Ad Area

खेल क्षेत्रको विकासका लागि पूर्वाधार आवश्यक : मन्त्री घर्ति


दाङ,९ पुस । लुम्बिनी प्रदेश कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले खेल क्षेत्रको विकासका लागि पूर्वाधारको विकास हुन आवश्यक रहेको बताएकी छिन ।

दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको आयोजना तथा चौघेरा तेक्वान्दो डोजाङको सहकार्यमा घोराहीमा शुक्रवारदेखि सुरु भएको लुम्बिनी प्रदेशस्तरीय आई.टि.एफ. तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री घर्तिले स्वास्थ्यसँगै देशको पहिचानसँग जोडिएको खेलक्षेत्रको विकासका लागि प्रयाप्त पूर्वाधार नुहँदा क्षमतावान तथा प्रतिभाशाली खेलाडी पहिचान गर्न समस्या भएको बताइन । उनले खेलकुल क्षेत्रको विकासका लागि पूर्वाधार विकास गर्न आवश्यक रहेको बताइन ।

उनले पछिल्ला समयमा संघीय, प्रदेश तथा स्थानीय सरकारले हरेक खेलका लागि पूर्वाधार विकासमा प्राथमिकता दिएको भन्दै आफुले प्रदेशका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाइन । साथै नागरिकको स्वास्थ्यसँगै देशलाई चिनाउने खेलकुद क्षेत्रको विकास हुन आवश्यक रहेको बताएकी छिन ।

नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगी र दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठले अनुसासित र लगनशीलता गर्दै सफलता प्राप्त गर्ने भन्दै त्यही अनुसार खेलाडीलाई लाग्न आग्रह गरे । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले हरेक व्यक्तिका लागि आईटिएफ तेक्वान्दो खेल स्वास्थ्यसँगै आत्म सुरक्षाका लागि समेत आवश्यक रहेकाले खेल्न आवश्यक भएको बताएका थिए । युवाहरुलाई अनुसाशनका माध्यमबाट देशको गरिमा बढाउन खेल क्षेत्रले योगदान दिएपनि राज्यले खेलाडीहरुलई हेर्न नसकेको बताएका थिए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगी, बिद्यानिलकण्ठ क्याम्पसका प्रमुख दोर्ण खड्कालगायातले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चौघेरा आईटिएफ तेक्वान्दो डोजाङका अध्यक्ष मिनराज घिमिरेको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सल्लाहकार केशव गिरीले गरेका थिए ।

प्रतियोगितामा दाङ, प्युठान, बाँके, बर्दिया, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, पाल्पा र रुपन्देशी जिल्लाका करिव २ सय ५० खेलाडी सहभागी छन् । प्रतियोगितामा २० केजीदेखि ६० केजी तौल समूहमा महिला र २० देखि ७० तौल समुहमा पुरुष खेलाडीहरुले प्रतिष्प्रर्धा गर्ने आयोजक दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् । ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु घोराही उपमहानगरपालिका–१४ कवर्ड हलमा भैरहेका छन् ।