Ad Area

लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट माघ १९ देखि हुने


दाङ, १५ माघ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय छनोट खेल माघ १९ गतेदेखि रुपन्देहीमा हुने भएको छ ।

नेपाल क्रिकेट संघको वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय छनोट माघ १९ गतेदेखि २४ गतेसम्म रुपन्देहीमा हुने भएको हो । प्रतियोगिता खेल रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र तिलोतमा एक्सट्राटेक ओभल क्रिकेट रंगशालामा हुने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिएका छन् । सचिव रोका मगरका अनुसार प्रतियोगितामा लुम्बिनी प्रदेशका दाङ, पाल्पा, बाँके, कपिलवस्तु, रुपन्देही, नवलपरासी र बर्दिया गरी सात जिल्लाका खेलाडीहरु सहभागी हुनेछन् ।

प्रतियोगिताको उद्घाटन माघ १९ गते सिद्धार्थ क्रिकेट रंगशालामा रुपन्देही र कपिलवस्तुका बिच खेल हुनेछ । त्यसैगरी सोही दिन एक्सट्राटेक ओभल क्रिकेट रंगशालामा नवलपरासी र बर्दियाबीच प्रतिस्पर्धा हुनेछ । माघको २० गते सिद्धार्थ क्रिकेट रंगशालामा पाल्पा र बाँके र एक्सट्राटेक ओभल क्रिकेट रंगशालामा दाङ र कपिलवस्तु, माघ २१ गते सिद्धार्थ क्रिकेट रंगशालामा बर्दिया र पाल्पा, एक्सट्राटेक ओभल क्रिकेट रंगशालामा बाँके र नवलपरासीकाविच खेल हुनेछ ।

त्यसैगर माघ २२ गते सिद्धार्थ क्रिकेट रंगशालामा दाङ र रुपन्देही र एक्सट्राटेक ओभल क्रिकेट रंगशालामा नवलपरासी र पाल्पाका, माघ २३ गते सिद्धार्थ क्रिकेट रंगशालामा बाँके र बर्दिया र एक्सट्राटेक ओभल क्रिकेट रंगशालामा दोश्रो र तेश्रोबिच हुने छ भने अन्तिम खेल माघ २४ गते समूह ‘क’ को पहिलो टोली र समूह ’ख’ को पहिलो टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता प्रधानमन्त्री कप एक्सट्रिम एनर्जी ड्रिङ्क नामबाट आयोजना हुनेछ ।