Ad Area

पैतिस प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर


घोराही, १९ पुस । जिल्लाका सबै नागरिकहरु खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् । घर–घरमा खानेपानी पु¥याउनका लागि खानेपानीका आयोजनाहरु कार्यान्वयन भएपनि खानेपानीको पहुँच प्रतिशत बढ्न सकेको छैन् । पाँच बर्ष अगाडी सम्म ३५ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर रहेको भन्ने तथ्याङक थियो ।
पाँच बर्ष अघिको अवस्था अझैपनि कायम रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यान्वयन भएका आयोजनाहरु समयमै सम्पन्न नहुँदा खानेपानीको समस्या समाधान गर्न सकिएको छैन् । खासगरी दाङका तराई क्षेत्रमा खानेपानीको व्यवस्थापन भएपनि पहाडी तथा विकट क्षेत्रमा खानेपानीको असुविधा भएको त्यहाँका नागरिकहरुले बताएका छन् ।
दाङका बजार क्षेत्रमा मात्रै होइन ग्रामिण क्षेत्रमा पनि खानेपानीको समस्या रहेको छ । बजार क्षेत्रमा सुद्ध पानीको आपूर्ति हुने गरेको भएपनि ग्रामिण क्षेत्रका बासिन्दाहरुले भने इनारको, मुल र जरुवाको पानी खानुपर्ने बाध्यता रहेको छ । यसैक्रममा पश्चिम दाङको बबई गाउँपालिका वडा नं. १ गंगटेका मानबहादुर गुरुङले गंगटेमा खानेपानीको समस्या भएको बताए । ‘बर्षा र हिउदको समय खानेपानीको समस्या हुन्छ’उनले भने ।
हिउँदमा खोलामा पानीको मुहान सुक्ने र बर्षातको समयमा भेल आउने भएकाले खानेपानीको समस्या भएको बताए । कतिपयले व्यक्तिगत रुपमा खानेपानीको व्यवस्थापन गरेको भएपनि सरकारी तवरवाट खानेपानीको समस्या समाधानका काम नभएको बताए । बबई गाउँपालिकावाट २६ किलोमिटर पश्चिम गंगटे क्षेत्रमा खानेपानीको समस्या रहेको छ । ‘खानेपानी । सिचाइँ सबैको समस्या छ, खोला, खोल्सा बाट पानीको व्यवस्थापन गर्ने गरेका छौँ ।’गुरुङले भने । ववई गाउँपालिकाको गँगटे उदाहरण मात्र हो । अन्य कतिपय स्थानका नागरिकहरु सुद्ध पानीबाट बञ्चित छन ।

सबै नागरिकलाई खानेपानीको पहुँचमा ल्याउनका लागि योजना कार्यान्वयनमा ल्याएपनि ती योजनाहरु समयमै सम्पन्न हुन सकेका छैनन् । दुई वर्षमा योजना सम्पन्नको सम्झौता गरिएपनि धेरै वर्षदेखि सम्पन्न हुन नसकेका योजनाहरु रहेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका अनुसार कतिपय सात वर्षदेखिका योजनाहरु पनि सम्पन्न भैसकेका छैनन् । समयमा बजेट निकासा नहुँनु, योजना धेरै हुनु र वजेटको वाडफाड गरिनुले पनि आयोजनालाई समयमै सम्पन्न गर्न समस्या भएको इन्जिनियर वेद प्रसाद आचार्यले बताए ।

उनका अनुसार कार्यान्वयन अवस्थामा रहेका बहुवर्षे आयोजनाहरु थुप्रै रहेका छन् । र ती आयोजना सम्पन्न भए संगै खानेपानीको पहुँच प्रतिशत बढ्ने छ । सबै नागरिकहरुलाई खानेपानीको पहुँमा पु¥याउनका लागि योजना कार्यान्वयनको काम भैरहेको जानकारी गराए । तर पहाडी क्षेत्र, विकट बस्ती तथा राजपुर गाउँपालिका जस्ता नाका क्षेत्रमा खानेपानीको पहुँच पु¥याउनै समस्या भएको इन्जिनियर आचार्यले बताए । यी क्षेत्रमा थोरै बजेटका योजनाहरुले काम सम्पन्न हुन ग्राह्रो हुने भएकाले पनि यहाँका नागरिकलाई खानेपानी पु¥याउन समस्या भएको हो । ‘माथी डाँडाँमा घर हुन्छ, त्यहाँ लिफ्टको माध्यमवाट पानी पु¥याउनुपर्छ, घरधुरी संख्या पनि कम भएकाले आयोजनाहरु पर्देनन्, यस्ता कारणले गर्दा पनि खानेपानीको पहुँचमा पु¥याउन समस्या भएको हो, उनले भने । अहिले करिव ६५÷६६ प्रतिशत नागरिकहरु स्वच्छ खानेपानीको पहुँचमा छन् ।

खानेपानीका योजनाहरु सम्पन्न भएपनि जनसंख्या बढेकाले पहुँच प्रतिशत बढ्न नसकेको आचार्यले बताऐ । यस्तै गत वर्ष सात वटा खानेपानी आयोजनाहरु सम्पन्न गरिएका छन् । इन्जिनियर आचार्यका अनुसार बंगलाचुली ३ स्थित काभ्रे खानेपानी आयोजना, ७ स्थित सुन्दरवस्ती खानेपानी आयोजना, घोराही १८ स्थित सुपौलाखुटी अकबरे खानेपानी आयोजना, तुलसीपुर १० स्थित कटाहा सिम्लेधारा खानेपानी आयोजना, बंगलाचुली ४ स्थित कमिरेचौर दाङवाङ खानेपानी आयोजना, तुलसीपुर १ स्थित छटि खानेपानी आयोजना, राप्ती गाउँपालिका १ स्थित बगासोती बर्षातको पानी संकलन आयोजनाहरु सम्पन्न भएका छन् ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad