Ad Area

घोराहीमा आज माघ सांस्कृतिक महोत्सव हुने


दाङ, १९ पुस । घोराहीमा आज माघ सांस्कृतिक महोत्सव हुने भएको छ । थारू कल्याणकारिणी सभा दाङको आयोजनामा आज शनिवार घोराहीमा एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ हुन लागेको हो ।

घोराहीको जिल्ला समन्वय समितिको प्राङ्गणमा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक तथा सभाका अध्यक्ष अशोक चौधरीले जानकारी दिएका छन् ।

थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा सात दर्जन बढी मघौटा नाच, छोक्रा, हुर्डुङ्ग्या नाच, ढुम्री गीतको प्रस्तुतिलगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुतह गरिने अध्यक्ष चौधरीले जानकारी दिए । राष्ट्रिय तथा स्थानीय थारू कलाकारको पनि आकर्षक प्रस्तुति रहने उनले बताए ।

‘आर्थिक जागरण व सांस्कृतिक रूपान्तरण हमार अभियान, समाजिक न्यायसहितके समृद्धिम हमार योगदान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सव उद्घाटन अघि घोराहीका मुख्य बजार क्षेत्रमा थारू मौलिक भेषभूषासहित थारू संस्कृतिको झाँकीसहित बजार परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ ।

महोत्सवमा थारू समुदायले आफ्ना मौलिक भेषभूषा तथा पहिचानसहित ढक्या, डेल्वा, भौँका, भौँकी, हलो, जुवालगायतका थारू हस्तकलाका सामग्री लिएर सहभागिता जनाई थारू समुदायको पहिचान र मौलिक संस्कृति झल्काउन अनुरोध गरिएको छ ।

एकदिने महोत्सवमा थारू परिकारहरू घोँघी, माछा, गँगटा, ढिक्री, अनडीको रोटी, अनडीको भात, अनडीको झोल, आलुको अचार, सिध्रामाछालगायतका परिकारको बिक्री तथा वितरण गरिने उनले जानकारी दिए । थारू समुदायसँग सम्बन्धित ऐतिहासिक, खोजमूलक सामग्री, थारू भाषा, साहित्य र संस्कृतिसम्बन्धी विभिन्न पुस्तकहरूको बिक्री–वितरण गरिनेछ ।

यसैगरी महोत्सवमा थारू समुदायको परम्परागत हस्तकला सामग्रीहरू हेल्का, डेल्या, गुन्द्री, ढक्या, ढक्ली, डेल्वा, भौका, भौकी, बेर्रालगायतको प्रदर्शनी तथा बिक्रीको व्यवस्था गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । महोत्सवको अवसरमा थारू भाषा, कला तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका थारू अगुवा तथा संस्कृतिविद्लाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिए ।महोत्सवमा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व सांसद शान्ता चौधरी, घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, स्थानीय तहका प्रमुख तथा उप्रमुखलगायत थारू नेताहरू सहभागिता रहने भएको छ ।

सभाका अध्यक्ष अशोक चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यतामा एवम् नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमको सहजीकरण सन्तोष दहितले गरेका थिए ।