Ad Area

स्थानीय उत्पादनलाई हेला : बिक्री भएनन् राडी पाखी


दाङ, ६ असोज । दाङमा परम्परागत रूपमा निर्माण गरिने राडी पाखी पछिल्लो समयमा बिक्री हुन छाडेको छ । कपडाभन्दा महँगो तथा यसको महत्व बुभ्mन नसक्दा अहिले धेरैले प्रयोग गर्न छाडेका कारण बिक्री हुन छाडेको हो । बिक्री हुन छाडेपछि अहिले राडी पाखी बुन्नेहरूले पनि अहिले बुन्न छाडन थालेको छन् ।

घोराही उपमहानगरपालिका–१३ निवासी दिलमाया बुढाले लामो समयदेखि भेडाको उनबाट राडी पाखी बुन्दै आएकी थिइन् । तर पछिल्लो समय बिक्री हुन छाडेकाले बुन्नसमेत छोडेको उनको भनाइ छ । “बिक्री नै हुँदैन बुनेर मात्र के गर्नु,” उनले भनिन् । कहिले काँही घरको प्रयोजनका लागि बुन्ने गर्दछु । आधुनिक प्रविधि र आयातीत कपडाका कारणले राडी, पाखी र बख्खु विस्तारै लोप हुँदै गएका छन् । ग्रामीण क्षेत्रमा पनि हाल बजारमा पाइने कपडाको पहँुच पुगेपछि गाउँमै उत्पादन हुने बख्खु तथा राडी पाखीलाई विस्थापित गरेको पाइएको छ ।

हिमाली क्षेत्रमा पाइने भेंडाको रौंबाट उन तयार पारेर राडी, पाखी र बख्खु बुन्ने कार्य कठिन त छँदैछ तर राडी, पाखी र बख्खु बुन्न समय पनि धेरै लाग्ने गरेको दिलकुमारीले बताइन् । एउटा राडी बुन्नका लागि कम्तिमा पनि २० दिनको समय लाग्ने गरेको उनको भनाइ छ ।

राडी पाखी बुन्नका लागि धेरै मेहनत गर्नुपर्ने उनले सुनाइन् । एउटा कम्मललाई दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको उनको भनाइ छ । साइजअनुसार मूल्य कम बढी हुन्छ । उन खरिद गर्दा नै महँगो पर्ने त्यसमा पनि धेरै मेहनत गर्नुपर्ने भएकाले राडी पाखीसमेत महँगो पर्ने गरेको छ ।

समय पनि बढी लाग्ने र बिक्री गर्दा त्यति फाइदा नहुने भएकाले अहिले राडी, पाखी र बख्खु बुन्ने कार्य लोप हुँदै गएको यसका जानकार बताउँछन् । त्यस्ता बिक्री नहुने भएपछि आजभोलि आफन्तलाई कोशेलीका रूपमा दिने गरेको दिलकुमारी बताउँछिन् । समय खर्चिएर भेँडाको उन कातेर धागो बनाई राडी, पाखी र बख्खु बुन्नुभन्दा बजारबाट कपडा किन्न नै सजिलो भएकाले राडी पाखी बुन्ने पेसासमेत विस्तारै लोप हुँदै गएको बताइएको छ ।

पुराना पुस्ताले गाउँमै बुनिएको कपडा प्रयोग गर्दै आए पनि नयाँ पुस्ताले भने प्रयोग नगर्ने र पेसा संरक्षणमा पनि चासो नदेखाएको उनी बताउँछिन् । राम्रो आर्य आर्जन नहुँदा युवा पुस्ताले यसतर्फ चासो नदिने गरेको उनको भनाइ छ । “सिकेको सीप प्रयोग गरेर दुई चार पैसा होला भनेको त्यसो हुनसमेत छाडेको छ,” उनले भनिन् ।

खेरजाने समयलाई सदुपयोग गरेर केही रकम आय आर्जन गर्न सकिन्छ कि भनेर राडी पाखी बुन्ने सीप सिके पनि अहिले बिक्री नहँुदा बुन्नसमेत छाडेको घोराही–१३ सितल टोल निवासी कमला बुढाले बताइन् । “सीप सिके पनि सदुपयोग गरेर आम्दानी गर्न सकिएको छैन,” कमलाले भनिन् । सीप भए पनि खाली बस्नुपर्ने बाध्यता छ । सहज रूपमा बिक्री भएमा आफूहरू बुन्न तयार रहेको कमलाले बताइन् । यसका लागि राज्यले सहज रुपमा बिक्री गर्ने वातावरण गराइदिएमा आफूहरूलाई सहज हुने कमलाको भनाइ छ । उनीहरूले रुकुमबाट भेडाको उन ल्याएर राडी पाखी निर्माण गर्ने गरेको कमला बताउँछिन् ।