Ad Area

फोरलेन सडकमा तथ्यको जालझेल, आफै गर्छु भनेको काम अरुलाई जिम्मा


दाङ, ३ पुस । घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले पुनः पेटी ठेकेदारका रुपमा नेपाली तीनवटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको छ । पहिले निर्माणको जिम्मा पाएको स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीले समयमै काम गर्न नसकेपछि सम्झौता तोडेर आफै सडक निर्माण गर्ने बताएको तथ्यले पुनः अन्य निर्माण कम्पनीहरुलाई सडकको जिम्मा दिएको हो ।

अष्टभैरव निर्माण सेवासँग सम्झौता तोडेको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले गत मंसिर १० गते घोराहीमा फोरलेन सडकको शुभारम्भ गर्दै प्रालिका प्रमुख प्रविन ब्रह्मदेव पाण्डेयले अव सडक निर्माणको काम आफ्नै कम्पनीले गर्ने बताएका थिए । तर इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले फेरि पेटी ठेकेदारका रुपमा नेपाली निर्माण कम्पनी बेडा बाबा कन्स्ट्रक्सन, विमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई सडक निर्माणको जिम्मा दिएको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिका आधिकारिक प्रतिनिधि विजय पाठकले जानकारी दिएका छन् ।

प्रतिनिधि पाठकका अनुसार अब बबई नदीदेखि चौघेरासम्म पहिलो खण्डको ५ किलोमिटर बेडा बाबा कन्स्ट्रक्सन, घोराहीको डिके पेट्रोलपम्पदेखि खैरासम्मको १२ किलोमिटर बिमला निर्माण सेवा र बाँकी खैरादेखि तुलसीपुरको हात्तीखौवासम्मको १२ किलोमिटर सडकको जिम्मा शिवपुरी निर्माण सेवाले गर्नेछ । तीनवटा निर्माण कम्पनीले उक्त सडक खण्डमा १४.४६ किलोमिटर सडक चारलेन र १३.७३ किलोमिटर सडक दुई लेन सडकका रुपमा निर्माण गर्नेछन् ।

निर्माण कम्पनीका अनुसार बबई नदीदेखि–कुटवा खोलासम्म ६.५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दुधरासम्मको ३.७ किलोमिटर सडक दुई लेन र घोराहीको डिके पेट्रोल पम्पदेखि सर्राचोकसम्मको ४ किलोमिटर, नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दूधरासदेखि तुलसीपुरको हात्तीखौवासम्म ८.३१ किलोमिटर सडक चारलेन बनाउने गरी सम्झौता भएको छ ।

पुरानोले सहयोग नगर्दा काममा ढिलाई

फोरलेन सडक निर्माणको शुभारम्भ गरेको २२ दिनपछि पुनः तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सडक निर्माणका लागि भइरहेको कामका बारेमा जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सडक निर्माणको जिम्मा पाएका तीनवटै पेटी कम्पनीका प्रतिनिधिहरुलाई राखेर तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिका प्रतिनिधि बिजय पाठकले बितेको २२ दिनको अवधिमा सडक निर्माणका लागि कम्पनीले कागजी प्रक्रिया र डाटा संकलनको काम गरिरहेको बताएका छन् ।

Blog Post Ad

सडक निर्माणका लागि प्रक्रियागत कामसँगै भौतिक प्रगति अघि बढाउनका लागि कानुनी तथा प्राविधिक प्रक्रिया मिलाउने क्रममा अहिले सडकमा भौतिक प्रगति देखिने गरी काम गर्न नसकेको बताए । ‘पहिले निर्माणको जिम्मा पाएको ठेकेदारको लापरबाहीका कारण कागजी र कानूनी प्रक्रिया मिलाउँदा काम गर्न ढिलाई भएको छ । यो काम अब अन्तिम चरणमा छौँ’, प्रतिनिधि पाठकले भने– ‘सडकको इन्जिनियरिङ गरेको कन्सल्टेन्सीले कागजात उपलब्ध नगराउँदा काम गर्न समस्या भएको छ । त्यो काम मिलाउन अहिले लागिपरेका छौँ ।’ उनले उक्त काम अबको एक हप्ताभित्र सकिने समेत बताए ।

निमार्ण कम्पनीको कागजी प्रक्रिया अघि बढाएको, निर्माणका लागि चाहिने माटो ढुंगा खोज्ने काम भएको, स्ट्याम जेभी कन्सल्टेन्सीसँग सडकको पूरा इन्जिनियरिङ डिजाईन ल्याउने तथा माटो परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने काम भएको बताएको छ । पहिलो ठेकेदार पक्षले ल्याब नदिएपछि माटो परीक्षणका केन्द्रमा पठाउनु पर्दा सडकमा काम गर्न ढिलाई हुन पुगेको बताइएको छ ।

सडक निर्माणको काम २ वर्षमा काम सम्पन्न गर्ने करिब ३४ महिनाअघि ठेक्का सम्झौता गरेको अष्टभैरव निर्माण कम्पनीले काम नगर्दा मुख्य कम्पनीले ऊसँग सम्झौता तोडेको थियो । सन् २०१९ जुलाईबाट कार्य प्रारम्भ गरी मे २०२० मा सडक निर्माण कार्य सम्पन्न गरी फोरलेनको सम्झौता भएको थियो । १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा सम्झौता भएको थियो ।

Blog Post Ad Blog Post Ad