Ad Area

जिल्ला फुटबल नकआउट प्रतियोगिताको उपाधि ज्ञानज्योति इनोभेटिभ एकेडेमीलाई


दाङ,१ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला फुटबल नकआउट प्रतियोगिताको उपाधि ज्ञानज्योति इनोभेटिभ एकेडेमी तुलसीपुरले जितेको छ ।

घोराही–१८ नवलपुर फुटबल मैदानमा बिहीबार भएको फाइनल खेलमा घोराही–१३ को बडहरा युवा क्लबलाई टाईब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै ज्ञानज्योति बिजेता बनेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको हो ।

ज्ञानज्योतिले शुरुवाति २–० को अग्रता जोगाउन नसक्दा खेल टाईबे्रेकरमा पुगेको थियो । त्यस्तै बडहराले दोश्रो हाफमा उत्कृष्ट लयमा खेल्दै खेल बराबरीमा ल्याएपनि जितका लागि पर्याप्त हुन सकेन । विपक्षी टिमले डिबक्समा फाउल गरेपछि बडहराले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा जीतको नजिक पुगेपनि हार व्होर्न बाध्य भयो । यद्यपि अर्को वर्षको जिल्ला लिगमा भने स्थान सुरक्षित गरेको छ ।

मंसिर २६ गतेबाट शुरु भएको जिल्ला फुटबल नकआउट प्रतियोगितामा सहभागी ७ वटा क्लबबीच प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा टरीगाउँ युवा क्लब, ज्ञानज्योति इनोभेटिभ एकेडेमी, सक्रिय युवा क्लब बबई, हापुरको अटल युवा क्लब, कपासीको मेघा स्पोर्ट्स युवा क्लब र घोराही–१३ को बडहरा युवा क्लबले प्रतियोगितामा भाग लिएका थिए । २०५१ सालमा स्थापित दाङ जिल्ला फुटबल संघले एन्फाको कार्यक्रममा २८ वर्षपछि पहिलो पटक प्रतियोगिता भएको दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले जानकारी दिए । यसअघि विभिन्न प्रतियोगिता हुने गरेपनि एन्फाको कार्यक्रममा जिल्ला फुटबल नकआउट प्रतियोगिता हुन सकेको थिएन ।

जिल्ला फुटबल नकआउटको फाईनल खेलेसँगै विजेता बनेको ज्ञानज्योति इनोभेटिभ एकेडेमी र बडहरा युवा क्लबले जिल्ला फुटबल लिगमा स्थान बनाएका छन् । दाङमा जिल्ला फुटबल संघमा हाल १० वटा क्लब आवद्ध छन् । ती क्लवको स्तर अब जिल्ला लिगबाट निर्धारण हुने भएको छ । जिल्लामा दर्ता भएका क्लबहरुको स्तर जिल्ला लिगले निर्धारण गर्ने गरी एन्फाले नयाँ नियम बनाएपछि नकआउट प्रतियोगिता खेलेका क्लबले जिल्ला लिगबाट घटुवा भएका अन्तिम दुई क्लबको ठाउँमा स्थान बनाउनेछन् ।

जसका लागि यही पुस १० गतेबाट हुन लागेको जिल्ला फुटबल लिगबाट रेलिगेशनमा परेका दुई क्लबहरुको ठाउँमा अर्को वर्ष हुने जिल्ला लिगमा भाग लिने महासचिव पुनले बताए । नकआउट प्रतियोगिता सम्पन्न भएसँगै अब जिल्ला लिगको तयारी भईरहेको दाङ जिल्ला फुटबल संघका कार्यसमिति सदस्य दीपक पुनले जानकारी दिए । उनका अनुसार पुस १० गतेबाट हुने जिल्ला लिगबाट रेलिगेशनमा जाने डरले क्बलहरु आन्तरिक तयारीमा तीव्रताका साथ लागेका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad