Ad Area

अबको ६२ दिनमा दाङको घोराही उपमहानगर ‘बालमैत्री पालिका’ बन्ने


घोराही २१, पुस । अबको ६२ दिनमा दाङको घोराही उपमहानगरलाई बालमैत्री पालिका घोषणा गर्न आन्तरिक कामलाई तीव्रता दिईएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ लाई पालना गर्दै बालमैत्री पालिका घोषणाका लागि पूरा गर्नुपर्ने ५१ वटै सूचकलाई तदारुकताका साथ कार्यान्वयनको चरणमा अघि सारेको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले जानकारी दिईन् ।

आगामी फागुन २४ गते नारी दिवसका सन्दर्भ पारेर घोराहीले जिल्लामै पहिलो पटक बालमैत्री पालिका घोषणा गर्ने लक्ष्य राखेको छ । घोराहीले आर्थिक वर्ष २०७४-०७५ बाट बालमैत्री पालिका घोषणा गर्ने लक्ष्यका साथ काम अघि बढाएको हो । यसअघि साविक धर्ना र सौडियार गाविस बालमैत्री घोषणा भईसकेकाले अन्य वडाहरुमा २०७८ असार २७ गते जारी भएको बालमैंत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ लाई आधार बनाएर सबै वडाहरुमा रहेको सम्वद्ध स्थानहरुमा सूचक पूरा गर्ने गरी काम तीव्रताका साथ अघि बढाईएको उनको भनाई छ ।

यसअघि २०६८ असार २१ गते ३९ वटा सूचकका आधारमा बालमैत्री स्थानीय शासन व्यवस्था घोषणा गर्ने प्रावधान रहेपनि पछिल्लो पटक सरकारले जारी गरेको निर्देशिकाले सूचकको दायरा बढाएको छ । अहिले पनि ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बालश्रमिक भेटिने गरेको, सरसफाईका क्षेत्रमा चुनौति देखिएको, शिक्षा, स्वास्थ्य, पोषणलगायतको अवस्थामा सुधार गर्नुपर्ने देखिएपनि यसलाई सबैसँगको सहकार्यमा सुधार गर्दै लगेको र अबको दुई महिनामा आवश्यक सूचकको मापदण्ड पूरा हुने अपेक्षा गरिएको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विश्वकर्माले बताईन् । ‘पालिकाको सबै वडाहरुमा रहेको विद्यालय, सार्वजनिक क्षेत्र, टोलहरुमा स्थानीय शासन संचालन ऐन २०७४ को अवस्था बारेमा अनुगमन गर्ने, बालमैत्री शासन व्यवस्था कार्यान्वयन निर्देशिकाले तय गरेका सूचक पालना गर्न अपनाउनु पर्ने विधि र प्रकृयाका बारेमा सचेतीकरण गर्ने तथा ती कामहरुको दस्तावेजीकरण गर्ने काम घनीभूत रुपमा अघि बढेको छ,’ शाखा प्रमुख विश्वकर्माले भनिन् ।

हरेक वडामा बाल संरक्षण समिति गठन गरि काम अघि बढाईएको बताउँदै त्यहाँ रहेका बाल क्लव, युवा क्लव, टोल विकास संस्था, सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको सहकार्यले लक्षित समयमै पालिकालाई बालमैत्री पालिका घोषणा गर्न सकिने अवस्था रहेको घोराही उपमहानगरले दावी गरेको छ । यसअघि पनि पटक पटक जनप्रतिनिधि, टोलविकास संस्था, पालिकामा रहेका सम्वद्ध शाखा, महाशाखा, स्वास्थ्य स्वयंसेविका, नागरिक अगुवा, विद्यालयका प्रधानाध्यापकलगायत सबैलाई बालमैत्री स्थानीय शासन स्थापनाका लागि पालन गर्नुपर्ने सूचकका बारेमा अभिमुखीकरण गर्दै कार्यान्वयन थालिएको महिला बालबालिका तथा सामाजिक विकास शाखाको भनाई छ ।

Blog Post Ad

अहिले खासगरी बजार क्षेत्रमा बालश्रमको अवस्था बढी रहेको पाईको जनगुनासो र चासो लिईएकाले यस क्षेत्रमा यथार्थताको पहिचानका लागि काम भईरहेको छ । ‘बालश्रम, बाल सीप वा बालकाम के का लागि बालबालिकाहरु संलग्न छन् भन्ने यकिन गर्ने काम हामीले अघि बढाउँदैछौँ । यसको किटान गरी यदि कुनै पनि बालबालिका श्रमशोषण वा अन्यायमा परेका भेटिए आवश्यक कानूनी कारवाही गरी उनीहरुको उद्धार संरक्षणको काम गर्नेछौँ,’ शाखा प्रमुख विश्वकर्माले भनिन् । उनका अनुसर घोराहीको वडा नम्बर १४, १५, १६ र १७ बालश्रमका दृष्टिकोणले जोखिम वडाका रुपमा पहिचान गरिएको छ ।

शारीरिक जोखिम र विकासको अवस्थामा असर नपर्ने गरि सीप आर्जन हुनुपर्ने हुँदा यसलाई आधार मानेर अवस्था पहिचानका लागि वडा कार्यालय, सरोकार संघसंस्था, प्रहरी मिलेर अनुगमन गर्न लागिएको छ । पालिकालाई बालविवाह मुक्त बनाउँदै लगेको पनि पाईएको छ । ग्रामीण क्षेत्रका वडाहरुमा बालविवाहको अवस्थामा कमी आएको त्यहाँका बालक्बलहरुको भनाई छ । यद्यपि, पहाडी वडाका रुपमा रहेको घोराही १९ मा भने अझै यो चुनौतिका रुपमा रहेको पाईएको छ । यस्तै पोषणको अवस्था सुरक्षित हुनुपर्ने, शिक्षा सबैले पाएको हुनुपर्नेलगायत कामलाई निरन्तर प्रभावकारी बनाउन र अभिलेखीकरण हरेक वडामा बाल संरक्षण समिति गठन गरि काम अघि बढाईएको छ ।

यसैगरी, विद्यालयमा खेलमैदान, पिउने पानी, सफा सौचालय, फोहोर व्यवस्थापन गर्न बाल क्बललगायत टीम तयार पारिएको छ । बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति बालमैत्री शासन व्यवस्थाको आधार भएकाले यी कामलाई विगतका दिनबाट पूरा गर्न थालिएको प्रयासले सार्थकता पाउन थालेको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले बताए । घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले मंगलबार आयोजना गरेको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा उहाँले विकास क्रमको निरन्तरतामा स्थानीय सरकारले थालेकोको कामलाई अर्थपूर्ण बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताए ।

अहिलेसम्म पालिकाका सबै वडामा धेरै राम्रा काम भईसकेको हुँदा अब अधुरा र बाँकी रहेका कामलाई गति दिन जरुरी रहेको बताउनुभयो । शुरुवाती चरणमा तय भएका सूचकमा उपलब्धी नदेखिए जस्तो लागेपनि नीतिगत रुपमा गरिएको कामले अन्ततः पूर्णता पाउँदै गएको हुँदा अब नतिजा देखिने बेला आएको बताए । ‘पहिले पहिले गरेको कामले केही भएन की भन्ने जस्तो सबैलाई लाग्यो होला, अब नतिजा देखिने गरी काम भएको रहेछ भन्ने अवस्था बन्दै गएको छ । अन्तिम अवस्थामा मन वचन र कर्मले दत्तचित्तका साथ सबैले कामलाई अझ गति दिन आवश्यक छ,’ उहाँले भने ।

उहाँले सूचक पूरा गर्ने काम मात्रै नभई थप सामाजिक विकासका काममा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको बताए । घोषणा केवल घोषणाका लागि मात्रै होईन परिवर्तनसहितको अनुभूति नागरिकले गरेको हुनुपर्छ भन्ने मान्यताका साथ अभियान अघि बढाइएको हुँदा यसलाई सबैले महत्वपूर्ण कामको रुपमा अंगिकार गर्नुपर्ने बताए ।

यसैगरी, उपप्रमुख सीता सिग्देल न्यौपानेले पालिकालाई बालमैत्री पालिका घोषणा गर्न तय भएका सुचक पूरा गर्न सबैले इमान्दार प्रयास गर्नुपर्ने बताउईन् । पालिकालाई बालमैत्री पालिका घोषणा गर्न सक्नु भनेको यो सिंगो नगरको गौरवको योजना हो भएकाले यसले दिने सकारात्मक सन्देश भोलिका दिने पुष्टि गर्ने बताईन् ।

‘बालमैत्री स्थानीय शासनको लागि स्थानीय तहको संस्थागत विकास, क्षमता विकास, सहकार्य र साझेदारी प्रवद्र्धन, सामुदायिक परिचालन, सामाजिक जवाफदेही र पारदर्शिता, सामाजिक समावेशीकरण, सूचना, शिक्षा र संचारको माध्यमबाट व्यवहार परिवर्तन तथा अनुगमन र मूल्यांकन जस्ता क्षेत्रहरू बालमैत्री स्थानीय शासनका रणनीतिहरू हुन्,’ उनले भनिन् ।

पालिकालाई सबै सूचक पूरा गर्न थालिएको प्रयासका बारेमा वडा स्तरमा गठित बालमैत्री सम्पर्क व्यक्ति, बाल संरक्षण समिति तथा त्यसका सदस्यहरुले ब्रिफिङ गरेका थिए । यस्तै, पालिकाका विभिन्न शाखा, महाशाखाका प्रतिनिधिहरुले पनि आफ््नो शाखामार्फत भएका काम र देखिएको समस्याका बारेमा जानकारी गराउँदै अभियान सफल बनाउने प्रतिवद्धता जनाएका थिए ।

स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारी, शिक्षा महाशाखा प्रमुख विनोद गौतमलगायतले आफ्नो तर्फबाट धारणा राखेका थिए । उनीहरुले विकासका दृष्टिकोणले पूर्वाधारलाई मात्रै विकास हो भन्ने मान्यतालाई हटाउँदै सामाजिक विकासका काममा अब जुट्नु पर्ने बेला आएको बताए । हिजो दिनमा गरिएका राम्रा कामलाई निरन्तरता दिँदै आगामी कार्ययोजनालाई सफल बनाउनु नै अबको कार्यभार रहेको हुँदा सो अनुसार अघि बढ्ने उनीहरुको भनाई थियो ।

सामाजिक विकास समिति संयोजक भरत अर्यालको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा बालमैत्री पालिका घोषणाका लागि खटिनुभएका फोकल पर्सन विकिरण गौतम र दुर्गालाल केसीले यसअघि तय भएका कामको अवस्थालाई अभिलेखीकरण गर्ने र अवस्था पहिचान गरी अधूरा र सम्पन्न गर्नुपर्ने कामलाई जति सक्दो चाँडो सम्पन्न गर्न आग्रह गरे । जसका लागि सूचकमा आधारित प्रगति विवरण १५–१५ दिनमा पालिकाका सम्बन्धि शाखामा जानकारी गराउने, वडा तथा टोलमा देखा परेको समस्या भए तत्काल सम्बन्धित ठाउँमा खबर गर्ने र समाधान खोज्ने काम पनि अघि बढाउने विषयमा अवगत गराईएको छ ।

बालबालिका आजको साझेदार भोलिका कर्णधार र पर्सिका साझेदार हुन । जसका लागि उनीहरुको भविष्य सुनिश्चित गर्न तथा सुशासनयुक्त समाज निर्माणका लागि पालिकाले दीर्घकालीन लक्ष्य तय गर्दै अभियान अघि बढाएको हो । हामीले गर्ने विकासका सबै प्रयासहरूलाई बालबालिकाको आँखाले हेर्ने र सोही अनुसार निर्देशित हुने अभ्यास भएकाले यो समग्र शासकीय प्रक्रियामा बालबालिकाका सवालहरुलाई आवद्ध गर्ने प्रयासका रुपमा चित्रित गरिएको छ ।

Blog Post Ad Blog Post Ad