Ad Area

राष्ट्रियसभा सदस्यमा रिक्त १९ पदका लागि आज मनोनयन


दाङ २०, पुस । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यमा रिक्त १९ पदका लागि हुने निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गराउँदै छन् ।

निर्वाचन आयोगका अनुसार आज मंगलबार विहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

यस्तै, पुस २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारी फिर्ता र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । आयोगले पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ ।

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । उक्त निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् । निर्वाचनमा विभिन्न १२ राजनीतिक दलले भाग लिने आयोगले जनाएको छ । आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिनेछन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र भाग लिने जानकारी दिइएको छ ।

Blog Post Ad

निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad