Ad Area

कल्पु धर्मशालाको विवाद समाधान गर्न समिति गठन


घोराही २८, मंसीर । घोराही उपमहानगरपालिका वडा नम्बर १४ राप्ती टोलमा रहेको कल्पु धर्मशालामा उत्पन्न विवाद समाधान गरी कानूनी रुपमा संचालन गर्ने गरी प्रकृया अघि बढाउन एक समिति गठन गरिएको छ ।

सोमबार घोराही १४ को आयोजनामा भएको सर्वदलीय, सर्वपक्षीय भेलाले दामोदर अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कल्पु धर्मशाला व्यवस्थापन तथा विधान निर्माण समिति गठन गरेको छ । जसको उपाध्यक्षमा गणेश गुप्ता, सचिवमा सचिव बसन्त गुप्ता, सहसचिवमा टेकबहादुर बुढाथोकी रहेका छन् । कोषाध्यक्षमा दिलकुमारी बुढा रहँदा सदस्यहरुमा लुमाकान्त कवँर, भीमकुमारी पुन, फुलमान चौधरी र अर्जुन गिरी रहेका छन् । उक्त समिति सर्वदलीय, सर्वपक्षीय भेलाले सर्वसहमतिमा चयन गरेको हो । सो समतिले विद्यमान विवाद समाधानसँगै आगामी दिनमा कानून सम्मत रुपमा कल्पु धर्मशाला संचालनका लागि विधान, नियम, ऐन बनाउने भएको छ ।

सो धर्मशालाको भवन निर्माण हुँदा जिम्मेवारीमा रहेका अधिकारीले कानून सम्मत रुपमा धर्म संचालनका लागि विगतको अनुभव र वर्तमान समस्या समाधानका लागि सबै पक्षसँग सम्वाद गरी समस्याको निकास खोजिने बताए । लामो समयसम्म कशौधन विरादरी समाजले धर्म शालाको जिम्मेवारी सम्हाल्दै आएकोमा केही समययता अरु समुदायले पनि आफ्नो अस्तित्व खोज्न थालेपछि विवाद चुलिएको थियो । समाजले धर्मशालामै कार्यालय खोलेर सबै बकाम गर्न थालेपछि गएको असोज १४ गतेबाट त्यहाँ तालाबन्दी छ ।

लामो समयसम्म तालाबन्दी भएपछि त्यसको समाधानका लागि औपचारिक अनौपचारिक छलफल भएपनि निकास निस्कन सकेको थिएन । सोमबार बसेको बैठकले समस्याको निकास निकाल्ने गरी समिति गठन गरेपछि धेरैले सराहना गर्दै काममा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

छलफल कार्यक्रममा नागरिक समाजका संयोजक केबी मसालले कल्पधर्म शाला सार्वजनिक सम्पत्ति भएकाले यसको निकासका लागि कानुनी रुपमा अघि बढ्न सुझाव दिँदै तदर्थ समिति बनाउनु पर्ने बताए । यस्तै, संस्थाका बारेमा जानकार तत्कालनी त्रिभुवन नगरपालिकाका उपप्रमुख समेत रहेका दामोदर अधिकारीले जग्गादाताको प्रमाणपत्रको आधारमा सम्मान गर्ने वातावरण मिलाउन वडा कार्यालयलाई अपिल गर्नुभयो । यस्तै, सर्बदलिय समिति बनाएर निकास खोज्न र सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैलाई गम्भीर बन्न अपिल गरे ।

उनका अनुसार २०३६ भदौ २९ गते जिल्ला पञ्चायतले नगर पञ्चायतलाई कल्पु धर्मशाला र सर्वाेदय पुस्तकालयलाई हस्तान्तरण गरिएको थियो । व्यापारीहरुले घरवहाल अग्रिम भुक्तानी गरेर आफु बस्न भवन बनाई दिन अपिल गर्दै भवन निर्माण गर्न लगाएका थिए । उक्त भवन अधिकारीकै अध्यक्षतामा २०५५ सालमा बनेको थियो । १३ धुर जग्गामा रहेको उक्त पूर्वाधारको कागजात कल्पु धर्मशाला नाममा रहेको छ ।

Blog Post Ad

कार्यक्रममा नेपाली कांग्रेस १४ का वडा सभापति टेकबहादुर बिसी, राप्ती टोलका अध्यक्ष लुमाकान्त कवर, जिल्ला बारका शिवप्रसाद घिमिरेलगायतले वडाको पहलमा भएको सम्वादले सबैको अस्तित्व रहने गरि अघि बढ्न अपिल गरेको थियो । तत्काल ताला खोल्न लगाउने र स्थानीय सरकार संचालन ऐन अनुसार प्रकृया अघि बढाउन सुझाव दिँदै गठित समितिले उचित निकास दिने निर्णय भएको छ । छलफल घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको थियो ।

उक्त कार्यक्रमको सहजीरकण नारायण विवशले गरेका थिए । सो छलफलमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्था, दाङ जिल्ला उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नागरिक समाजलगायतको उपस्थिती थियो ।

Blog Post Ad Blog Post Ad