राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयपत्र दर्ता
घोराही, २३ पुस । राष्ट्रियसभा निर्वाचनका लागि आज बुधवार उम्मेदरको मनोनयनपत्र दर्ता हुने भएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ताका लागि दलहरूलाई बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्मको समय दिइएको छ ।
घोराही उपमहमानगरपालिका–१५ स्थीत प्रदेश निर्वाचन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयपत्र दर्ताका लागि व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेशमा एक जना अपाङ्ग, एक जना महिला र एक जना अन्य गरी तीन पदका लागि निर्वाचन हुन थालेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयनपत्र दर्ता गराउने उम्मेदवारको सूची प्रकाशन बुधवार दिउँसो ३ः०० देखि ४ः०० बजेसम्म गर्ने निर्वाचन कार्यतालिका रहेको छ । त्यसैगरी पुस २४ गते बिहान १०ः०० देखि बेलुका ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २५ र २६ गते मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र २६ गते उम्मेदवारको नामवली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।
यसैगरी पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ ११ गते निर्वाचनका लागि मतदान गर्ने कार्यतालिका रहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि समय सुरु हुन केही घण्टा बाँकी रहेपनि राजनीतिक दलहरुले भने अझै उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् ।
आगामी फागुन २० गते १८ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ । जसमा राष्ट्रिय सभाका कोसी र लुम्बिनी प्रदेशबाट तीन÷तीन जना, मधेस प्रदेशबाट चार जना, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दुई÷दुई जनाको पदाधि सकिँदैछ । ५९ सदस्यीय राष्ट्रिय सभामा अहिले कांग्रेसका १६, एमालेका (राष्ट्रपतिबाट मनोनितसहित) ११, नेकपाका (राष्ट्रपतिबाट मनोनितसहित) २७, जसपाका चार र राष्ट्रिय जनमोर्चका एक सांसद छन् ।
