम दर्ता प्रक्रिया सम्पन्न भएपछि सार्वजनिक गरिनेछ ।

