Ad Area

दाङमा जारी जिल्ला फुटबल लिगको पहिलो चरणका खेल सकिँदा ३ क्लब अपराजित


घोराही २१, पुस । दाङमा जारी जिल्ला फुटबल लिगको पहिलो चरणका खेल सकिएको छ । मंगलबार जिल्ला फुटबल संघमा आवद्ध १० वटा क्लबले समान ४–४ खेल खेल्दै पहिलो चरणको लिग सकाएका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघले घोराही र तुलसीपुरमा आयोजना गरेको पहिलो चरणको लिगमा ३ वटा क्लब अपराजित रहन सफल भएका छन् । पुस १४ गतेबाट शुरुभएको जिल्ला लिगमा तुलसीपुरको एसएसएफएले स्पष्ट ३ खेलमा जित र एक खेलमा बराबरी खेल्दै अंक तालिकाको शीर्ष स्थानमा छ । उसले ४ खेलमा २० गोल गर्दा ३ गोल खाएको छ भने १० अंक जोडेको छ ।

यस्तै समान १० अंक रहेको तुलसीपुरकै सक्सेस एफसीले पनि ३ खेलमा जीत र १ मा बराबरी खेल्दै अंक तालिकाको दोश्रो स्थानमा छ । उसले ४ खेलमा १३ गोल गर्दा २ गोल खाएको छ । अपराजित रहेको अर्काे क्लब हो, घोराहीको युएनबीसी । उसले पनि ४ खेलमा ३ मा जित र १ मा बराबरी खेल्दै अंक तालिकाको तेश्रो स्थानमा रहन सफल भएको छ । जारी खेलमा ११ गोल गरेको युएनबीसीले १ गोल खाए पनि समान १० अंक रहेको छ ।

यस्तै, उत्कृष्ट खेल पस्किरहेको घोराहीको नवलपुर फुटबल एकेडेमीले मंगलबार पहिलो चरणको अन्तिम खेलमा युएनबीसीसँग पराजित हुँदै अंक तालिकाको चौथो स्थानमा अटाएको छ । उसले ४ खेलमा ३ मा जित र १ मा हार व्यहोर्दै ९ अंक जोडेको छ । कुल ८ गोल गरेको नवलपुर फुटबल एकेडेमीले ४ गोल खाएको छ ।

यसैगरी, अंक तालिकाको पाँचौ स्थानमा राप्ती क्लब रहेको छ । उसले ४ खेलमा २ जित, १ बराबरी र १ मा हार खाँदै ७ अंक प्राप्त गरेको छ । राप्ती क्लबले जारी लिगमा ५ गोल गरेको छ भने २ गोल खाएको छ । यस्तै, ६ अंकका साथ तुलसीपुरको लक्ष्य एफसीले २ मा जित र २ मा हार व्यहोरेको छ । उसले अहिलेसम्म ७ गोल गर्दा ५ गोल खाएको छ ।

Blog Post Ad

यसैगरी, अंक तालिकाको छैठौं स्थानमा रहेको किसान जागृत क्लबले ३ अंक जोडेको छ । उसले जारी लिगमा १ मा जित र ३ खेलमा व्यहोरेको छ । किसान जागृतले ५ गोल गर्दा ११ गोल खाएको छ । अंक तालिकाको सातौ स्थानमा युनाइटेड युथ क्लब रहेको छ । उसले पनि १ खेलमा जित र ३ खेलमा हार व्यहोरेको छ । ३ अंक जोडेको युनाइटेडले अहिलेसम्म ५ गोल गर्दा १५ गोल खाएको छ । पहिलो चरणको लिग सकिँदा अंक तालिकाको नवौँ र दशौँ स्थानमा रहेका न्यु स्टार एफसी र टाईगर युथ क्लब जित विहिन छन् । दुवै क्लब शून्य अंकका साथ अन्तिम दुईमा छन् ।

न्यु स्टारले १ गोल गर्दै १२ गोल खाएको छ भने टाईगर युथ क्लबले एक गोल पनि गर्न सकेको छैन भने अहिलेसम्म २० गोल खाईसकेको छ ।
अन्तिम दुईमा रहेका दुई क्लबलाई रेलिगेशनबाट जोगिन अबका खेल अनिवार्य जित आवश्यक छ । अब लिग अन्तर्गत दोश्रो चरणका खेल आज बुधबार बेलझुण्डीमा बस्ने दाङ जिल्ला फुटबल संघले तय गर्ने भएको छ ।

फुटबल संघका महासचिव नरेन्द्र पुनका अनुसार दोश्रो चरणको लिग अब घोराही र तुलसीपुरका क्लबबीच गर्नुपर्ने भएकाले खेलाउने स्थान र समय साथै खेल तालिका बनाउन लागिएको छ । दुवै क्षेत्रलाई पायक पर्ने गरि खेल मैदान र तालिका बनाउन लागिएको उनले बताए । जारी जिल्ला लिग पुस २९ गते सम्पन्न गर्ने गरि तालिका बनाउन लागिएको हो ।

पहिलो चरणमा समान ४ वटा खेल खेलेका क्लबले अब दोश्रो चरणमा समान ५ वटा खेल खेल्नेछन् । यसअघि जिल्ला फुटबल नकआउट प्रतियोगिता गरेको दाङ जिल्ला फुटबल संघले उक्त प्रतियोगिताबाट २ वटा क्बललाई अर्काे वर्ष हुने जिल्ला लिगमा स्थान सुरक्षित गरेका छन् । जारी लिगमा सबै खेल सकिएपछि पुछारमा रहने २ वटा क्लब रेलिगेशनमा पर्नेछन् भने उक्त स्थानमा जिल्ला नकआउट फुटबलमा उत्कृष्ट भएका बडहरा युवा क्लब र ज्ञान ज्योति ईनोभेटिभ एकेडेमीले जिल्ला लिग खेल्नेछन् ।

लिग खेलिरहेका क्लबहरु रेलिगेशनमा पर्नबाट बच्नका लागि कडा अभ्यासका साथ लिग खेलिरहेका छन् । ग्रास रुटबाटै खेलाडी उत्पादन र क्लबहरुको खेल गतिविधि बढाउन एन्फाले पछिल्लो समय जिल्ला जिल्लामा फुटबल प्रतियोगिता गरिरहेको छ । यसले नयाँ खेलाडी उत्पादनसँगै खेलाडीहरुको खेल सुधारमा टेवा पुगेको नवलपुर फुटबल एकेडेमीमा अध्यक्ष दिपक पुनले बताए ।

Blog Post Ad Blog Post Ad