Ad Area

पोल्ट्री दिवसमा सुत्केरीलाई अण्डा वितरण


दाङ, १८ पुस । दाङमा १३ औँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा सुत्केरीलाई अण्डा वितरण गरिएको छ । नेपाल लेयर्स कुखुरापालक संघको आयोजना, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ र सुरक्षित कुखुरा दाना व्यवसायी समिति दाङको सहयोगमा बिहिबार घोराहीमा सुत्केरी भएका छ महिनादेखि दुई वर्षसम्मका महिलालाई एक÷एक क्यारेट अण्डा वितरण गरिएको हो ।

राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका २१ जना सुत्केरी र घोराही–१४ नयाँबजार सहरी स्वास्थ्य केन्द्रमा २९ जना सत्केरी र छ जना ज्येष्ठ नागरिकलाई अण्डा वितरण गरिएको थियो । ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ प्रतिष्ठानमा कुपोष भएका बालबालिकालाई उपचार गराइरहेका आमा र सहरी स्वास्थ्य केन्द्रबाट सेवा लिइरहेका सुत्केरी तथा ज्येष्ठ नागरिक गरेर ५६ जनालाई निःशुल्क अण्डा वितरण गरिएको नेपाल लेयर्स कुखुरापालक संघ दाङका सहसचिव अजय न्यौपाने बताए ।

नेपाल लेयर्स कुखुरापालक संघ दाङका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराहीका प्रमुख हरिनारायणप्रसाद थारूले स्वस्थ शरीरसँगै पोषण सुधारका लागि हरेक दिन नागरिकले एउटा अण्डा खान आवश्यक रहेको बताएका थिए ।

अण्डा स्वास्थ्यका लागि निकै आवश्यक रहेको भन्दै कार्यालय प्रमुख थारूले उच्च गुणस्तरको प्रोटिन र भिटामिन जस्ता पौष्टिक तत्वहरू प्रशस्त पाइने भएकाले अण्डा खान आवश्यक रहेको बताए । नियमित अण्डा खाँदा शरीरमा मांसपेशी विकास, मस्तिष्क स्वास्थ्य, आँखाको रक्षा, रोग प्रतिरोधी क्षमता बढाउनुका साथै मुटु स्वस्थ राख्न सहयोग गर्ने उनको धारणा थियो ।

सुत्केरी र ज्येष्ठ नागरिकलाई अण्डा वितरण गर्नुअघि घोराहीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको कार्यालय अघिबाट अण्डा खानुका फाइदाहरू लेखिएका प्लेकार्डसहित बजारमा ¥याली निकालिएको थियो । समितिका अनुसार जिल्लामा करिब दुई सय पोल्ट्री फर्म रहेका छन् । अण्डा उत्पादनका दृष्टिले दाङ चितवनपछि देशमै दोस्रो स्थानमा रहेको छ ।

दाङ उत्पादन भएका अण्डा बुटवल, नेपालगंज, धनगढी, महेन्द्रनगर, सुर्खेत, दैलेख, जुम्ला, रोल्पा, रुकुम, प्युठानलगायतका जिल्लामा जाने गरेको छ । कार्यक्रमको सहजीकरण ईश्वर अर्यालले गरेका थिए ।