Ad Area

घोराहीमा पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिता माघ ५ गतेबाट


घोराही २०, पुस । घोराही उपमहानगरपालिकामा पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिता माघ पहिलो साताबाट हुने भएको छ । आगामी माघ ५ गतेबाट प्रतियोगिता हुन लागेको हो ।

घोराही उपमहानगरपालिका युवा खेलकुद तथा शिक्षा महाशाखाका अनुसार प्रतियोगिता संचालनका लागि आवश्यक मापदण्ड तथा कार्यविधि बनाई १९ वटै वडाहरुमा टीम दर्ता आह्वान गरिएको छ । सबै वडा कार्यालयहरुमा यही पुस २५ गतेसम्म टीम दर्ता गर्ने गरी पत्राचार भईसकेको खेलकुद तथा शिक्षा शाखाका अजय बोहराले जानकारी दिए ।

लिग कम नकआउट आधारमा खेलाईने प्रतियोगितामा यो पटक वडाबाट सिफारिस भई खेल्ने खेलाडीहरुको बारेमा स्पष्ट भएपछि मात्रै खेल्न दिईने भएको छ । टीम दर्ता गर्दा वडा कार्यालयले खेलाडी स्थायी बासिन्दा भएको, बसाईसराई गरी आएको भए खेल्ने खेलाडीको स्पष्ट नाम उल्लेख भएको सक्कल कागजात, नागरिकता वा मतदाता परिचय पत्र, वडा कार्यालयको स्पष्ट सिफारिस अनिवार्य गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

विगत वर्षहरुमा वडा कार्यालय आफ्नो वडाको खेलाडीको सिफारिस गर्दा स्पष्ट रुपमा नगर्दा समस्या हुँदै आएको थियो । विगतका गल्तीबाट पाठ सिक्दै यो पटक सबै विषयमा चनाखो ढंगले कार्यविधि बनाएरै प्रतियोगिता गर्न लागिएको सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर १८ का वडा अध्यक्ष भरत अर्यालले बताए ।

माघ ५ गते उदघाटन हुने प्रतियोगिताको फाईनल खेल माघ १४ गते गर्ने बताईएको छ । माघ १५ गते एक समारोहका बीच प्रतियोगिताका विजेता, उपविजेता टीमलाई पुरस्कारसहित सम्मान गर्ने तय भएको उनले बताए । घोराही उपमहानगरपालिकाको मेयर कप फुटबलमा वडा नम्बर १८ ले लगातार तेस्रो र चौथो पटक उपाधि जितेको छ । यो पटक पनि उपाधि जितेमा शिल्ड उसकै हुनेछ । यही तयारीका साथ वडा नम्बर १८ ले तयारी थालेको वडा अध्यक्ष अर्यालले बताए ।

स्थानीय सरकार संचालन गर्ने पहिलो पटक जिम्मेवारी पाएका जनप्रतिनिधिहरुका लागि आफ्नो कार्यकालको अन्तिम प्रतियोगिता रहेको छ । यसैबीच, उपमेयर भलिबल प्रतियोगिता भने केही समयपछि गर्ने तय भएको छ । उपमहानगरका अधिकांश विद्यालयहरुमा अहिले त्रैमासिक परीक्षा भईरहेकाले विद्यालय स्तरीय उपमेयर भलिबल प्रतियोगिता केही समय पर धकेलिएको उनले बताए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad