सिपसँग जोडिएको शिक्षा : पढ्दै आत्मनिर्भर बन्दै विद्यार्थी
वेगम न्यौपाने
दाङ, २१ चैत । शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र होइन, जीवन जिउने कला सिकाउने प्रक्रिया पनि हो भन्ने सन्देश दाङस्थित दीपशीखा आवासीय माध्यमिक विद्यालयले व्यवहारमै उतारेको छ । व्यवस्थापन सङ्कायअन्तर्गत कक्षा ११ र १२ मा सञ्चालन भइरहेको ऐच्छिक विषय होटल म्यानेजमेन्ट ले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक दक्षता प्रदान गर्दै नयाँ सम्भावनाको ढोका खोलिरहेको छ ।
दुई वर्षअघि सुरु गरिएको यो कार्यक्रम विद्यालय तहमा होटल व्यवस्थापन शिक्षा सञ्चालन गर्ने दाङकै अग्रणी प्रयास मानिएको छ । सञ्चालक समिति अध्यक्ष माधव शर्माकाअनुसार बदलिँदो समयले शिक्षामा सिपको माग बढाएको छ । ‘विद्यार्थीले पढाइसँगै काम गर्न सक्ने क्षमता विकास गर्नुपर्छ भन्ने सोचले हामीले यो विषय सुरु ग¥यौँ । छोटो समयमै विद्यार्थीमा आएको परिवर्तन उत्साहजनक छ,’ उनले बताए ।
विद्यालयका एकेडेमिक डाइरेक्टर निश्चल आचार्य भन्छन्, ‘आजको शिक्षा बजार र जीवनसँग जोडिनुपर्छ । होटल म्यानेजमेन्टले सेवा संस्कार, नेतृत्व क्षमता र उद्यमशील सोच विकास गर्छ । विद्यार्थी भविष्यमा रोजगारी खोज्ने मात्र होइन, सिर्जना गर्ने दिशामा अघि बढिरहेका छन् ।’
यस विषयका शिक्षक सुजल खनालले कक्षाकोठालाई प्रयोगशाला जस्तै बनाएका छन् । उनका अनुसार विद्यार्थीले किचन सञ्चालन, खाद्य तयारी, अतिथि सत्कार, टेबल सेटअप, बार व्यवस्थापन तथा ग्राहक सेवासम्बन्धी सिप प्रत्यक्ष अभ्यासबाट सिकिरहेका छन् । ‘जब विद्यार्थी आफैंले काम गर्छन्, तब सिकाइ दिगो हुन्छ,’ उनी भन्छन् ।
विद्यालयले हरेक वर्ष विद्यार्थीलाई स्तरीय फाइभस्टार होटल अवलोकन भ्रमणमा लैजाने गरेको छ । आधुनिक होटल व्यवस्थापन प्रणाली प्रत्यक्ष देख्ने अवसरले विद्यार्थीको दृष्टिकोण फराकिलो बनेको शिक्षक बताउँछन् । साथै विद्यालयमा आयोजना हुने फुड फेस्टिभल विद्यार्थीको सिर्जनशीलता प्रदर्शन गर्ने महत्वपूर्ण अभ्यास बनेको छ ।गत शिवरात्री मेलामा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीले आफ्नै स्टल सञ्चालन गरी होटल व्यवस्थापनको वास्तविक अनुभव हासिल गरे ।
योजना बनाउनेदेखि सेवा प्रदान गर्ने सम्पूर्ण जिम्मेवारी उनीहरूले आफैं सम्हालेका थिए । अध्यक्ष शर्मा भन्छन्, ‘त्यो अभ्यासले विद्यार्थीलाई आत्मविश्वास मात्र होइन, व्यवसायिक सोच पनि दिएको छ ।’ विद्यार्थी नविना बुढाथोकीले सिकाइ अनुभव सुनाउँदै भनिन्, ‘हामीले किचन आइटम, खाना पकाउने तरिका, बार व्यवस्थापन र ग्राहकलाई सर्भिस गर्ने विधि सिकेका छौँ । नियमित प्रयोगात्मक अभ्यासले अब होटल क्षेत्रमा काम गर्न सक्ने विश्वास बढेको छ ।’
विद्यार्थी ग्रिस्मा योगीका अनुसार व्यवहारिक कक्षाले पढाइलाई जीवन्त बनाएको छ । ‘हामी केवल सुन्ने होइन, आफैं गरेर सिकिरहेका छौँ । यसले भविष्य स्पष्ट देखिन थालेको छ,’ उनले भनिन् । त्यस्तै विद्यार्थी साइमन दहित भन्छन्, ‘यो विषयले अनुशासन, समन्वय र जिम्मेवारी सिकाएको छ । टोलीमा काम गर्ने बानी विकास भएको छ, जुन कुनै पनि पेसाका लागि आवश्यक हुन्छ ।’
विद्यालयका प्रधानाध्यापक मनोज बुढाथोकीले विद्यालयको मुख्य लक्ष्य जीवनोपयोगी शिक्षा रहेको बताए । ‘विद्यार्थीले पढेपछि सिपविहीन नहोस् भन्ने हाम्रो चाहना हो । शिक्षा व्यवहारसँग जोडिँदा मात्र यसको वास्तविक अर्थ पूरा हुन्छ,’ उनले उल्लेख गरे ।
विद्यार्थीको प्रयोगात्मक कक्षा अवलोकन गर्न पुगेका नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले यस्तो अभ्यासलाई समयानुकूल पहल भन्दै प्रशंसा गरे । उनका अनुसार विद्यालय स्तरबाटै सीपमूलक शिक्षा सुरु हुनु सकारात्मक परिवर्तनको संकेत हो । आजको विश्व प्रतिस्पर्धा, दक्षता र नवप्रवर्तनको युगमा प्रवेश गरिसकेको छ । यस्तो अवस्थामा दीपशीखा आवासीय माध्यमिक विद्यालयले अघि सारेको होटल म्यानेजमेन्ट शिक्षा केवल विषयगत अध्ययन मात्र नभई आत्मनिर्भर भविष्य निर्माणको अभियान बनेको देखिन्छ ।
कक्षाकोठाबाट सुरु भएको सिकाइ जब वास्तविक जीवनका गतिविधिसँग मिसिन्छ, तब विद्यार्थीको आत्मविश्वास फुलझैँ फक्रिन्छ । यही अभ्यासले भोलिका व्यवस्थापक, उद्यमी र जिम्मेवार नागरिक तयार पार्ने विश्वास विद्यालय परिवारले लिएको छ । दाङको शिक्षा क्षेत्रमा नयाँ आयाम थप्दै दीपशीखाले सीपमुखी शिक्षाको उज्यालो यात्रा निरन्तर अघि बढाइरहेको छ ।
