Ad Area

पाँचौँ लमही मेयर कपको उपाधिका लागि देउखुरी वारियर्स र वडा नं. ५ भिड्ने


विकास भट्टराई

लमही, २० चैत । पाँचौँ लमही मेयर कप नगरस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि देउखुरी वारियर्स र वडा नं. ५ बीच फाइनल खेल हुने भएको छ। फाइनल खेल चैत २१ गते शनिबार बिहान ११ बजेदेखि लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सञ्चालन हुनेछ।

लमही नगरपालिकाको आर्थिक सहयोग तथा देउखुरी क्रिकेट क्लबको आयोजनामा चैत १५ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो। प्रारम्भिक चरणमा नकआउट प्रणालीमा खेल सम्पन्न गरी उत्कृष्ट ४ टोलीलाई ‘सुपर–४’ चरणमा प्रवेश गराइएको थियो। सुपर–४ मा प्रत्येक टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा पुग्ने व्यवस्था गरिएको थियो।

सोही अनुसार देउखुरी वारियर्सले सुपर–४ अन्तर्गत खेलेका तीनै खेल जित्दै ६ अंकसहित समूह विजेता बन्दै फाइनलमा स्थान बनाएको हो। वारियर्सले पहिलो खेलमा वडा नं. १ ‘ए’ लाई २८ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा वडा नं. ५ लाई सुपर ओभरमा हराएको थियो। अन्तिम खेलमा देउखुरी क्रिकेट क्लबलाई पनि २८ रनले हराउँदै अपराजित रह्यो।

यता वडा नं. ५ ले तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोर्दै ४ अंकसहित उपविजेता बन्दै फाइनल यात्रा तय गरेको हो। वडा नं. ५ ले देउखुरी क्रिकेट क्लबलाई ३ विकेटले हराएको थियो भने देउखुरी वारियर्ससँग सुपर ओभरमा पराजित भएको थियो। अन्तिम खेलमा वडा नं. १ ‘ए’ लाई ७ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

प्रतियोगिताको विजेताले ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उदाउँदो खेलाडी तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।