Ad Area

घोराहीमा लागुऔषधसहित दुई जना पक्राउ


दाङ,२२ पुस । घोराहीबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पुसको २१ गते विहान करिब ९ः३० बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं. १३ बनगाउँ चौतारी टोलस्थित एक घरमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुई जनालई पक्राउ गरेको हो ।

बनगाउँ चौतारी टोलस्थित सम्पदा बुढा मगरको घरमा खानतलासी गर्दा कोठाभित्र लुकाई राखिएको सुटकेसबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० पुडिया (बिस) शुद्ध तौल नौ किलो ६१९ ग्राम र सोही झोलाभित्र राखिएको जंगली जनावरको जस्तो देखिने सिङ २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले घटनास्थलबाट २९ वर्षीय सम्पदा बुढा मगर र ३० वर्षीय हासी पुन मगरलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सम्पदा रुकुम (पूर्वी भाग) भूमे गाउँपालिका वडा नं. २ का स्थायी बासिन्दा भई हाल घोराही १३ मा बस्दै आएका थिए भने हासी पुन मगर पुथा उत्तरगंगा गाउँपालिका १ निवासी हुन् । पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दामा सम्मानित दाङ जिल्ला अदालत घोराहीबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।