प्रथम खुला गोरक्ष रनिङ शिल्ड आईटिएफ तेक्वान्दो च्याम्पियनसिप हुने
दाङ, १४ माघ । घोराही उपमहानगरपालिका–१७ चौघेरामा प्रथम खुला गोरक्ष रनिङ शिल्ड आईटिएफ तेक्वान्दो च्याम्पियनसिप–२०८२ आयोजना हुने भएको छ । गोरक्ष आईटिएफ तेक्वान्दो एकेडेमीको आयोजनामा यहि माघको १७ र १८ गते च्याम्पियनसिप हुने भएको हो ।
च्याम्पियनसिप घोराही उपमहानगरपालिका–१७ चौंघेरामा रहेको गोरक्ष माध्यमिक विद्यालयमा हुने आयोजक गोरक्ष आईटिएफ तेक्वान्दो एकेडेमीका प्रमुख एवं प्रतियोगिता संयोजक अर्जुन घिमिरेले जानकारी दिएका छन् । आईटिएफ तेक्वान्दोको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको च्याम्पियनसिपमा छात्रले –२० देखि ६५ किलो तौल समुह र छात्राले –२० देखि ६० किलो तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरि प्याटनतर्फ महिला र पुरुष खेलाडीले हरियो, निलो र पहेलो गरि तीन समुहले प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टिमलाई रनिङ शिल्डसहित विभिन्न पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता हुने दिन नजिकिदै गर्दा तयारीलाई समेत तिब्रता दिइएको एकेडमी प्रमुख घिमिरेले जानकारी दिएका छन् । प्रतियोगिताको प्रचारप्रसारदेखि प्रतियोगिताका लागि ट्रफि,शिल्ड,प्रमाणपत्र छपाईलगायको काम भइरहेको छ ।
