Ad Area

खाद्यान्नमा आत्मनिर्भर दाङ


घोराही २५, पुस । दाङमा उत्पादन हुने खाद्यान्नले स्थानीय माग धानेर बचत हुने गरेको पाएको छ । यहाँ उत्पादन हुने खाद्यान्नले जिल्लाको खाद्यान्नको माग पूरा गरेर पनि बचत हुने गरेको कृषिको तथ्यांकले देखाएको छ । कृषि ज्ञान केन्द्र दाङको आर्थिक वर्ष २०७७÷०७८ को तथ्यांकअनुसार खाद्यान्न पुगेर पनि बचत हुने गरेको छ । जिल्लामा उत्पादन हुने सबै खाद्य वस्तु उपयोग गरेमा खाद्यान्नमा आत्मनिर्भर भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए ।

आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा उपभोग्य खाद्यान्न १ लाख ६४ हजार ६ सय ९३.८८ मेट्रिक टन रहेको थियो । जिल्लाका लागि १ लाख १४ हजार २ सय ५८.६० मेट्रिक टन आवस्यक पर्ने गरेको छ भने ५० हजार ४ सय ३५.२७ मेट्रिक टन खाद्यान्न बचत रहेको थियो । प्रतिव्यक्ति १ सय ८१ केजी खाद्यान्न आवश्क पर्ने कृषि अर्थ विज्ञ लामिछाने बताउँछन् । प्रतिव्यक्ति खाद्यान्न बचत ०.०८ प्रतिशत रहेको उनी बताउँछन् ।

अघिल्लो वर्ष जिल्लाको जनसंख्या ६ लाख ३१ हजार २ सय ३६ रहेको अनुमान गरिएको थियो । राष्ट्रिय जनगणना २०६८ को आधारमा जिल्लामा वार्षिक जनसङख्या वृद्धि १.७८ प्रतिशत भएको मानिएको छ । गत आर्थिक वर्षको तथ्याङक अनुसार जिल्लामा कुल खाद्यान्न १ लाख ८४ हजार ४ सय ९३.८८ मेट्रिकटन रहेको लामिछानेले बताए । जसमध्ये पशुको आहारामा १९ हजार ८ सय मेट्रिक टन प्रयोग हुने गरेको छ । बाँकी १ लाख ६४ हजार ६ सय ९३.८८ मेट्रिक टन भएको थियो ।

जिल्लामा धान, मकै, गँहु, कोदो, जौ र फापर खाद्यबाली लगाइने गरिएको छ । “सबै प्रकारका खाद्यान्न उपयोग गरेमा खाद्यान्नमा जिल्ला आत्मनिर्भर रहेको छ” कृषि अर्थ विज्ञ लामिछानेले भने । कुल खाद्यान्न उत्पादन जिल्लाको जनसंख्याका लागि आवश्यक पर्ने खाद्यान्नको आधारमा हेर्दा आत्मनिर्भर रहेको उनी बताउँछन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा ३९ हजार हेक्टरमा धान खेती गरिएकोमा १ लाख ६७ हजार ७ सय मेट्रिक टन उत्पादन भएको थियो । जसमा क्षति, बिउका लागि तथा प्रशोधन अन्यका कटाएर ९२ हजार २ सय १४.९० मेट्रिक टन भएको थियो । मकै २४ हजार ९ सय हेक्टरमा खेती गरिएको थियो । जसमा ६९ हजार ७ सय २० मेट्रिक टन उत्पादन भएको थियो ।

यसरी उत्पादन भएको मध्ये क्षति, बिउका लागि प्रशोधन अन्यका लागि कटाएर ५९ हजार ७ सय ७८.६८ मेट्रिक टन भएको थियो । गहु १२ हजार ६ सय ९० हेक्टरमा खेती भएको थियो । जसमा ३९ हजार ३ सय ३९ हजार मेट्रिक टन उत्पादन भएको थियो ।यसरी उत्पादन भएको मध्ये क्षति, बिउ प्रशोधन अन्य गरी कटाएर ३२ हजार ४ सय ४२.९५ मेट्रिक टन भएको थियो । कोदो १५ हेक्टरमा खेती भएको थियो । जसमा १८ मेट्रिक टन उत्पादन भएको थियो ।

यसरी उत्पादन भएको मध्ये क्षति, बिउ, प्रशोधन तथा अन्य प्रयोजन गरी कटाएर १५.११ मेट्रिक टन भएको थियो । जौ १५ हेक्टरमा खेती गरिएको थियो । जसमा २९ मेट्रिक टन उत्पादन भएको थियो । यसरी उत्पादन भएको मध्ये क्षति, बिउका लागि, प्रशोधन तथा अन्य प्रयोजनका लागि कटाएर २०.५८ मेट्रिक टन भएको थियो । फापर २० हेक्टरमा खेती गरिएको थियो । जसमा २६ मेट्रिक टन उत्पादन भएको थियो । यसरी उत्पादन भएको मध्ये क्षति, बिउका लागि प्रशोधन, तथा अन्य प्रयोजन लागि कटाएर २१.६७ मेट्रिक टन भएको थियो ।

जिल्लामा उत्पादन हुने खाद्यान्नले पुग्ने भए पनि अन्य जिल्लाबाट चामल आयात हुने गरेको छ । मसिनो चामल खानका लागि बाहिरबाट चामल आयात गरिने गरेको बताइएको छ । सबैले चामल बाहेक मकै, गहँु, कोदो फापर उपयोग कम गर्ने भएकाले पनि बाहिरबाट चामल आउने गरेको कृषि अर्थ विज्ञ लामिछाने बताउँछन् ।जिल्लामा उत्पादन भएको चामल पहाडी जिल्लामा समेत खपत हुने गरेको उनको भनाइ छ । “जिल्ला खाद्यान्नको लागि परनिर्भर हुनुपर्ने बाध्यता छैन” उनले भने