Ad Area

समस्या उत्पादन गर्दै सिमेन्ट उद्योग


घोराही २७, पुस । घोराही सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवाँ र ध्वनि प्रदूषण नियन्त्रण गर्नेतर्फ ध्यान नदिँदा अहिले स्थानीयबासी सास्ती भोग्न बाध्य छन् । घोराही उपमहानगरपालिका–४ मा रहेको सिमेन्टको धुलो, धुवाँ र ध्वनिले आजित भएपछि त्यहाँका स्थानीयबासीले उद्योग प्रभावित वातावरण संरक्षण तथा सरोकार समिति नाम दिएर २०७१ सालदेखि निरन्तर आन्दोलन गर्दै आएपनि सार्थक समाधान हुन सकेको छैन ।

सिमेन्ट उद्योग प्रभावित स्थानीय सरोकार समिति, फियान नेपाल, खाद्य अधिकार सञ्जालले घोराही उपमहानगरपालिका वडा नम्बर–४ मा सोमबार आयोजना गरेको छलफल कार्यक्रममा घोराही–४ लक्ष्मीपुरका स्थानीयवासी पोष्टबहादुर डाँगीले उद्योगकै कारण अब खेतीपाती गरेर खान नसकिने अवस्था आएको दुखेसो पोखे । ‘बारीमा तरकारी रोपे पनि खान मिल्दैन । तरकारीको पातभरि सिमेन्टको धुलो जमेको हुन्छ, हेर्नुमान हुन्न,’ उनले भने, ‘पहिले गाउँमा कति धेरै फलफूलहरु उत्पादन हुन्थ्यो तर अब सबै फल लाग्दै गर्दा झरेर जान्छन् केही पनि फल्दैन ।’

उद्योग नजिकका स्थानीयबासी एवम् वातावरण सरोकार समिति अध्यक्ष भरतराज देवकोटोले उद्योग चौबिसै घण्टा चल्ने र रातको समयमा बढी ध्वनि र धुवाँ निकाल्ने हुँदा आफूहरुलाई निदाउनै मुस्किल भएको बताए । ‘हामीले उद्योगलाई बारम्बार राति ६ घण्टा मात्रै भए पनि ध्वनि रोक्नुस् भनेका होँ तर हामीले भन्ने उसले सुन्ने बाहेक केही हुन सकेन,’ उनले भने, ‘उद्योगबाट निस्कने धुवाँ बढेको हुँदा बाँच्नै मुस्किल परेको छ ।’

स्थापनाकालमा एक हजार दुई सय मेट्रिक टन प्रतिदिन सिमेन्ट उत्पादन गर्ने उद्योगले अहिले दैनिक चार हजार मेट्रिक टन उत्पादन गर्न थालेको छ । उद्योग नजिकै रहेको श्री मावि डाडाँगाउँ विद्यार्थीहरु पनि आफुहरुमा विभिन्न खालमा समस्या आउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उद्योग स्थापनापछि विद्यार्थीमा शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने जस्ता समस्या देखिएको उनीहरुको अनुभव छ । उद्योग छेउमै रहेको स्वास्थ्य चौकीमा यसखालका बिरामी धेरै आउने गरेको स्वास्थ्यकर्मीको भनाई छ । अहिले दैनिक जसो ८–१० जना स्थानीयहरु स्वासप्रस्वास सम्बन्धि समस्या लिएर उपचारका लागि आउने गरेको स्वास्थ्य चौकी डाँडागाउँ गोग्लीले जनाएको छ ।

Blog Post Ad

सिमेन्ट उद्योगबाट उत्सर्जन हुने धुवाँ, धुलो र ध्वनि प्रदुषणका कारण गोग्ली, सुनपुर, लक्ष्मीपुर, बर्गद्दा, बेलभारलगायतका नागरिकहरुले स्वस्थकर साससमेत फेर्न पाउन छाडेका स्थानीय मुना भण्डारीले बताइन् । ‘अहिले पानीका मुहानहरु सुक्दै गएका छन् भने कृषि उत्पादनमा ह्रास आईरहेको छ, वर्षामा पानी हुने भएपनि हिउँद लागेसँगै पानीका श्रोत सबै सुक्दै गएको छ,’ उनले भनिन् ।

स्थानीय दिलबहादुर घर्ती उद्योगभित्र ठुलो पावरका पाँचवटा डिप बोरिङ राखिएकाले आफ्नो बस्तीहरुमा पानीका मुहानहरु सुक्न थालिसकेको बताए । कैयौँ वर्षदेखि नसुकेका कुवाहरुमा सुक्न थालेका उहाँको भनाई छ । यस्तै घोराही ४ कै मनि डाँगीले रातको निद्रा र दिनको सन्तुष्टि उद्योगको प्रदुषणले खोसेको बताए ।

उनले भने, ‘हामीले कपडा धोएर सुकायौ भने कपडामा सिमेन्टले धुलो लागेर लगाउन सक्ने अवस्था हुँदैन, स्वस्थकर स्वास फेर्न पनि नपाउने भयौँ ।’ यस्तै मनोज सुवेदीले दुना टपरी खुट्न जंगलबाट ल्याएको पातसमेत सिमेन्टको धुलोले प्रयोग गर्न मिल्ने अवस्थाका नरहेको बताए । सिमेन्ट उद्योगले प्रभाव पार्ने क्षेत्रमा हाल करिव चार हजार पाँच सय परिवार बस्दै आएका छन् ।

क्षणिक आर्थिक लाभ लिने नाममा स्थानीय जनतालाई रोगको सिकार बनाएको उनीहरुको तर्क छ । ‘सिमेन्ट उद्योगले कोही कसैलाई सिमित फाईदा भयो होला तर, यसले धेरै नोक्सान गरेको छ,’ स्थानीय टेकबहादुर थापाले भने । संविधानले दिएको हक व्यवहारिक कार्यान्वयन त परै जाओस् नागरिकको आधारभूत स्वास्थ्यमा पनि ध्यान नदिएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । स्थानीय शशिधर पन्तले सिमेन्ट उद्योगले आफुहरुलाई उठीबास लगाउने अवस्थामा पुर्याएको बताए ।

सिमेन्ट उद्योगका जनप्रशासन शाखाले भने सिमेन्ट उद्योग सरकारबाट तोकिएको मापदण्डको पूर्ण दायरामा रही सञ्चालनमा रहेको बताउँदै आएको छ । स्थानीय नागरिकलाई क्षमता र सीपका आधारमा रोजगारी दिने, सामाजिक उत्तरदायित्व वहन गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनमा सजग रही वृक्षारोपणलगायत प्रदूषण नियन्त्रणमा अत्यन्तै गम्भीर भई सिमेन्ट उद्योग सञ्चालन भइरहेको बताउने गरेको छ ।

उद्योगमा जडित उपकरण र त्यस वरपरको वातावरण मापदण्डभित्र रही उद्योगलाई हरित बनाउने काम भएकाले उद्योग शतप्रतिशत ठीक ढङ्गले सञ्चालन भइरहेको उद्योगको दावी छ । खाद्य अधिकार सञ्जालकी अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको छलफलमा यसअघि उच्च अदालत तुलसीपुरले गरेको फैसला कार्यान्वयनमा उद्योग अघि बढेको छ छैन भन्ने विषयमा पनि स्थानीयसँग धारणा लिईएको थियो । स्थानीयले उद्योगका तर्फबाट कुनै काम नभएको भन्दै फैसला कार्यान्वयनका लागि अब वृहत आवाजको आवश्यकता रहेको बताए ।

सो अवसरमा घोराही मुर्कुटी सडक सरोकार समिति संयोजक नारदमणि पोख्रेलले आफुहरु पनि सिमेन्ट उद्योगका टिप्परका कारण आजित भएको भन्दै राज्यको नीति नियमले जनताले दुख पाउनु पर्ने अवस्था आएको बताए । फियान नेपालका लुम्बिनी प्रदेश संयोजक सुरेश गौतमले स्थानीय नागरिकहरुको वर्तमान अवस्थाका बारेमा राज्यले कुनै पनि ढंगबाट सम्बोधन गर्नुपर्ने बताए ।

नागरिकको अधिकारलाई कुण्ठित गरेर राज्यले कोही कसैलाई बढावा दिन नमिल्ने हुँदा उत्पन्न समस्या समाधानका लागि सबैले आआफ्नो स्थानबाट पहल र पैरवी गर्नुपर्ने बताए । ‘सिमेन्ट उद्योगकै कारण पछिल्ला वर्षहरुमा सो क्षेत्रमा कृषि उत्पादन घट्दै जानुभनेको नागरिकको खाद्य अधिकार कुण्ठित भएको हो, यो गम्भिर विषयमा सबैले सार्थक पहल गरौँ, समाधान खोजौँ,’ उनले भने । सञ्जालका उपाध्यक्ष विनोद केसीले सहजीकरण गरेको कार्यक्रममा वडा अध्यक्ष भीमबहाद्ुर सार्कीले स्थानीयको जायज माग सम्बोधनमा वडा, पालिकाले निरन्तर पहल गर्दै आएको बताए ।

Blog Post Ad Blog Post Ad