Ad Area

दाङ जिल्ला फुटबल लिगमा शनिबार ४ क्लबबीच महाभिडन्त हुँदै


घोराही २२, पुस । दाङमा जारी जिल्ला फुटबल लिगको दोश्रो चरणका खेल आगामी शनिबारबाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार दाङ फुटबल संघले पहिलो पटक आयोजना गरेको जिल्ला लिग फुटबलको दोस्रो चरण अन्तर्गतको लिगका खेलहरु हुन लागेको जिल्ला महासचिव नरेन्द्र पुनले जानकारी दिए ।

मंगलबार सम्पन्न पहिलो चरणको लिगको खेलका आधारमा दोश्रो चरणको लिग हुन लागेको उहाँले बताउनुभयो । अब शनिबार लिग अन्तर्गतको दोश्रो चरणको पहिलो दिनको खेलमा अपराजित रहेका ३ वटा क्लब र १ खेलमा हार व्यहोरेको नवलपुर फुटबल एकेडेमी आमने सामने हुँदैछन् । जारी लिगमा अपराजित रहेका ३ वटा क्बलहरु एसएसएफए तुलसीपुर, सक्सेस क्बल तुलसीपुर, युएनबीसी घोराही र एक खेलमा हार व्यहोरेको नवलपुर फुटबल एकेडेमी आमने सामने हुन लागेका हुन् ।

यी क्लब बीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । जारी लिगमा उत्कृष्ट खेल पस्किरहेको ४ वटै क्बलले अंक तालिकामा थप सुधार गर्न तथा खेलको लय कायम राख्न निकै मेहनत गरिरहेका छन् । दाङ जिल्ला फुटबल संघका महासचिव पुनका अनुसार दोश्रो चरणको पहिलो दिन दिउँसो १२ बजे हुने खेलमा युएनबीसी र एसएसएफए आमने सामने हुँदा दिउँसो २ बजेपछि हुने अर्को खेलमा सक्सेस क्लब तुलसीपुर र नवलपुर फुटबल एकेडेमी बीच प्रतिष्पर्धा हुनेछ । यी क्लबहरुबीचको महाभिडन्तलाई हेर्न दर्शकहरु उल्लेख्य रुपमा उपस्थित हुने आँकलन गरिएको छ । लिगमा पहिलो चरणमा समान ४ खेल खेल्दै ३ वटा क्लबले १० अंक र नवलपुरले ९ अंक जोड्न सफल भएका छन् ।

यसअघि घोराही र तुलसीपुरमा खेलाइएको खेलहरु अब सबै घोराहीमै खेलाईने तय भएको दाङ जिल्ला फुटबल संघका उपाध्यक्ष बुद्धिराम पुनले बताए । बुधबार बेलझुण्डीमा भएको जिल्ला फुटबल संघको बैठकले जिल्ला फुटबल लिगका बाँकी सबै खेलहरु घोराहीको भरतपुर खेल मैदान मै खेलाउने निर्णय गरेको उपाध्यक्ष पुनले जानकारी दिए ।

पुस १४ गतेबाट शुरु भएको जिल्ला फुटबल लिगमा १० वटा क्लवले प्रतिष्पर्धा गरिरहेका छन् । अब दोश्रो चरणको लिगमा सबै क्बलले समान ५–५ खेल खेल्नछन् । यस अनुसार अब कुल २५ वटा खेल हुनेछ ।

Blog Post Ad

१० वटा क्लबले समान ४–४ खेल खेल्दै पहिलो चरणको लिग सकाउँदा तुलसीपुरको एसएसएफएले स्पष्ट ३ खेलमा जित र एक खेलमा बराबरी खेल्दै अंक तालिकाको शीर्ष स्थानमा छ । उसले १० अंक जोडेको छ । यस्तै समान १० अंक रहेको तुलसीपुरकै सक्सेस एफसीले पनि ३ खेलमा जीत र १ मा बराबरी खेल्दै अंक तालिकाको दोश्रो स्थानमा छ । अपराजित रहेको अर्काे क्लब घोराहीको युएनबीसीले पनि ४ खेलमा ३ मा जित र १ मा बराबरी खेल्दै १० अंकका साथ तालिकाको तेश्रो स्थानमा रहन सफल भएको छ ।

यस्तै, उत्कृष्ट खेल पस्किरहेको घोराहीको नवलपुर फुटबल एकेडेमीले पहिलो चरणको अन्तिम खेलमा युएनबीसीसँग पराजित हुँदै अंक तालिकाको चौथो स्थानमा अटाएको छ । उसले ४ खेलमा ३ मा जित र १ मा हार व्यहोर्दै ९ अंक जोडेको छ । यसैगरी, अंक तालिकाको पाँचौ स्थानमा राप्ती क्लब रहेको छ । उसले ४ खेलमा २ जित, १ बराबरी र १ मा हार खाँदै ७ अंक प्राप्त गरेको छ ।

यस्तै, ६ अंकका साथ तुलसीपुरको लक्ष्य एफसीले २ मा जित र २ मा हार व्यहोरेको छ । यसैगरी, अंक तालिकाको छैठौं स्थानमा रहेको किसान जागृत क्लबले ३ अंक जोडेको छ । उसले जारी लिगमा १ मा जित र ३ खेलमा व्यहोरेको छ । अंक तालिकाको सातौ स्थानमा युनाइटेड युथ क्लब रहेको छ । उसले पनि १ खेलमा जित र ३ खेलमा हार व्यहोर्दै ३ अंक जोडेको छ । पहिलो चरणको लिग सकिँदा अंक तालिकाको नवौँ र दशौँ स्थानमा रहेका न्यु स्टार एफसी र टाईगर युथ क्लब जित विहिन छन् । दुवै क्लब शून्य अंकका साथ अन्तिम दुईमा छन् ।

अन्तिम दुईमा रहेका दुई क्लबलाई रेलिगेशनबाट जोगिन अबका खेल अनिवार्य जित आवश्यक छ । जसका लागि शनिबारबाट हुन लागेको दोश्रो चरणको लिगमा लगातार हार व्यहोरेका तथा औसत नतिजा रहेका क्लबहरुले कडा मेहनत गर्नुपर्ने भएको छ । ग्रास रुटबाटै खेलाडी उत्पादन र क्लबहरुको खेल गतिविधि बढाउन एन्फाले पछिल्लो समय जिल्ला जिल्लामा फुटबल प्रतियोगिता गरिरहेको छ । यसले नयाँ खेलाडी उत्पादनसँगै खेलाडीहरुको खेल सुधारमा टेवा पुगेको खेल क्षेत्रका जानकारहरुको भनाई छ ।

जारी जिल्ला लिग पुस २९ गते सम्पन्न गर्ने तय भएको छ । यसअघि जिल्ला फुटबल नकआउट प्रतियोगिता गरेको दाङ जिल्ला फुटबल संघले उक्त प्रतियोगिताबाट २ वटा क्बललाई अर्काे वर्ष हुने जिल्ला लिगमा स्थान सुरक्षित गरेका छन् । जारी लिगमा सबै खेल सकिएपछि पुछारमा रहने २ वटा क्लब रेलिगेशनमा पर्नेछन् भने उक्त स्थानमा जिल्ला नकआउट फुटबलमा उत्कृष्ट भएका बडहरा युवा क्लब र ज्ञान ज्योति ईनोभेटिभ एकेडेमीले जिल्ला लिग खेल्नेछन् ।

लिग खेलिरहेका क्लबहरु रेलिगेशनमा पर्नबाट बच्नका लागि कडा अभ्यासका साथ लिग खेलिरहेका नवलपुर फुटबल एकेडेमीका अध्यक्ष दीपक पुनले बताए । लिगका अरु खेल सम्बन्धी तालिका बिहीबार प्रकाशन गरिने दाङ जिल्ला फुटबल संघले जनाएको छ ।

Blog Post Ad Blog Post Ad