Ad Area

कुलेन्द्र विश्वकर्मा र सिर्जना खत्रीको प्रस्तुतीमा दङाली दर्शक छमछमी नाचे


घोराही, २७ पुस । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को तेस्रो दिन आइतबार चर्चित लोकगायक कुलेन्द्र विश्वकर्मा र लोकप्रिय गायिका सिर्जना खत्री ‘हाउडे माया’ सहितका कलाकारहरूको दमदार प्रस्तुतिले दङाली दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको छ।

साँझ ढल्दै मञ्चमा उक्लिएका कुलेन्द्र विश्वकर्माको ऊर्जाशील प्रस्तुतिले उमेरको सीमा तोडिदिएको थियो। युवादेखि वृद्ध, बालबालिकादेखि अनुभवी दर्शकसम्म एउटै तालमा छमछमी नाचिरहेका दृश्यले मेलास्थल जीवन्त बनेको थियो। उनका गीत केवल सुन्ने माध्यममा सीमित रहेनन्, बरु दर्शकको मन र शरीरसँगै बग्न थाले।

कुलेन्द्रले ‘जलजला’, ‘लाउँछ माया’, ‘उकाली ओराली’, ‘जिम्बल बाको आँगनीमा’, ‘सालको पात टपरी हुने’ जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकदिर्घा नाचगानमा डुबेको देखिन्थ्यो। लोकधुनको तालमा युवायुवतीदेखि वृद्धसम्म खुलेर नाचेका दृश्यले मेलाको रौनक अझ बढाएको थियो।

कुलेन्द्रको प्रस्तुतिपछि मञ्चमा उक्लिएकी गायिका सिर्जना खत्री ‘हाउडे माया’ को पहिलो बोलसँगै दर्शकदिर्घा तरङ्गित बनेको थियो। सिर्जनाको मिठासपूर्ण स्वर, ताली र हुटिङ मिसिँदा केही समय त भिड नियन्त्रणबाहिर जाने अवस्था समेत सिर्जना भयो। सुरक्षाकर्मी र आयोजकको सक्रियतामा माहोल पुनः व्यवस्थित गरिएको थियो।
सिर्जनाले ‘मेरो एक्सको छम्मा’, ‘नौ टंकी माया’, ‘डबल माया’, ‘ब्रेकप पार्टी’, ‘लाहुरे माया’, ‘एक नम्बर हरामी’ जस्ता हिट गीतमा युवाहरू उफ्रँदा धुलो उडेको दृश्यले कार्यक्रमको उचाइ झनै बढाएको थियो। संगीत, ऊर्जा र उन्मादको संगमले मेलास्थल केही समयका लागि सबै चिन्ता र थकान बिर्साउने थलो बनेको थियो।

कार्यक्रमलाई थप अर्थपूर्ण बनाउँदै गायिका सञ्जिता बुढा मगरले ‘डढेलोले वन खायो, जोडी मजदुरको’ र ‘सालैजो’ जस्ता गीतमार्फत श्रम, समाज र जीवनका कथालाई संगीतमा बाँधिन्, जसले दर्शकलाई नचाउनुका साथै सोच्न पनि बाध्य बनायो।

सांस्कृतिक संयोजक गोपाल बुढा मगरका अनुसार आइतबारको कार्यक्रम बहुआयामिक रह्यो। सोनी ग्रुपको दमदार प्रस्तुतिसँगै जिल्लास्तरीय लोकदोहोरी गीत प्रतियोगिता र नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो। जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा मझेरी रोदीघर घोराही र बागीना कला केन्द्र तुलसीपुरबीच प्रतिस्पर्धा भएको थियो। रोचक प्रतिस्पर्धापछि मझेरी रोदीघर घोराही विजयी भएको प्रतियोगिताका संयोजक प्रेम शर्माले जानकारी दिए।

यसैबीच, माघे मेला–२०८२ अन्तर्गत सोमबार चर्चित गायिका ज्योति मगरसहित एलिना चौहान, गायक प्रेम शर्मा, कलाकार वर्षा मगर र सुशीला मगरको विशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक गोपाल बुढा मगरले जानकारी दिए। साथै सोनी डान्स ग्रुपले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ।

कार्यक्रमको सञ्चालन माधव जोन खत्री र रुपा घर्ती मगरले संयुक्त रूपमा गर्नेछन्। आयोजकका अनुसार भोलिको कार्यक्रमले माघे मेलाको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ।