६४ लाख ८१ हजार चोरेको आरोपमा तुलसीपुरका युवक पक्राउ
दाङ,१५ पुस । काठमाडौंबाट चोरी गरी ल्याएको ६४ लाख ८१ हजार रकमसहित तुलसीपुरका एक युवक पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्ष शाहका अनुसार इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुली नेतृत्वको टोलीले केसीलाई पक्राउ गरेको हो । गोलौरास्थित घरमा गएर खानतलासी गर्ने क्रममा ठूलो परिमाणमा नगद नोटहरू फेला परेपछि प्रहरीले पैसा गन्नका लागि मेसिन लगेको थियो। पेसाले प्लमर दुर्गाबहादुर सोमबार बेलुका मात्रै काठमाडौंबाट गोलौरास्थित घर आएका थिए। जसले त्यो रकम काठमाडौं विशाल नगरस्थित डिसहोम फाइबर नेटका सञ्चालकको घरबाट चोरी गरेको प्रहरीको आरोप छ ।
प्रहरीका अनुसार सिसिटिभी फुटेजमा रकम चोरी गर्दै गरेका दुर्गा बहादुरको भिडिओ कैद थियो। त्यही भिडिओको आधारमा प्राप्त गोप्य सूचनापछि राति नै प्रहरी दुर्गाबहादुरको घर पहिचानमा लागेको थियो। दुर्गाबहादुरको घर यकिन गरिसकेपछि प्रहरी निगरानी गगरेको थियो। मंगलरबार बिहान प्रहरीले दुर्गाबहादुरको घर खानतलासी गरेको थियो। प्रहरीले दुर्गा बहादुरलाई नियन्त्रणमा लिएर घट्नाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिएका छन् ।
