Ad Area

सुका खोलामा बन्दै पक्की पुल


दाङ, २१ पुस । घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपाकिालाई जोड्ने गरी सुका खोलामा पक्की पुलको निर्माण सुरु भएको छ । वीपी मार्ग अन्तर्गत रामपुर, सिमलतारा, हाँसीपुर गरी घोराही उपमहानगरपालिका–१ र बंगलाचुली गाउँपालिका–४ लाई जोड्ने सुका खोलामा पक्की पुलको निर्माण कार्य सुरु भएको हो ।

करिब चार करोड पाँच लाख आठ हजार सात सय दुई रुपियाँको लगानीमा पुल निर्माणको काम सुरु भएको सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी सागर मरासिनीले जानकारी दिएका छन् । सूचना अधिकारी मरासिनीका अनुसार २०८२ पुस मसान्तभित्र पुलको निर्माण कार्य सक्ने गरी २०८१ साउन १ गते सनलाइट÷ जेडी÷स्मृति विशाल जेभी दाङसँग ठेक्का सम्झौता भएको थियो । पुल २० मिटर लम्बाईको बन्नेछ ।

पुल निर्माणका लागि आर्थिक वर्ष २०८१÷०८२ मा ७५ लाख रुपैयाँ मात्र विनियोजन भए पनि न्यून बजेटका कारण पुलको निर्माण कार्य सुरु हुन सकेको थिएन । चालु आर्थिक वर्ष ०८२÷०८३ मा दुई करोड रुपैयाँ विनियोजन भएपछि पुलको निर्माण कार्य सुरु भएको सूचना अधिकारी मरासिनीले बताए ।

‘न्यून बजेटका कारण गत आर्थिक वर्षमा पुलको निर्माण कार्य सुरु हुन सकेको थिएन’, सूचना अधिकारी मरासिनीले भने, ‘गत आर्थिक वर्षमा ७५ लाख र चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन भएपछि पुलको निर्माण कार्य सुरु भएको छ ।’ ठेक्का सम्झौता अनुसार पुल निर्माणको म्याद सकिएकाले चालु आर्थिक वर्षभित्र काम सक्ने गरी म्याद थप गरिएको कार्यालयले जनाएको छ ।

सुका खोलामा पुल नहुँदा वर्षात्को समयमा स्थानीयलाई आवागमनमा समस्या हुने गरेको छ । पुल निर्माण भएपछि बंगलाचुली गाउँपालिका वडा नं. ३, ४, ७ र ८ बासीलाई घोराही आउ जाउसँगै विद्यार्थीलाई विद्यालय आउ जाउ गर्न सहज हुने बंगलाचुली गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष डाँसबहादुर डाँगी बताउँछन् ।

खोलामा पुल नहुँदा वर्षात्को समयमा बंगलाचुली अन्तर्गत पर्ने गहतेरा, मुलाबारी, स्वामीघाट, हाँसीपुरलगायतका स्थानीयलाई पैदल हिड्नुपर्ने बाध्यता छ । रामपुर–सिमलतारा–हाँसीपुर–देवीकोट हुँदै राप्ती गाउँपालिका जोड्ने सडकलाई घोराही र प्रदेश राजधानी जोड्ने वैकल्पिक सडकका रूपमासमेत लिने गरिन्छ ।