Ad Area

फरार कैदी प्रकरण : संलग्न रहेको आरोपमा थप तीन पक्राउ


दाङ,९ पुस । घोराही कारागारका कैदी यमराज परियारलाई भगाउन संलग्न रहेको आरोपमा शुक्रवार थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारागारमा रहेका परियारलाई भगाउन भूमिका खेलेको भन्दै एक प्रहरी जवानसँगै अन्य तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् ।

प्रहरी उपरिक्षक काफ्लेका अनुसार पक्राउ परेका थप तीन जनाको परिचय गोप्य राखिएको छ । ‘कैदी भगाउनका लागि प्रत्यक्ष संलग्न देखिएपछि थप तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ’,प्रहरी प्रमुख काफ्लेले भने,‘फरार अभियुक्त नभेटिएकाले यिनीहरुको पहिचान गोप्य राखेका छौ ।’ उनका अनुसार शुक्रवार पक्राउ परेका तीन जना कैदी भगाउनका लागि प्रत्यक्ष रुपमा संलग्न भएको देखिएको छ । पक्राउ परेका थप तीन जनामाथिको अनुसन्धानले फरार रहेका कैदी भेटिने बताए ।

प्रहरी प्रमुख काफ्लेले पक्राउ परेका एक जना प्रहरी जवानसहित चार जनाको अनुसन्धानबाट घट्ना बारेमा पत्ता लाग्ने बताए । ‘हामीले एक जना प्रहरी जवानसँगै थप तीन जनालाई शुक्रवार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं’,उनले भने,‘यी पक्राउ परेकाहरुमाथिको अनुसन्धानले घट्ना बारे पत्ता लाग्ने छ ।’

छाला सम्वन्धी विरामी यमराज परियार विहिवार उपचारका लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गएको समयमा उनलाई अस्पतालसम्म लग्ने प्रहरी जवान धनबहादुर चौधरीको लु ३४ प ४१० नम्बरको मोटरसाइकल लगेर विहिवार करिव ११ बजेतिर भागेका थिए । उनी कारागारमा चौकीदारका रुपमा रहेका थिए ।