Ad Area

मुक्त कमलरी विकास मञ्चको पञ्चवर्षीय रणनीति पारित


घोराही २७, पुस । मुक्त कमलरी विकास मञ्चको ११ औँ वार्षिक साधारणसभा, सामाजिक लेखाजोखा तथा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी केन्द्रीय अध्यक्ष शान्ति चौधरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा सोमबार केन्द्रीय कार्यालय घोराहीमै कार्यक्रम गरिएको छ ।

सो अवसरमा मञ्चमा सबै जिल्लाबाट प्रतिनिधिहरु सहभागी भएका थिए । कार्यक्रममा दाङसहित बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्तकमलहरु सहभागी भएका थिए । उनीहरुले राज्यले मुक्तकमलरीहरुको उद्धारमा खेलेको भूमिकाका कारण जीवन बदल्न सहयोग गरेपनि अझै पुनस्र्थापनाको काम बाँकी रहेकाले यस विषयलाई ध्यान दिन अपिल गरेका छन् । राहत र पुनस्थापनाको काम अधूरो रहेकाले चाँडो भन्दा चाँडो समस्या समाधान गरी सरकारले मुक्त कमलरीहरुलाई सहयोग गर्न अपिल गरे ।

सो अवसरमा कार्यवाहक नगरप्रमुख न्यौपानेले मुक्त कमलरीहरुका लागि स्थानीय सरकारका तर्फबाट आयआर्जन र सीपमूलक कामका लागि सहयोग हुँदै आएको र आगामी दिनमा थप काम पनि गरिने बताईन् । सीपयुक्त जनशक्ति उत्पादनमात्रै नभई सामाजिक क्षेत्रमा पनि मुक्त कमलरी विकास मञ्चले खेलेको भूमिकाकै कारण गाउँ समाजमा बालविवाह, लागू पदार्थ दुर्व्यसन न्यूनीकरणमा टेवा पुगेको बताईन् । यस्तै, विपन्न तथा आश्रय चाहेका महिलाहरुको पक्षमा काम गरे संस्थाले ठूलो गुन लगाएको बताईन् ।

यसैबीच, साधारणसभाको बन्द सत्रले आगामी कार्यक्रम र संस्थागत रणनीति पनि तय गरेको छ । जस अनुसार प्रस्तावित भ्रष्टाचार नियन्त्रण सम्बन्धि नीति, पञ्च वर्षीय पैरवी नीति २०७८–०८२, संस्थाको रणनीतिक योजना सम्बन्धि रणनीतिलाई पारित गरेको छ ।

हालसम्म संस्थाले संचालन गरेका काम र योजनाका सबल पक्षलाई माथि उठाउने तथा सुधारका लागि गर्नुपर्ने कामका बारेमा संस्थागत विकासको योजना तय पनि गरेको छ । जसका लागि आगामि ३ वर्षको क्षमता विश्लेषण योजना पनि तय भएको छ । कार्यक्रममा सचिवको प्रतिवेदन केन्द्रीय सचिव निर्मला चौधरी, कोषाध्यक्षको प्रतिवेदन केन्द्रीय कोषाध्यक्ष विष्णु चौधरीले प्रस्तुत गरेकी थिईन् । संस्थापक अध्यक्ष मंजिता चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण कार्यक्रम प्रवन्धक माधवराज चौधरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad