Ad Area

साहित्य परिवर्तनका पक्षमा लेखिनुपर्ने


दाङ, ४ पुस ।साहित्य परिवर्तनका पक्षमा लेखिनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको २९औँ स्थापना दिवस एवं ११औँ अधिवेशनको अवसरमा शनिवार घोराहीमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले साहित्य परिवर्तनलाई संस्थागत गर्नेतर्फ लेखिनुपर्ने बताएका थिए ।

प्रगतिशील लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटा ‘शरद’को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष डा. अमर गिरीले सामाजिक रूपान्तरणका लागि साहित्यको महत्वपूर्ण भूमिका हुने भएकाले साहित्यकारहरूले रचना सिर्जना गर्दा ध्यानदिनुपर्ने बताए । नेपाली कम्युनिस्ट पार्टीमा आएको विभाजनको असर प्रगतिशील साहित्यका क्षेत्रमा पनि परेको भन्दै त्यसबाट जोगाउनका लागि स्रष्टाहरू गम्भीर बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले प्रगतिशीत साहित्यलाई सशक्त र गतिशील बनाउनका लागि सम्पूर्ण साहित्यकारहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, पुरस्कृत व्यक्तित्व नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केबी मसाल, सम्मानित व्यक्तिका तर्फबाट ऋषिराज जंगली, प्रलेसका सल्लाहकार पद्मप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, पुरस्कार स्थापकका तर्फबाट हरिप्रसाद पाण्डेलगायतले बोलेका थिए । प्रलेसका केन्द्रीय सदस्य शरद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शारदा शर्माले गरेकी थिइन् । कार्यक्रममा प्रलेसको मुखपत्र बहिङगाको विमोचन गरेको थियो । विमोचित कृतिको समीक्षा साहित्यकार चन्द्रबहादुर थापाले गरेका थिए । कार्यक्रममा साहित्यकार हिरा डिसीलगायतले रचना वाचन गरेका थिए ।

स्थापना दिवसमा स्रष्टालाई पुरस्कार र सम्मान

यसैबीच प्रलेसको स्थापना दिवसका अबसरमा चार जनालाई पुरस्कार प्रदान गरिएको छ । प्रदेश दाङ शाखामा स्थापना भएका चार पुरस्कारबाट प्रगतिशील साहित्य लेखनका माध्यमबाट सामाजिक रूपमान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्रष्टाहरूलाई सम्मान गरेको हो । जसमा प्रगतिशील साहित्य पुरस्कार साहित्यकार डिल्ली मल्ल, अनन्त टीका प्रतिभा पुरस्कार केबी मसाल, चिन्तामणि जमुना साहित्य पुरस्कार नवीन विभास र गोविन्द चीस सर्जक पुरस्कर साहित्यकार रेशम बिसीलाई प्रदान गरिएको छ । कार्यक्रममा साहित्यकार ऋषिराज जंगलीलाई सम्मान गरिएको थियो ।
यसैबीच प्रलेस दाङको अध्यक्षमा भुवन देवकोटालाई निरन्तरता दिइएको छ । उपाध्यक्षमा रेशम बिसी, सचिवमा डिल्ली बस्नेत संगीत, सहसचिवमा शारदा शर्मा, कोषाध्यक्षमा चन्द्रबहादुर थापालाई सर्वसम्मत चयन गरिएको हो । सदस्यहरूमा यम रेग्मी, सुशीला आचार्य, रञ्जिता शर्मा, आशीष कल्पवृक्षलाई चयन गरिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad