घोराही मेलामा आज कुलेन्द्र बिश्वकर्माको विशेष प्रस्तुति रहने
दाङ,२७ पुस । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ को आज आइतबारको मुख्य आकर्षणका रूपमा चर्चित गायक कुलेन्द्र बिश्वकर्माको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ ।
मेलाको तेस्रो दिन लाेकप्रिय गायक कुलेन्द्र बिश्वकर्माले आफ्ना चर्चित लोक तथा आधुनिक गीतमार्फत दङ्गाली दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ । सालको पात टपरी हुने, नजाऊ न सानु पँधेरीमा, आकाश धर्तीकोलगायतका लोकप्रिय गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा अलग पहिचान बनाएका कुलेन्द्रको प्रत्यक्ष प्रस्तुति सुन्ने अवसर दाङवासी दर्शकले पाउने भएका छन् ।
कुलेन्द्रसँगै आजको कार्यक्रममा गायिका सिर्जना खत्री, सञ्जिता बुढामगर र सुनिता सुनारलगायत कलाकारहरूको समेत विशेष प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक गोपाल बुढामगरले जानकारी दिए । यसैगरी गायक माधव जोन खत्री र गायिका रुपा घर्ती मगरले कार्यक्रम सञ्चालन गर्नेछन् ।
मेलामा सांगीतिक तथा हास्य प्रस्तुतिसँगै मगर समुदायको मौलिक नृत्य, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकी, स्थानीय कला–संस्कृतिको प्रदर्शनी, स्थानीय उत्पादन तथा परिकारका स्टल, हस्तकलाका सामग्री र पर्यटन प्रवद्र्धनसम्बन्धी जानकारी कक्ष सञ्चालनमा रहेका छन् ।
नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको संरक्षकत्व तथा नेपाल मगर संघ घोराही उपमहानगर कार्यसमितिको आयोजनामा सञ्चालन भइरहेको मेलाको मुख्य उद्देश्य संघको बहुउद्देश्यीय सांस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउनु, स्थानीय संस्कृतिको संरक्षण गर्नु र दाङको पर्यटन प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार माघे मेलाले संस्कृति, मनोरञ्जन र पर्यटनलाई एउटै थलोमा जोड्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । मेलामा मौलिक नृत्य, परम्परागत भेषभूषा, स्थानीय खानाका परिकार, हस्तकला तथा पर्यटन प्रवद्र्धनसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनीले मेलालाई अझ रंगीन बनाएको छ । साथै दर्शकको आकर्षणका लागि आइफेल टावर, जलपरी र लण्डन ब्रिज जस्ता आकर्षक संरचनाहरू पनि निर्माण गरिएको छ ।

प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ भने क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि ८० रुपैयाँ र ५ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
न्यू रोल्पाली डाँगी स्टोर घोराही-१४ मुख्य प्रायोजक रहेको मेलाको संरक्षकमा घोराही उपमहानगरपालिकाको कार्यालय र नेपाल मगर संघ दाङ जिल्ला समन्वय समिति रहेका छन् । आयोजकले आजको विशेष सांगीतिक कार्यक्रम अवलोकनका लागि सर्वसाधारणलाई माघे मेलामा उपस्थित हुन हार्दिक निम्तो दिएका छन् ।
