घोराहीको एशियन वल्र्ड स्कुलमा सिप र भाषा पनि पढाई हुने
दाङ,१५ वैशाख । दाङको घोराहीमा रहेको एशियन वल्र्ड स्कुलले नयाँ शैक्षिकसत्रदेखि कक्षा ११ मा नियमित पाठ्क्रमसँगै सिप र भाषाको पढाई पनि सञ्चालन गर्ने भएको छ । समयसापेक्ष र आधुनिक विषयको पठनपाठन सुरु गर्न थालेको स्कुलले नयाँ पुस्ताको रुचि र विश्व बजारको मागलाई मध्यनजर गर्दै प्रविधिक र सिपमुलक कार्यक्रम पनि पठनपाठन गर्न थालेको हो ।
सोहीअनुसार नयाँ शैक्षिकसत्रदेखि स्कुलमा फेशन डिजाइन, सूचना प्रविधि (आईटी), होटल म्यानेजमेन्ट तथा कोरियन र जापनिज भाषा जस्ता विषयहरूलाई प्लस टु तहको पाठ्यक्रममा समावेश गरेर पठनपाठन गर्न थालेको विद्यालयका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रप्रकाश खनालले जानकारी दिएका छन् । उनका अनुसार अन्य विद्यालयहरुले जस्तै ल्याउने न्यनतम शुल्कमै पढाई सञ्चालन गर्न थालेको बताए ।
नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको विद्यालयले विद्यार्थीको रुचि र विश्व बजारको मागलाई मध्यनजर गर्दै पढाईलाई अघि बढाउन थालेको जानकारी दिए । विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको ज्ञान र सीप प्रदान गरी प्रत्यक्ष रोजगारीसँग जोड्ने उद्देश्यले फेशन डिजाइन, सूचना प्रविधि (आईटी), होटल म्यानेजमेन्ट तथा कोरियन र जापनिज पठनपाठन गर्न थालेको जानकारी दिएका छन् ।
नयाँ शैक्षिक कार्यक्रमले विद्यार्थीलाई स्वदेशमै बसेर अन्तर्राष्ट्रिय स्तरको सीप सिक्ने अवसर प्रदान गर्ने विद्यालयको दाबी छ । यसबाट विद्यार्थीलाई भविष्यमा देश तथा विदेश जहाँसुकै पनि आफ्नो करियर निर्माण गर्न थप सहज हुने विश्वास लिइएको विद्यालयका प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले विद्यालयको नयाँ प्रयासको शुभारम्भ गरेको भन्दै सिप सिक्न चाहने विद्यार्थीलाई सहयोग पुग्ने बताएका थिए ।
