Ad Area

कोइलाखानी मजदुरको आर्तनाद, पुस १ गते घर आउने वाचा गरेका भक्तबहादुर सुरुङमै बिलाए


घोराही २८, मंसिर। घोराही उपमहानगरपालिका वडा नम्बर १९ दाङकी ४२ वर्षीया दूरपति रानाले आईतबार आफ्ना श्रीमान भक्तबहादुर घर्तीसँग लामो सम्वाद गरिन् । कोइलाखानीमा काम गर्न भन्दै मंसीर ६ गते घरबाट निस्किएका घर्तीले यसअघि पनि बेलाबेलामा घरको अवस्था बारे जानकारी लिने गर्थे । आफ्नो बारेमा पनि श्रीमति रानालाई बेली बिस्तार लाउँदै आएका थिए । भक्तबहादुरले कोइलाखानीमा काम गर्न थालेको करीव २ दशक भईसकेको थियो । हिउँद लागेसँगै कोइलाखानीको सुरुङमा दिनचर्या बिताउनु घर्तीको वर्षेनी मेलो थियो । दाङका कोइलाखानीमा घर्ती जस्तै सयौँले यही शैलीमा आफ्ना जीवनका कथा बुन्ने काम गर्दै आएका छन् ।

कसैको जीवन अहिलेसम्म चलेको छ त कोहीको बीच बाटोमै पूर्णविराम लागेको छ । सोमबार यस्तै भयो, घोराही उपमहानगरपालिका वडा नम्बर १९ का भक्तबहादुर घर्तीको पनि । दुई दशक लामो कोइलाखानीको सुरुङमा दुखगरी बिताएको जीवन इहलीलाले साथ छोड्यो । घर्तीले आफ्नो ४५ वर्षे जीवनको अन्तिम सास त्यही कोइलाखानीमै छाडे । उनका प्राण पखेरु कोइलाखानीको सुरुङभित्रै निस्सासिएर सदाका लागि अलप भए । आईतबार बेलुकी मात्रै भक्तबहादुरले आफ्नी श्रीमति दूरपति रानासँग मोबाइलमा गरेको लामो सम्वाद जीवनकै अन्तिम सम्वाद होला भन्ने कल्पना पनि थिएन । ‘उहाँले आफु ठिकै रहेको, आफ्नो चिन्ता नगर्न भन्दै घरमा रहेका छोराछोरी र आफ्नो ख्याल गर्न भन्दै सम्झाएको कानमा अझै गुञ्जिरहेको छ,’ सोमबार श्रीमानको अकल्पनीय निधनपछि भाव विह्वल अवस्थामा भेटिएकी दूरपति भक्कानिँदै भनिन्, ‘मेरो जीवनमा दैवले पटक पटक प्रहार गर्यो । म अब कसको मुख हेरेर बाँच्नु ?’

भक्तबहादुरले श्रीमति दूरपतिलाई पुस १ गते घर आउने वाचा दिएका थिए । ‘उहाँले १ गते आउने कुरा भएको थियो । घरमा काम पनि थियो मैले आउनुस् भनेको थिएँ, उहाँले पुस १ गते आउँछु भनेर फोन राख्नु भएको हो तर अब त्यो पुस १ गते कहिले आउने भएन,’ आँखाबाट आँशुका धारा बगाउँदै दूरपतिले भनिन् । भक्तबहादुर हरेक वर्ष कोइलाखानीको सुरुङमा छिरेर कडा मेहनतका साथ आफ्नो परिवार पाल्दै आएका थिए । अब उनको काम केवल सम्झना सिमित हुनेभएको छ । सोमबार करीव ११ बजेतिर घोराही उपमहानगरपालिका वडा नम्बर १ काउले दाङ्जास्थित पशुपति कोईलाखानी उद्योगमा भक्तबहादुरले अन्तिम सास फेरे ।

बिहानको खाजा खाएर सुरुङमा छिरेका भक्तबहादुरलाई दिउँसो खाना खान फर्किनुथियो । सँगै गएका अरु साथीहरु पनि उनीसँगै खाना खाने गरी सुरुङमा छिरेका थिए । केही अलि पछि थिए तर भक्तबहादुर अलि अघि भएको बेला अचानक मािथबाट भत्किएको चट्टानले उनलाई च्याप्यो । घटना भएलगत्तै सँगैका साथीहरुले हार गुहार गरे । हतार हतार घटना स्थतलबाट उद्धार गरी घोराहीकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पुर्याउँदा भक्तबहादुरले सदाका लागि लामो सास फेरिसकेका थिए ।

केही वर्षअघि भक्तबहादुरकी पहिलो श्रीमतिको निधनपछि दूरपतिलाई ३ वर्षअघि दोश्रो श्रीमतिको रुपमा भित्र्याएका थिए । दूरपतिको पनि श्रीमानको निधनपछि भक्तबहादुरकोे घरमा आएकी थिईन् । ‘अब आउने बैशाख ४ गते विवाह भएको ३ वर्ष पुग्दै थियो हाम्रो, मेरो जीवनमा खुशी भन्ने चीज रहेनछ, जहिले पनि बज्रपात मात्रै सहनु परेको छ,’ उनले भनिन् ।

घरको जिम्मेवारी अनि छोराछोरीको रेखदेखको अभिभाराले दूरपतिलाई सताउन थालेको छ । ४२ वर्षीया दूरपतिका पहिलेको श्रीमानबाट २ छोरा र १ छोरी छिन् । यता, भक्तबहादुरका ४ छोरी र २ छोरा छन् । ३ छोरीको विहे भईसक्यो । घरको सबै जिम्मेवारी दूरपतिकै काँधमा छ । यस्ता पीडादायी घटना हरेक वर्ष दोहोरिन्छ । कोइलाखानीमा काम गर्नेहरुका परिवारले दूरदीन व्यहोर्नु पर्ने नियति बनेको छ ।

Blog Post Ad

दूरपतिले भने अनुसार उनको परिवार निम्न मध्यम वर्गीय हो । खानलाउनलाई खासै समस्या नभएपनि श्रममा विश्वास गर्ने उनको परिवारले अब कोइलाखानी सायदै फर्केर हेर्ने छैन । भक्तबहादुरकै जस्तै हरेक वर्ष यस्तै घटना हुन्छ, तर, शूरवीरहरूले रुचाउने जोखिमपूर्ण काममात्रै होइन यो, दीनहीनहरूको नियति र बाध्यता पनि हो ।

खानीभित्रबाट कोइला निकाल्ने काम निकै जोखिमपूर्ण छ, तैपनि यसो नगरी मजदुरको जीविका चल्दैन । घोराही र बंगलाचुलीका उत्तरी भेगका खानीहरूमा सयौं मजदुर आफ्नो ज्यान हत्केलामा राखेरै कोइला निकाल्न विवश छन् । बाँचेर फर्किने आशा बोकेर सुरुङभित्र पस्ने उनीहरू कहिल्यै आफ्नो जीवनप्रति निश्चिन्त हुन सक्दैनन्, जस्तो भक्तबहादुर भए ।

यति ठूलो मानवीय क्षति हुने गरेपनि मजदुरहरूको सुरक्षामा खानी संचालकहरुले चासो नलिएको देखिन्छ । उनीहरूले सुरक्षा मापदण्डबिनै मजदुरहरूलाई काम लगाइरहेका छन् । खानीमा हुने सम्भावित जोखिम र सुरक्षाबारे पर्याप्त सजगता अपनाइएको हुन्थ्यो भने अघिल्लो दिन घरमा श्रीमतिसँग मिठा कुराकानी गरेर सोमबार बिहान सुरुङमा कोइला निकाल्न पसेका भक्तबहादुरको निर्जिव शरीर अस्पतालको शव कक्षमा पुग्ने थिएन ।

सुरुङ खन्ने कुनै वैज्ञानिक मापदण्ड पनि छैन, कामदार स्वयं खन्दै अघि बढ्छन् । साथमा कुनै ठूलो उपकरण नभएका उनीहरूले छिनो, हथौडा, बेल्चाकै भरमा बाटो खोल्छन् । तैपनि उनीहरूलाई सुरक्षा र सतर्कताबारे केही सिकाइएको छैन । खानीमा ढुंगा–माटो खस्न थाले रोक्ने उपाय छैन । कतैकतै काठको टेको लगाइए पनि त्यो भर पर्दो हुँदैन । कतै बोरा राखेर अड्याइएको हुन्छ । वैज्ञानिक मापदण्डबिना कोइला खन्दा कतिबेला कहाँ भत्किन्छ, केही थाहा हुन्न । त्यही भएर, हरेक दिन सुरुङबाट निस्किपछि युद्ध जितेजस्तो उनीहरू महसुस गर्छन् ।

खानी तथा खनिज पदार्थ नियमावली-२०५६ मा उल्लेख भएअनुसार उत्खनन कार्यका सर्तहरू पालना गरेमात्रै कोइलाखानीमा काम गर्ने मजदुरहरुको जीवनको सुरक्षा धेरै हदसम्म हुने देखिन्छ । निकै जोखिम मोलेर काम गर्नुपर्ने भएकाले कोइलाखानी कालका रुपमा देखा पर्दै गएको छ । तर, उत्तरी भेगका नागरिकहरुका लागि त्यही कालसँग पौठेजोरी नगरी पापी पेट पाल्न कठिन छ । की भारत जानु पर्यो की कालसँग युद्ध लड्न पर्यो । बितेको १० वर्षको अवधिमा खानीमा आधा दर्जन बढीको मृत्यु भइसकेको छ, कैयोँ घाइते भएका छन् । आफ्नै आँखाअगाडि सँगै काम गरिरहेका साथीको मृत्यु भएपछि धेरैले यो काम नगर्ने निधो गर्छन् तर पेट पाल्न समस्या भएपछि बाध्यताले उही गैती बेल्चा उठाउन बाध्य हुन्छन् । जिल्लामा १२ ठाउँबाट कोइला उत्खननका लागि परिचित छन् । दाङमा पाँचवटा कम्पनीले कोइला उत्खनन गरिरहेका दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । करीव २५ वर्षअघिबाट दाङमा कोइला उत्खनन शुरु भएको पाइएको उनको भनाई छ ।

तर, यो बीचमा धेरैले ज्यान गुमाए । खानी तथा खनिज पदार्थ नियमावली २०५६ मा उत्खनन गर्दा पालना गर्नुपर्ने सर्तअन्तर्गत दफा १९ को उपदफा ६ मा उत्खनन कार्य गर्दा सुरक्षाको उचि व्यवस्थामा नियमनकारी निकायले भूमिका नखेल्दा यस्ता दुर्घटना हुने गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ ।

सोमबारको घटनाले आफुलाई निकै दुखी तुल्याएको बताउँदै उनले सो क्षेत्रमा काम गर्ने मजदुरका विषयमा जानकारी लिने बताए । फेरि पनि यस्तो गल्ती वा कमजोरीकै कारण कुनै पनि मजदुरले अकाल ज्यान गुमाउन नपरोस्, घर परिवार अभिभावक बिहीन हुन नपरोस् भन्ने नै आफ्नो चाहना रहेको बताए । ‘अब हामी चाँडै खानीको अनुगमन गरी उचित नियमन गर्छौं । खानीको जोखिम न्यूनीकरण गर्न जरुरी छ । यसमा हामी गम्भीर छौं ’, उनले भने ।

Blog Post Ad Blog Post Ad