Ad Area

पवित्रादेवी स्मृति क्रिकेटको सेमिफाइनल समीकरण पूरा


हिमाल महरा
दाङ,१९ पुस। पवित्रादेवी स्मृति टी–२० क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। दाङ युथ क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ को सेमिफाइनल खेल्ने टिमको टुंगो लागेको हो ।

घोराही-१७ गुलरियामास्थीत घोराही क्रिकेट मैदानमा जारी प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरी खेलाइएको थियो। समूह चरणका खेल सम्पन्न भएसँगै सेमिफाइनल प्रवेश गर्ने चार टिमको टुंगो लागेको हो।

ग्रुप ‘ए’ बाट पुरन्धारा च्यालेन्जर्स समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने घोराही क्रिकेट एकेडेमी उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको छ। त्यसैगरी ग्रुप ‘बी’ बाट श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब विजेता बन्दै र देउखुरी वारियर्स उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिता लअन्तर्गत पहिलो सेमिफाइनल खेल आइतबार बिहान पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारियर्सबीच हुनेछ। त्यस्तै, दोस्रो सेमिफाइनल खेल दिउँसो श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब र घोराही क्रिकेट एकेडेमीबीच हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ तथा उपविजेता टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने दाङ युथ क्लबका कोषाध्यक्ष सुजित शर्माले जानकारी दिएका छन्।