दाङमा थाइराइडका बिरामी बढ्दै, कम उमेरमै देखिन थाल्यो समस्या


दाङ, ४ साउन । दाङमा पछिल्लो समय कम उमेरका व्यक्तिमा थाइराइडसम्बन्धी समस्या बढ्दै गएको पाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थाइराइड परीक्षण गराउने सेवाग्राहीको संख्या निरन्तर बढ्दै गएको तथ्यांकले यसलाई पुष्टि गरेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला विभागका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा थाइराइड फङ्सन टेस्ट र थाइराइड स्टिमुलेटिङ हर्मोन परीक्षण गराउने सेवाग्राहीको संख्या उल्लेखनीय रहेको छ । तथ्यांकअनुसार साउनमा एक हजार ६१ जनाले थाइराइड फङ्सन टेस्ट र ७२० जनाले थाइराइड स्टिमुलेटिङ हर्मोन परीक्षण गराएका थिए भने भदौमा क्रमशः ९४७ र ६६१, असोजमा ८१० र ५१७ तथा कात्तिकमा ७०६ र ६०४ जनाले परीक्षण गराएका छन् ।

त्यस्तै मंसिरमा एक हजार १३ र ६०८, पुसमा ९६१ र ७१९, माघमा ९७३ र ६४६ तथा फागुनमा ९४८ र ६६६ जनाले थाइराइड फङ्सन टेस्ट र थाइराइड स्टिमुलेटिङ हर्मोन परीक्षण सेवा लिएका छन् । सबैभन्दा बढी चैतमा एक हजार २१३ जनाले थाइराइड फङ्सन टेस्ट र ८८८ जनाले थाइराइड स्टिमुलेटिङ हर्मोनले परीक्षण गराएका छन् । त्यसपछि २०८३ वैशाखमा एक हजार १३४ जनाले थाइराइड फङ्सन टेस्ट र ७७५ जनाले थाइराइड स्टिमुलेटिङ हर्मोन परीक्षण गराएका छन् भने जेठमा एक हजार १५४ जनाले थाइराइड फङ्सन टेस्ट तथा ८१४ जनाले थाइराइड स्टिमुलेटिङ हर्मोन परीक्षण सेवा लिएको प्रतिष्ठानका फिजिसियन डा. अजय गौतमले जानकारी दिनुभएको छ ।

प्रतिष्ठानका फिजिसियन डा. गौतमका अनुसार थाइराइडलाई सामान्य समस्या ठानेर बेवास्ता गर्नु हुँदैन । समयमै परीक्षण र उपचार गर्न सके अधिकांश बिरामीले सामान्य जीवनयापन गर्न सक्ने उहाँ बताउनुहुन्छ । घाँटीको अगाडिको भागमा रहेको थाइराइड ग्रन्थीले शरीरको मेटाबोलिज्म नियन्त्रण गर्ने हर्मोन उत्पादन गर्छ । यही हर्मोनले बालबालिकाको मस्तिष्क विकास, वयस्कको ऊर्जा, मुटुको कार्यसम्पादन, पाचन प्रक्रिया तथा शरीरको तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

थाइराइड हर्मोनको मात्रा कम वा बढी भएमा तौलमा असामान्य परिवर्तन, मुटुको धड्कनमा गडबडी, अत्यधिक थकान, कपाल झर्ने, मानसिक तनाव, निद्रामा समस्या तथा घाँटी सुन्निने जस्ता लक्षण देखिन सक्ने डा. गौतम बताउनुहुन्छ । उहाँका अनुसार केही अवस्थामा थाइराइड ग्रन्थी दुख्ने, सुन्निने वा ट्युमरसमेत पलाउन सक्ने बताउनुभएको छ । विशेषगरी महिला, गर्भवती तथा परिवारमा थाइराइडको इतिहास भएका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको भन्दै डा गौतमले समयमै रोग पहिचान र उपचार गर्न सके थाइराइडका कारण हुने जटिलता न्यूनीकरण गर्न सकिने बताउनुभएको छ ।