Ad Area

५० लाख खर्च गरेर कालिजपालन, बच्चा उत्पादनदेखि रेष्टुरेण्टसम्म खोल्ने योजना


दाङ, १८ पुस । दाङमा एक युवाले करिब आधा करोड रुपैयाँ खर्च गरेर व्यावसायिक कालिज पालनमा लागेका छन् । पश्चिम रुकुम मुसिकोट नगरपालिका–४ सोलाबाङ निवासी मेघराम खड्काले करिब ५० लाख रुपैयाँ खर्च घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा एमके मल्टिप्रपोज प्रालिमार्फत कालिज पालनदेखि बच्चा उत्पादन गर्दै आएका छन् ।

एक बर्षअघि कालिजपालनमा लागेका उनले अहिले फर्ममा कालिज पालनदेखि ह्याचरीमार्फत बच्चा उत्पादन, कालिजकै परिकार पाइने कालिज रेष्टुरेष्ट सञ्चालन गर्ने तयारीमा जुटेका छन् । रेष्टुरेष्टका लागि घोराहीमा तयारी भइरहेको उनले बताए । ‘कालिज फर्मदेखि बच्चा उत्पादनको काम भइरहेको छ । अब कालिजको मात्र विभिन्न परिवार पाइने गरी रेष्टुरेष्ट खोल्ने तयारी भइरहेको छ’, उनले भने– ‘यता व्यवसायलाई सर्पोटसँगै कालिजको मासु खाने इच्छुकलाई सहज समेत हुनेछ ।’ उनले अन्य व्यवसायभन्दा केही फरक व्यवसाय गराँै भन्ने सोच र सानैदेखि कालिजप्रतिको आकर्षणले गर्दा आफूले कर्जाहीमा २ बिगाहा जमिन भाडामा लिएर व्यावसायिक कालिजपालनमा लागेका खड्काले बताए ।

विदेश जाने सोच भए पनि लकडाउनका कारण उड्न नपाएपछि व्यवसायमा लागेको उनले बताए । ‘आफूले पनि कृषि पढेकाले स्वदेशमै केही गराँै भन्ने थियो तर अष्ट्रेलिया जाने तयारीमा थिए’, उनले भने– ‘त्यही समयमा लकडाउन भयो । विदेश जाने भएन अनि त्यही पैसा यता लगानी गरेँ ।’ उनले बार्षिक एक लाख बढी भाडा तिर्ने गरेका छन् । फर्ममा कालिजसँगै लौकाट, कडकनाथ, लोकल कुखुरा, बाख्रापालन र तरकारी उत्पादनको काम गर्दै आएका छन् । व्यवस्थापन संकायबाट प्लस टुसँगै एग्रीकल्चर विषय अध्ययन गरेका खड्का व्यवसायबाट सन्तुष्ट रहेको बताए । ‘कृषि विषय पढ्दै गर्दा अष्ट्रेलिया जाने तयारीमा थिए ।

त्यसै बेला लकडाउन भयो । अनि नेपालमै केही गर्नुपर्छ भनेर योजना बनाउँदै जाँदा कालिज पालनमा लागेको हुँ’, उनले भने– ‘अहिले कालिज पालनसँगै बच्चा उत्पादनका लागि ह्याचरी सञ्चालनमा छ । राम्रो भइरहेको छ । आफ्नो कामदेखि सन्तुष्ट छु ।’ करिब पाँच महिनाको बीचमा १२ लाखसम्मको कालिजहरु बिक्री गरेको उनले बताए । फर्ममा उत्पादन भएका कालिज दाङ जिल्लासहित बुटवल, कैलाली, काठमाडाँैलगायतका ठाउँसम्म पठाउने गरेका छन् । फर्ममा दुईजनालाई रोजगारी समेत दिएका छन् ।

उनको फर्ममा कालिजका बच्चा उत्पादनका लागि ह्याचरी मेसिनसँगै दाना मेसिनसमेत आफ्नै राखेका छन् । त्यसैगरी कालिजका लागि बर्सिम, जै, नेपियरलगायतको घाँस खेतीसमेत गरेको बताए । ‘कालिजले दानासँगै घास पनि खाने गर्दछन् । त्यसका लागि घाँस खेती पनि गरेको छु’, उनले भने– ‘कालिज पंक्षी भए पनि घाँस खाने गर्दछ ।’ सुरुमा १२ लाखको लगानीमा २ हजार कालिजको बच्चा पालेर व्यवसाय सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै मात्र गएको छैन काजिलसम्बन्धी अन्य व्यवसायसमेत थप्दै गएका छन् ।

Blog Post Ad

सुरुमा २ हजार पाले पनि उनले पछि थपेर २५ सय पु¥याएका थिए । त्यसमध्येमा करिब २ सय जति कालिज मरेको उनी बताउँछन् । करिब २३ सय जति बचेकामध्ये अहिले बिक्री गरेर १५ सय २० बढी कालिजहरु फर्ममा रहेको बताए । चिसो मौसममा बस्न रुचाउने कालिजलाई अहिलेको मौसम राम्रो भए पनि गर्मी मौसममा भने छायाँमा बस्नको लागि छहराहरु तयार पारिएको छ । व्यवसाय सुरु गर्दा कालिजको प्रतिबच्चा ७ सय रुपैयाँमा ल्याए पनि अहिले भने प्रतिबच्चा २ देखि ३ सय रुपैयाँमा बुकिङ खुल्ला गरेका छन् । व्यवसाय सुरु गरेको १ वर्ष वित्दा भने उनले आफ्नो व्यवसायबाट निकै सन्तुष्ट र खुशी छन् ।

जिउँदो कालिजको प्रतिपिस ३ हजार रुपैयाँमा बिक्री गर्दै आएको भए पनि पछिल्लो समय २५ सय रुपैयाँमा बिक्री गर्न थालेको समेत बताए । कालिज र चल्ला पालिरहेको ठाउँको २ बिगाहा जमिनको वार्षिक भाडा १ लाख २० हजार तिर्ने गरेका छन् । उनले कालिजसँगै घोराही–१६ मा टर्की, कडकनाथ, लोककुखुरा तथा तुलसीपुर उपमहानगरपालिका–१८ मा ६ बिगाहा जमिन भाडामा ल्याएर तरकारी खेती गरिरहेका छन् । सबै क्षेत्रमा करिब १ करोड २० लाख रुपैयाँ लगानी गरेको उनले बताए ।

Blog Post Ad Blog Post Ad