Ad Area

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै विभिन्न ६ राजनीतिक पार्टीको संयुक्त विरोध प्रदर्शन


घोराही ७ पुस । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता खारेज हुनपर्ने भन्दै विभिन्न ६ राजनीतिक पार्टीहरुले मंगलबार घोराहीमा संयुक्त विरोध प्रदर्शनसहित कोणसभा गरेका छन् ।

राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, नेकपा मसाल र देशभक्त जनगणतान्त्रिक मोर्चा दाङले एमसीसी नेपालको हीतमा नभएको भन्दै घोराही बजारमा विरोध प्रदर्शन गरेका हुन् ।

ट्राफिक चोकबाट शुुरुभएको प्रदर्शनसहितको र्याली हस्पिटल रोड, बैंक रोड, न्यूरोडहुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा पार्टीका नेता कार्यकर्ता एवं विभिन्न विद्यालयका विद्यार्थी समेत सहभागीता रहेको थियो ।

कोणसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष गणेश आचार्यले एमसीसी सम्झौताको विरुद्ध सबै जाग्नुपर्ने बेला आएको बताए । एमसीसीको बहानामा नेपालको संविधानलाई समेत हस्तक्षेप गरेर नेपाललाई कमजोर पार्ने षडयन्त्र गरिरहेको बताए । जनहीत विपरित एमसीसी नेपालमा भित्र्याउन लागिएको हुँदा सबै नेपालीले यसको प्रतिकार गर्न उत्रिनु पर्ने बेला आएको उनको धारणा थियो ।

Blog Post Ad

यसैगरी, नेकपा मसालका प्रवक्ता भरत भण्डारीले एमसीसी सम्झौतालाई राष्ट्रघातीको संज्ञा दिदै सरकार र नेताहरुलाई स्वार्थ र लोभबाट टाढा रहन आग्रह गरे । नेकपाका केन्द्रीय सदस्य बलबहादुर वलीले अमेरिकी सम्झौता नेपालको हीतमा नभएको भन्दै निशर्त खारेजको माग गरे । उक्त सम्झौताले नेपाललाई फाईदा पुग्ने भन्दा धेरै क्षति हुने भएका कारण लागु गर्न नहुनेमा उनले जोड दिए ।

त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समिर केसीले अमेरिकाले आफ्नो स्वार्थ पूरा गर्न एमसीसी सम्झौता नेपालमा ल्याएको भन्दै कुनै पनि हालतमा फिर्ता हुनुपर्ने बताए ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्ला अध्यक्ष ईश्वरी गैरे, नेकपा मालेका प्रदेश सदस्य कपिलदेव पोख्रेलले पनि एमसीसी सम्झौतालाई कुनै पनि हालतमा स्वीकार गर्न नहुने जोड दिएका थिए । कार्यक्रमको सहजीकरण नेकपा निकट युवा संगठनका केन्द्रीय सचिव तिलक योगीले गरेका थिए । राष्ट्र र राष्ट्रियताका पक्षमा वकालत गर्दै यी पार्टी र तिनका संगठनहरुले निरन्तर खबरदारी गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad