Ad Area

आत्मनिर्भर लघुवित्त संस्था अब आईपिओमा जाँदै, ५१ वटा शाखामार्फत सेवा दिने तयारी


घोराही २२, पुस । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मिरा चौधरीको अध्यक्षता तथा सामाजिक व्यक्तित्व ऋषिराज जंगलीको प्रमुख आतिथ्यमा बुधबार सभा गरिएको हो । २०६० बाट महिला वित्त परियोजनामार्फत सामाजिक संस्थाका रुपमा काम थालनी गरेको आत्मनिर्भर लघुवित्तले २०७६ बैशाखबाट ‘घ’ वर्गको बैंकका रुपमा काम गर्दै आएको छ ।

सो अवसरमा प्रमुख अतिथि जंगलीले ज्ञान, सीप र धारणालाई सबै सामु स्पष्ट पार्न सकेमा कुनै पनि कामले सार्थकता पाउने बताउनुभयो । उहाँले संस्थाको शुरुवाती चरणका चुनौति र समुदाय स्तरमा थालेको प्रयासको स्मरण गराउँदै समुदायमा पुगेर बारम्बार सकारात्मक कामको बारेमा जानकारी गर्ने, ज्ञान दिने र सीप सिकाउने गरेका कारण संस्थाले प्रगति गर्न सम्भव भएको बताए । उनले भने, ‘कुनै पनि कामको बारेमा धारणा बनाउने अवस्था परिवर्तनमा लाग्न हौसला दिनुपर्छ, ज्ञान सीप र धारणाको आधारमा कामको आधार तय गर्न सकेमा जो कोहीले सहज रुपमा काम गर्न सक्छ । यसरी गरिएको कामलाई संगठित गराउने र आयआर्जनमा जोड्ने काम गरियो भने योजना सफलताको बाटोमा हिँड्छ ।’

उनले सिर्जना शक्तिलाई मन, वचन र कर्मले गरेमा कामले सफलता हासिल गर्न समय नलाग्ने विश्वास व्यक्त गरे । कामका लागि योजना चाहिने बताउँदै उनले आपसी मेलमिलाप र सहकार्यबाट काम गरेमा त्यो दीगो हुने उल्लेख गरे । अहिले पनि समाजमा सकारात्मक कुरा भन्दा नकारात्मक कुरामा मानिसको बढी ध्यान जाने हुँदा मानिसको सोँच बदल्दै उनीहरुमा असल अभ्यासको धारणा बनाउनु पर्ने अवस्था रहेको बताए । ‘समाजको चरित्र सुधार गर्न बाँकी छ,’ उनले भने, ‘सबैको आँखामा फूल ल्याउन जरुरी छ । काँडा देख्ने आँखालाई फूल बनेको देखाउनु छ । जसका लागि सबैको सकारात्मक साथ चाहिन्छ । जसका लागि सबैको सकारात्मक साथ चाहिन्छ ।’

यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतबिर चौधरीले संस्थामार्फत समुहको जमानीमा बिना धितो ऋण लगानी गरेर विपन्न, निमुखा, दुरदराजका महिला दिदीबहिनीहरुको जीवन बदल्ने काममा ठूलो भूमिका भएको बताए । बजारका ठुला बडा व्यापारीलाई लगानी गरे जतिपनि नाफा कमाउन सकिने अवस्था रहेपनि यो विचारबाट माथि उठेर संस्थाले सामाजिक जीवनलाई प्राथमिकता दिएको बताए । ‘हामीले चाहेको भए बजारका ठूला व्यापारीलाई ऋण लगानी गरे बसीबसी मुनाफा कमाउन सक्थ्योँ तर त्यो हाम्रो सोँचमा पर्दैन, गरिव जनताको जीवन बदल्ने अभियान हाम्रो अभिभारा हो,’ उनले भने, ‘धनिले मात्रै होईन गरिवले पनि उद्योग धन्दा, उद्यमशील बन्नुपर्छ भन्ने मान्यता हो ।’

Blog Post Ad

कोभिडका कारण अहिले पनि समुदायमा ५ करोड खराव ऋण रहेको जानकारी गराउँदै यो अझ बढ्न सक्ने हुँदा सावधानी पूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताए । शुरुवाती चरणमा सामाजिक सेवाका लागि खोलेको संस्था भएपनि राज्यको नीतिका कारण बाध्य भई २०७३ को कम्पनी ऐनमा समाहित हुनुपरेको उनले स्मरण गराए । ‘हामीले शुरुमा मुनाफाका लागि संस्था खोलेका होईनौँ, राज्यको नीतिका कारण मुनाफामा लैजान बाध्य बनायो,’ उनले थपे ।

अब संस्था निकट दिनमै आईपिओमा जान लागेको जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत चौधरीले सनराईज क्यापिटलमार्फत आईपीओ जारी हुने गरी सम्झौता भएको उल्लेख गरे । जसका लागि १ करोड ८० लाखको शेयर क्यापिटलमा जानेछ । हाल २८ जना शेयर सदस्य रहेको संस्थाको १८ हजार शेयर धनी अर्काे बैठकमा पुग्ने उनले बताए ।

यस्तै, ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष एवं संस्थाकी संस्थापक अध्यक्ष आशमानी चौधरीले कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशीलताको कुरा वकालत गर्ने संस्थाले अहिले आफ्नो सेवा बिस्तार गर्दै लगेकोमा खुशी व्यक्त गरिन् । संस्थाले शुन्यबाट थालनी गरेको अभियानलाई सफल बनाउन अहिलेसम्म सबैको हौसला, साथ र सहयोग नै संस्थाको सम्पत्ति रहेको बताईन् । आत्मनिर्भर लघुवित्तले शुरुवाती चरणमा महिला ऋण परियोजनाबाट काम थालेकोमा अहिले हजारौँ सदस्यले लाभ लिन सफल भएका उनको भनाई थियो ।

२०५१ सालमा स्थापित ग्रामीण महिला उत्थान केन्द्रले जन्माएको आत्मनिर्भर लघुवित्तले सरकारले अघि सारेको समृद्धिको नारालाई सार्थक बनाउँदै संस्थाले गरिबी निवारणमा पुर्याएको योगदानलाई राज्यले सम्बोधन गर्नुुपर्ने उनको धारणा थियो । यस प्रकारका संस्थालाई सरकारले सेवा प्रदान तथा नीति नियममा सघाउनु सकेको खण्डमा समुदायमा आर्थिक सशक्तीकरणमा आवद्ध हुन नसकेको कैयौँ महिलाहरुको जीवन परिवर्तनमा सघाउन पुग्ने उनको भनाई थियो ।

हाल १ सय २२ जना कर्मचारी कार्यरत रहेको संस्थामा ३५ हजार सदस्यले आर्थिक सेवा लिईरहेका छन् भने १६ हजार बढी उद्यमी सदस्यले उद्यमशीलताका काममा आफुलाई आवद्ध गराएका छन् । दाङ, बाँके, बर्दिया, सल्यान, कपिलवस्तु, प्युठानमा कार्य क्षेत्र ६ जिल्ला २२ शाखा रहेको संस्थाले निकट दिनमै अब ५१ शाखा बिस्तारको तयारी गरेको छ ।

यसैबीच, संस्थाले आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको वित्तीय विवरण पनि सार्वजनिक गरेको छ । जसमा संस्थाले ४०३ प्रतिशतले खुद मुनाफा गर्न सफल भएको छ । हाल संस्थाको कुल सम्पत्ति १ अर्व ३१ करोड ५१ लाख ६३ हजार ३१४ रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा ११ करोड ४१ लाख ६५ हजार ८१३ रुपैयाँ रहेको संस्थाको तिर्न बाँकी कर्जा सापट १८ करोड ५५ लाख ४४ हजार ३३३ रुपैयाँ रहेको, कुल वचत ७९ करोड ५६ लाख ८६ हजार २६७ रुपैयाँ रहेको तथा लगानीमा रहेको कर्जा १ अर्व १८ करोड १५ लाख ९४ हजार ७९६ रुपैयाँ रहेको संस्थाकी अध्यक्ष मिरा चौधरीले प्रतिवेदन पेश गरिन् । उनका अनुसार, कुल संचालन मुनाफा ८ करोड ४१ लाख १५ हजार ३८७ रुपैयाँ रहेको छ भने संस्थाले खुद मुनाफा ६ करोड २४ लाख ९२ हजार ४२५ रुपैयाँ कमाएको छ ।

समग्रमा संस्थाको अधिकृत पूँजी ८ करोड जारी पूँजी ६ करोड र चुक्ता पूँजी ४ करोड २० लाख रहेको उनले जानकारी गराईन् । अब संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा थप ५ वटा शाखा स्थापना गर्ने, ५१ हजार २४० सदस्य पुर्याउने, ऋणी सदस्य ३२ हजार ४६३ जना पुर्याउने लक्ष्य लिएको उनको भनाई थियो । यसैगरी, चालू आर्थिक वर्षमा २ अर्व ५१ लाख ४१ हजार कर्जा लगानी गर्ने र आर्थिक वर्षको अन्त्यमा लगानीमा रहिरहेको कर्जा १ अर्व ८२ करोड ३१ लाख ४१ हजार पुग्ने तथा कुल वचत १ अर्व ९६ लाख ५९ हजार पुग्ने प्रक्षेपण गरेको छ ।

यसैगरी, आत्मनिर्भर संस्थाले सामाजिक उत्तरदायित्व कोषबाट कोभिड १९ का कारण समस्यामा परेका व्यक्तिहरुको उत्थानका लागि आर्थिक सहयोग स्वरुप तुलसीपुरस्थित अमर मावि उरहरीका ६६ जना विद्यार्थीहरुलाई ७२ हजार ६ सय रुपैयाँ छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।यस्तै, कार्यरत कोभिड संक्रमित कर्मचारीलाई १२ हजार ७३७ सहयोग गरेको बताएको छ । संस्थालाई सबल र सक्षम संस्थाका रुपमा बिस्तार गर्ने लक्ष्य राख्दै अघि बढेको संस्थाले आगामी दिनको आफ्नो कार्य क्षेत्र र दायरा फराकिलो बनाउँदै अघि बढ्ने संकल्प पनि लिएको छ ।

सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, प्रेस युनियनकी केन्द्रीय सदस्य सुलोचना गौतम, संस्थाकी स्वतन्त्र संचालक गोमा महरा, शेयर सदस्य भीमकान्त चौधरी, एचबी थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले गरिव, विपन्न, सिमान्तकृत तथा दुरदराजका नागरिकको आर्थिक पहुँच बढाउन, आर्थिक सशक्तीकरणमा संस्थाको काम र सेवालाई केन्द्रित गर्दै सामाजिक उत्तरदायित्वको कामको दायरा पनि फराकिलो बनाउँदै लैजान सुझाव दिए । आन्तरिक लेखा परिक्षक सुशीला गिरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गरेकी थिईन् ।

Blog Post Ad Blog Post Ad