Ad Area

पवित्रादेवी स्मृति टी–२० क्रिकेटको उपाधि पुरन्धारा च्यालेन्जर्सलाई


घोराही,२१ पुस । दाङ युथ क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भएको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि पुरन्धारा च्यालेन्जर्सले हात पारेको छ।

घोराही क्रिकेट रंगशाला, गुलरियामा सोमबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा पुरन्धारा च्यालेन्जर्सले घोराही क्रिकेट एकेडेमीलाई २० रनले पराजित गर्दै उपाधि जित्न सफल भयो। उपाधिसँगै पुरन्धाराले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता घोराही क्रिकेट एकेडेमीले नगद ५० हजार रुपैयाँमा चित्त बुझायो।

टस जितेर पहिले ब्याटिङ रोजेको पुरन्धारा च्यालेन्जर्सले निर्धारित २० ओभरमा १० विकेटको क्षतिमा ११२ रन बनायो। मध्यम स्कोर बनाएको पुरन्धाराका लागि ओपनर दिल्साद अलीले २५ बलमा १ चौका र १ छक्काको सहयोगमा २८ रनको उपयोगी इनिङ्स खेले। त्यस्तै दर्शन सोनारले ३ चौका र १ छक्कासहित ३१ बलमा २८ रन जोडे।

मध्यक्रममा दिवान पुनले आक्रामक ब्याटिङ गर्दै १७ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाए। टोलीले अतिरिक्त रुपमा ७ रन प्राप्त गरेको थियो। घोराही क्रिकेट एकेडेमीका बलरमध्ये करण जिएमले बलिङ गर्दै १ ओभरमा मात्र २ रन खर्चेर २ विकेट लिए। किशन भारतीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट हात पार्दै टोलीका प्रमुख बलरका रूपमा देखिए।

११३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको घोराही क्रिकेट एकेडेमीले पुरन्धाराका बलरहरूको कसिलो बलिङसामु २० ओभरमा ९ विकेटको क्षतिमा ९३ रन मात्र बनाउन सक्यो। घोराहीका लागि हेमराज सापकोटाले २८ बलमा २ चौकासहित २० रन बनाए भने मनोज पुनले २७ बलमा १ छक्कासहित १७ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली उपविजेतामै सीमित रहन पुग्यो।

पुरन्धारा च्यालेन्जर्सका बलरहरूमा वीरबहादुर घर्ती, मोहन खत्री र सुशान्त नेपालीले समान २–२ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। फाइनल खेलको म्यान अफ द म्याच अलराउन्ड प्रदर्शन गरेका वीरबहादुर घर्तीले प्राप्त गरे। दाङ युथ क्लबका कोषाध्यक्ष सुजित शर्माका अनुसार प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि दिवान पुनले प्राप्त गर्दै नगद १० हजार रुपैयाँ पुरस्कार जिते।

त्यस्तै बेस्ट बलरको पुरस्कार किशन भारतीले ५ हजार रुपैयाँसहित हात पारे भने बेस्ट ब्याटर को पुरस्कार क्षितिज थापा मगरले ५ हजार रुपैयाँ सहित प्राप्त गरेको क्लबका कोषाध्यक्ष शर्माले दिनुभयो ।

दाङ युवा क्लबका अध्यक्ष शारदा शर्माको अध्यक्षता तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमको प्रमुख आतिथ्यता तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रदीप मजगैया र लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकाको बिशिस्ट आतिथ्यमा भएको समापन कार्यक्रममा खेलाडीलाई पुरस्कर बितरण गरिएको थियो ।