Ad Area

घोराही–लमही सडक : २० करोड बढी खर्च गरेर फराकिलो बनाइदै


लीलाधर वली
घोराही, ९ चैत । सडक निर्माण भएको लामो समयपछि दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ । घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्म करिब १७ किलोमिटर सडकखण्डका साँघुरा स्थानलाई फराकिलो बनाउने काम भइरहेको डिभिजन सडक कार्यालय दाङले जनाएको छ ।

घोराही–लमही सडक सुधार कार्यक्रमअन्तर्गत सडकखण्डमा पर्ने विभिन्न मोड तथा साँघुरा स्थानमा कटिङ र पर्खाल ९वाल० निर्माण गरेर सडकको चौडाइ बढाउने काम भइरहेको छ । सडक विस्तारका लागि लमहीको अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिरसम्मको खण्डमा २० करोड १३ लाख ५९ हजार रुपैयाँ बराबरका तीनवटा ठेक्का सम्झौता गरी काम अघि बढाइएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार घोराही–लमही सडकखण्डअन्तर्गत कुइरेपानीदेखि मसोटखोलासम्मको सडकखण्ड मुनाल–केवी–सुनिल एण्ड विजय जेभी दाङसँग १३ करोड ४६ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । त्यस्तै, मसोटखोलादेखि अर्जुनखोलासम्मको सडकखण्ड ६ करोड ८० लाख ९० हजार रुपैयाँमा इजी–अलकापुरी जेभीसँग सम्झौता गरिएको छ । चालु आर्थिक वर्षमै सडक फराकिलो बनाउने गरी काम धमाधम भइरहेको प्रमुख विष्टले बताउनुभयो ।

सडक सुधारअन्तर्गत जोखिमपूर्ण मोड कटान गरेर गाडी सञ्चालन गर्दा दुवैतर्फ स्पष्ट देखिने गरी सडक फराकिलो बनाउने काम भइरहेको छ । साँघुरा स्थानमा सडकको चौडाइ बढाउने र बढ्दो सवारी चापलाई व्यवस्थित बनाउँदै आवागमन सहज बनाउने उद्देश्यले माटो कटिङदेखि काट्न नमिल्ने स्थानमा पर्खाल निर्माण गरी सडक विस्तार गरिँदै आएको छ ।

साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढिरहेको अवस्थामा सडक विस्तार र मोड सुधारसँगै यातायात सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ ।