Ad Area

वैदेशिक रोजगारीले समाजमा निम्त्याएको असर चुनौतिपूर्ण


घोराही २८, मंसीर । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले वैदेशिक रोजगारीमा सकेसम्म नजान यदि जानै परेमा सीप सिकेर आधिकारिक स्थानबाट मात्रै जान अपिल गरेका छन् ।

वैदेशिक रोजगारीका नाममा अहिले समाजमा विभिन्न खालका अकल्पनीय घटना बढेको भन्दै आफ्नै ठाउँमा स्वावलम्बनका काम गर्न नभए उद्यमशील काममा आवद्ध हुन आग्रह गरेका छन् । मंगलबार सुरक्षित आप्रवासन परियोजना सामीले आयोजना गरेको सुरक्षित वैदेशिक रोजगार तथा वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर सम्बन्धी महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग १ दिने अन्तरक्रियालाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले स्थानीय सरकारले युवा लक्षित थुप्रै सीपसहितको कार्यक्रम गर्दै आएको र काम गर्न चाहने युवाहरुका लागि विभिन्न कार्यक्रममा अनुदानसमेत दिने गरेको बताए ।

सीप नसिकेर लहैलहैमा विदेश जाँदा कतिपयको ज्यान जाने, विदेशमा अलपत्र पर्ने, घरबारविहिन भएका थुप्रै उदाहरणहरुको हुँदा यस विषयमा गम्भीर बन्न आग्रह गरे । अहिले सामी परियोजनाले विदेश जान चाहनेहरुका लागि सिपसहितको उचित गन्तव्यमा पुर्याउन, उनीहरुको अवस्थाका बारेमा जानकारी दिलाउन तथा सम्बन्धित रोजगारदाताका बारेमा पनि जानकारी दिनेलगायतका परामर्शको काम गरिरहेको हुँदा यसको लाभ लिन सुझाए ।

सो अवसरमा सामी परियोजनाकी संयोजक बसन्ता पुनले परियोजनाले गर्दै आएको कामका बारेमा जानकारी गराईन् । उनका अनुसार परियोजनाले सुचनामा पहुँच, न्यायमा पहुँच, सीपयुक्त जनशक्तिको विकास, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताको क्षेत्रमा सामीले काम गर्दै आएको छ । अहिले पनि विधि पुर्याएर विदेश जाँदा दलालले विभिन्न नाममा दुख दिने गरेको हुँदा समस्या परेको अवस्थामा जानकारी गराउन अपिल गरिन् ।

Blog Post Ad

परियोजनाले जिल्लाका घोराही, तुलसीपुर, लमही र बबईमा काम गर्दै आएको छ । ४ वटा पालिकामा मनोसामाजिकका १६ वटा कक्षा संचालन भईरहेको बताउँदै उनले अहिले पनि सचेतनाका कार्यक्रम जारी रहेको बताईन् । यस्तै, १ महिने निशुल्क सीपमुलक तालिम दिने, सीपसहितको दक्ष जनशक्ति बनाउँदै महिला पुरुषलाई गन्तव्य राष्ट्रमा पठाउने काम भईरहेको मनोपरामर्शकर्ता सुशिला आचार्यले बताईन् ।

यस्तै, परियोजनाकी सहजकर्ता रीता लामाका अनुसार हालसम्म ८७ जनालाई प्रत्यक्ष भेट गरि मनोपरामर्श गरेको तथा समुहमा करिव १६ सय महिला र २७५ जनालाई कोरोनाकालमा क्वारेन्टाइनमा गई सेवा दिईएको छ । दैनिक रुपमा मनोपरामर्श तथा विभिन्न खालका समस्याहरुको निदान गर्दै आएको सहजकर्ता लामाको भनाई छ ।

तुलसीपुर केन्द्रमा १ हजार ८८९ जना र घोराहीमा १ हजार ५६१ जनाले मंगलबारसम्म परामर्श लिएको उनले जानकारी दिईन् । यसैगरी, समस्या लिएर आउनेहरुले ८६ वटा उजुरी दिएको, रोजगारीको सिलसिलामा विदेशमा १३ जनाको मृत्युभएको, विदेशमा १२ जना हराएको, विदेशमा काम गर्दै गर्दा विभिन्न खालका समस्या भोगेकाहरु ४० जना रहेको तथ्यांक छ ।

अन्तरक्रियामा महिला स्वास्थ्य स्वयंसेविका घोराही अध्यक्ष बिना खनाल, नारायणपुर स्वास्थ्य संस्था प्रमुख डिल्लीराज आचार्य, एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसिकी राधा पौडेललगायतले समाजमा वैदेशिक रोजगारका कारण उत्पन्न विभिन्न खालका समस्या समाधानका लागि हातेमालो गर्ने बताए ।

यसैगरी घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले वैदेशिक रोजगारीका नाममा समाजमा अहिले भुसको आगो जस्तै भित्रभित्रै समस्या विकराल बन्दै गएको प्रति चिन्ता व्यक्त गरे । समस्याको पहिचान गरी समयमै समाधान गर्न सबै पक्षले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने उनको भनाई थियो ।

Blog Post Ad Blog Post Ad