शैक्षिक भ्रमण र मेरो पहिलो मुस्ताङ यात्रा !
कक्षा दश पढ्दै गर्दा मैले हिमाल पारिको जिल्ला भनेर मुस्ताङ र मनाङको बारेमा सुनेको थिएँ । सरले पढाउँदै गर्दा मुस्ताङ जिल्लामा हिन्दु धर्मको पवित्र मन्दिर मुक्तिनाथसँगै त्यहाँबाट देखिने मनोरम हिमाली क्षेत्रहरुको बारेमा सुनाउँदा मनमा एक खालको उत्सुकता थियो तर सर पनि नगएको हुँदा कितावमा लेखेको र सुनेको आधारमा भन्ने बाहेक केही थिएनन् ।
शायद अहिले जस्तो प्रविधिको समय भएको भए अहिले सरलाई पनि पढाउन सहज हुन्थ्यो होला । तर, त्यो बेला थिएन । त्यसमा पनि रोल्पामा झन् हुने कुनै भएन । सरले मुस्ताङ, मुक्तिनाथ र हिमालको बारेमा भनेको सुन्दा पनि मन बेग्लै आनन्द आउँथ्यो । कहिले जाउँला त्यो ठाउँ भन्ने लाग्दथ्यो । हिन्दु धर्मका पवित्रस्थल मन्दिर मुक्तिनाथ, हिमाल पारिको जिल्लाको दृश्य हेर्ने मनमा उत्कट चाहना मन सँधै थियो तर टाढा भएकाले एक्लै जान सक्ने अवस्था थिएन ।
मनको रहेको चाहना अन्ततः यसवर्ष जुर्यो । मुक्तिनाथ पुग्ने सौभाग्य मिल्यो । म अध्ययन गर्ने घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत सूचना प्रविधिमा अध्ययनरत विद्यार्थी शैक्षिक भ्रमणमा जाने अवसर मिल्यो । शुरुमा कहाँ जाने भन्ने छलफल भयो । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि इलाम, दार्जिलिङ, सिक्किम, काठमाडौ, पोखरा र दार्जिलिङ नगएर लुम्विनी, पोखरा, मुस्ताङको अवलोकनामा जाने बारेमा शिक्षक, विद्यार्थीहरुका विचमा छलफल भयो ।
विद्यार्थीहरु लुम्विनी, पोखरा, मुस्ताङसम्म जाने निधोमा पुगे त्यसपछि मेरो मनका इच्छा पुरा हुने देखेँ । घरपरिवार, साथीहरु हिक्कत र प्रविणलाई जादिन भनेका थिए । जव शैक्षिक भ्रमणको बस मंसिर २४ गते विद्यालयको गेटमा देखियो । मेरो मन यति प्रशंन्न भयो कि हिक्मतसँग जादिन भनेको मान्छेको मन नै बदलियो । अन्ततः शैक्षिक भ्रमणका लागि नपुग रकम हिक्मतसँगै सापटी लिएर म भ्रमणका हिँडे । त्यो क्षणलाई मैले हाम्रो पवित्र धार्मिकस्थल मुक्तिनाथसम्म सम्झे र हिक्मतको अमेरिका यात्रा सफल होस भनेर कामना पनि गरेँ ।
………………………………………………………………………………………………………………………………………..
मनको मुक्तिनाथ पुग्ने चाहना, मनिष साथी, एलिसा बहिनी, नविन नाथ, पूर्ण खत्रीलगायत साथी र सरहरुसँगको यात्रा अघि बढ्यो । हाम्रो पहिलो गन्तव्य थियोे, पोखराको फेवा ताल, तालबाराही मन्दिर, महेन्द्र गुफा घुम्योँ । पोखरा नेपालको प्रमुख पर्यटकीय केन्द्र हो । त्यही सुन्दर, रमणीय ठाउँको फेवा तालमा डुंगामा पहिलो पटक सयर गर्दा आनन्द प्राप्त भयो । पोखराको कार्यक्रम सकेर एक रात बसेपछि मंसीर २७ गते बिहान हाम्रो यात्रा मुक्तिनाथको लागि अघि बढ्यो । चिसो समयमा लामो र जोखिमपूर्ण यात्रा भएपनि साथीभाईहरुसँगको हाम्रोे यात्रा रमाइलो थियो । बाटोमा देखिने सुन्दर झरना, अग्लाअग्ला पहाड, जलविद्युत आयोजना, पहाडी जीवन बाँची रहेका स्थानीयको जीवनकथालाई नियाल्दै यात्रा अघि बढ्यो ।
करिव करिव ११-१२ घण्टाको बसको यात्रापछि हामी मुस्ताङ पुग्न सफल भयोँ । त्यहाँ निकै चिसो थियोे । रातीको समय भएकाले वरपरको वातावरण देखिएको थिएन । तैपनि पहिलो पटक मुस्ताङ पुगेकाले मन भने हर्षित थियो । साँझको खाना खाएर बिहान घुम्ने गरि हामी सुत्योँ । कोठामा सुतेको बेला मनमा भने बिहान कति बेला होला भन्ने मात्र थियो । सोेँच्दासोँच्दै कति बेला निदाएछु पत्तै भएन ।
अर्काे दिन बिहान उठ्दा उज्यालोे भैसकेको थियो । झ्यालबाट पर्दा उघारेर के हेरेको थिए । बिहानको समयमा हल्का घाम लाग्ने बेला टलक्क छल्एिका सेता हिमालले हाम्रो भव्य स्वागत गरिहरेका थिए । मन मेरो यति प्रशन्न भयो की म त्यो चिसोको ठाउँमा ज्याकेट नलगाएरै हिमाललाई आँखाभरी सजाउन बेपरवाह बाहिर निस्किएँ । मैले त्यो बाहिरको दृश्य हेरेर निकै रमाएँ । चारैतर्फबाट हिमालले घेरेको त्यो दृश्य देख्न पाउँदा मलाई त्यो समय स्वर्ग भन्दा कम लागेन । मैले केही नसोँचीकन मोवाईल निकालेर त्यहाँको सबै दृष्यलाई क्यामेरामा कैद गरेँ । मोवाइलको क्यामरा राम्रो नभएर मलाई त्यो समय धरै नै पछुतो लाग्यो । मनमनै सोँचे थएकी अर्को पटक आउने मौका मिल्यो भने म डिएसएलआर क्यामेरा लिएर आउँछु ।
केही समयको अन्तरालमा हामी बसेको होटेलबाट मुक्तिनाथ मन्दिरको तिर लाग्योँ । सबै साथीहरुले पूजाको सामान किन्योँँ । केही क्षणको अन्तरालमा कागबेनी हुँदै अघि बढेको हाम्रो यात्रा अन्ततः अन्तव्यमा पुग्यो । हामी मुक्तिनाथ मदिर परिसरमा पुग्न सफल भयोँ । करिब ६-७ मिनेटको यात्रापछि हामी मुक्तिनाथको सिँढी नै चढ्न लागेको थियो । मुक्तिनाथको १०८ ओटा धारा पनि हामीले देख्न पायौँ । धेरै नै रमाईलो लागेको थियो । त्यहाँको वातावरण धेरै चिसो, सायद त्यहाँ मेरो लागी अमूल्य चिज भनेको नै तातो पानी हुँदो हो । धेरै साथीभाईहरु त्यो चिसो पानीलाई चिसो नभनी हिन्दु मान्यता अनुसार आफुले गरेको पाप नुहाईरहेका थिए । म भने धर्ममा भन्दा कर्ममा विश्वास गर्ने सोचको मान्छे भएको हुँदा नुहाईन । आफ्नै तरिकाले मन्दिरहरुको तस्विर खिच्ने र दृश्य अवलोकनमा लागेँ ।
……………………………………………………………………………………………………………………………………………….
मुस्ताङको यात्रा जीवनकै अविष्मरणीय बन्यो, हल्का घामको रोशनी भुल्केपछि हामी हिउँ खेल्नतर्फ लाग्यौँ । कुरामा सुनेका, सपनामा देखेको, कितावमा पढेको ति हिमाल, सुन्दर दृश्य । आफ्नो आँखाले नजिकैवाट देख्न पाउँदा , हातले छुन पाउँदा मनलाई धेरै नै आन्नद आएको थियो । साथीहरु हिउँ खेल्न आईरहेका थिए । हाम्रो समुह भने केही अघि थियो । साथीहरु त्यँहा गएर फोटो खिच्नमा व्यस्त थिए भने म भने जति सक्यो हिमालको नजिकतर्फ अघि बढ्न लागेँ । हिमाल चढ्ने क्रममा काठमाडौबाट घुम्न आएका दुई दाजुहरुसँग पनि मेरो भेट भयो । हामीसंगै हिमाल चढ्न तर्फअघि बढ्योँ । साँच्चिकै त्यो यात्रा धेरै नै रमाईलो थियो । केही समयपछि हामी तल आयोँ । अग्लो हिमालको बिचैमा मन्दिर रैछ हामीले त्यसलाई टाडाबाट देख्यौँ । र हामी त्यहाँ जाने निधो गर्योँ । आफ्ना पाइलाहरु .अघि बढायौँ । त्यसक्रममा हामीले एक जना पहेँलो कपडा लगाएको, उमेर करिव ५६-५७ वर्षको दारी लामो भएको एक बाबालाई भेट्यौँ ।
उनी मन्दिरको पूजारी रहेछन् । उनीसँग त्यस ठाउँको बारेमा बुझ्दै अघि बढ्यौँ । उनीसँग हामी कुरा गर्दै मन्दिरमा गयौँ । मन्दिरको पूजारीसँग मैले धेरै कुराहरु बुझ्ने अवसर पाएँ । उनले मलाई धेरै नै अमुल्य कुरा सिकाए । केही बेरपछि हामी मन्दिरमा पुग्यौँ । त्यहाँ अर्का एक पुजारीसँग भेट्यौँ । उनको आशिर्वाद लियौँ । मैले मेरा कलेजको साथीभाईहरुलाई पनि माथि हिउँमा खेल्न लागेको देखेँ । मनमा बेग्लै उत्साहको सञ्चार भईरहेको थियो । त्यहाँ भेटिने मानिसहरुसँग त्यहाँको बारेमा जानकारी लिने गर्दथेँ । मन्दिरका पूजारीले जडीबुटीबाट बनाएको तातो चिया पिउन दिए । आफुले पनि पिए । त्यही चियाको चुस्कीसँगै हामीले मुस्ताङ, मुक्तिनाथलगायतका बारेमा धेरै जानकारी लिन पायोँ ।
सरको फोन आएपछि म त्यहाँबाट फर्किएँ । पूजारी बाबासँग विदा माग्दै साथीहरु भएको ठाउँतिर लागेँ । जीवनमा एक पटक पुग्ने सोँचेको ठाउँमा पुग्दाको आनन्दलाई भरपुर रुपमा लिन चाहन्थे त्यही अनुसार म त्यहाँको अवस्थाका बारेमा जिज्ञासु थिएँ । मुक्तिनाथमा त्यो यात्राको अझ धेरै मसयसम्म भईदिए हुन्थ्यो भन्ने लागेको थियो । तर समयको घेराभित्र रही त्यहाँ पुगेका हामीलाई फर्किनुको विकल्प थिएन । त्यहाँको प्राकृतिक सुन्दर, भूबनोट, मन्दिर, मनोरम दृश्य र मानिसको आतिथ्यतालाई मनभरी राख्दै मुक्तिनाथसम्मको यात्रा पूरा गर्दै पुनः फर्कियोँ । फर्किँदै गर्दा फेरी पनि आउने मनमा वाचा गरेर म पनि फर्किएँ ।