Ad Area

राष्ट्रियसभा सदस्यमा आज क-कसले मनोनयन दर्ता गराउँदै छन् ?


दाङ २०, पुस । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यमा रिक्त १९ पदका लागि हुने निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गराउँदै छन् । निर्वाचन आयोगका अनुसार आज मंगलबार विहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

यस्तै, पुस २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारी फिर्ता र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । आयोगले पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

निर्वाचनमा ९ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् । निर्वाचनमा विभिन्न १२ राजनीतिक दलले भाग लिने आयोगले जनाएको छ । आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिनेछन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र भाग लिने जानकारी दिइएको छ ।

जसअनुसार नेकपा एमालेले लुम्बिनीमा खुलातर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती खनाल र दलिततर्फ गुल्मीका कृष्णबहादुर सुनारलाई टिकट दिइएको छ । यस्तै, प्रदेश–१ मा खुलातर्फ झापाका देवराज घिमिरे, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोलुखम्बुका सोनाम गेल्जेन शेर्पा उम्मेद्वार बनेका छन् ।

यस्तै, प्रदेश–२ मा खुलातर्फ धनुषाका असर्फी भिनवार यादव र महिलातर्फ रौतहटकी बिना साह उम्मेद्वार बनेका छन् । बागमतीमा खुलातर्फ ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर (निरु) दर्लामी, गण्डकीबाट खुलातर्फ कास्कीका पुण्यप्रसाद पौडेल, महिलातर्फ नवलपुरका लीला पोखरेल थनेट र दलिततर्फ बाग्लुङका गोविन्दबहादुर नेपाली उम्मेद्वार बनेका छन् ।

कर्णालीमा खुलातर्फ सुर्खेतका चूडामणि शर्मा, महिलातर्फ जुम्लाकी गंगा थापा महत र अल्पसंख्यकतर्फ दैलेखका पदमबहादुर माझीलाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको छ । सूदुरपश्चिमबाट खुलातर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा र दलिततर्फ बैतडीका नरेश बिकलाई उम्मेद्वार बनाउने निर्णय एमालेले गरेको छ ।

Blog Post Ad

यस्तै, नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार तय गरेको हो । प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा गुरूङ र सुदूरपश्चिम नारायण दत्त मिश्र उम्मेदवार बनेका छन् ।

यसैबीच, नेकपा (एकीकृत समाजवादी)ले पनि उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले पाँच उम्मेदवार छनोट गरेको हो प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सदूरपश्चिमबाट मदनकुमार (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा मनोनीत तीन जनामध्ये रामनारायण बिडारीको पदावधि सकिँदैछ । मनोनीतबाहेक रिक्त १९ पदमा सत्तारूढ गठबन्धनले भागबन्डा गरेका छन् । लुम्निबीबाट ३ जनाको पदावधि सकिँदैछ । लुम्बिनीबाट महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको स्थानमा पदपूर्ति गर्न निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख भट्टराईले जानकारी दिए ।

महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन थालेको उनले बताए । लुम्बिनी प्रदेश सभाका प्रदेश सभा सदस्य ८१ जना र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुख गरी २ सय १५ जना गरी २ सय ९६ जना मतदाताहरुले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय सभा निर्वाचन ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने प्रावधान छ । यता, लुम्बिनी प्रदेशको निर्वाचन कार्यालयले उम्मेदारको मनोनयनका लागि सबै तयारी पूरा भएको जनाएको छ । आज मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनको समय तोकिएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी देशभर दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले आफ्नो कामलाई तीव्रता दिएको छ ।

Blog Post Ad Blog Post Ad