Ad Area

दाङमा थपिए ३० हजार बढी मतदाता, सूचीकरण कार्यक्रम जारी


घोराही २८, पुस । स्थानीय तहको निर्वाचनको मिति तोक्ने दिन नजिकिँदै गर्दा जिल्लामा नागरिकहरु फोटोसहितको मतदाता नामावली दर्ता गराउन उत्साहित छन् । बिहानैदेखि बेलुकी अबेरसम्म पनि दैनिक रुपमा मतदाताहरु लाईनमा बसेर नाम दर्ता गराउन तल्लीन भएका छन् । उमेरले ८० पार गरी सकेकादेखि भर्खरै १६ वर्ष पुगेका किशोरहरु पनि मतदाता परिचय पत्रमा आफ्नो नाम समावेश गर्न निर्वाचन कार्यालय आउने गरेको देखिन्छ । कोरोना महामारीको जोखिम बढेको बेलामा यसरी भीडभाड गरेरै भएपनि मतदाता परिचय पत्र बनाउनेको संख्या उत्साहजनक देखिएको छ ।

आईतबार प्रदेश निर्वाचन कार्यालयमा बिहानै आफन्तसँग आएकी घोराही ८ दुन्द्राकी ८१ वर्षीया निमा बस्नेतले दिउँसो मात्रै मतदाता परिचय पत्रमा आफ्नो नाम दर्ता गराईन् । जिल्लाका विभिन्न पालिकाबाट मतदाता परिचय पत्र बनाउन आउनेहरुले दिनभरको सकस सहँदै भएपनि आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने आशामा मतदाता परिचय पत्र बनाईरहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ जमेराका ज्योति चौधरी बिहानै साथीहरुसहित घरबाट निस्किएपनि बेलुकी पौने आठ बजेसम्म जिल्ला प्रशासन कार्यालयको परिसरमा लाईनमै भेटिए । दिनभरको प्रतिक्षापछि बल्लतल्ल उनको पालो आउँदै थियो । ठूलो भीड सकिएपछि आफ्नो पालो आएको चौधरीले बताए । अर्का तुलाराम चौधरीले पनि उनीसँगै अन्ततः मतदाता परिचय पत्रमा नाम समावेश गराउन सफल भए । ‘पहिलो गाउँपालिकामा गएको टोलीका बारेमा कसैले भनेनन् त्यहाँ गएको रहेछ, भनि दिने कोही नुहँदा घोराहीसम्म धाउने अवस्था आयो’ चौधरीले लाईनमा उभिँदै भने, ‘काममा जाने हामीलाई यो बनाउनुपर्छ भन्ने पनि हेक्का भएन अर्को वडामा पनि जानकारी गराईएन ।’

यस्तै, अर्को लाईनमा थिईन्, रीता चौधरी । तुलसीपुर १७ मानपुरबाट बिहानै मतदाता परिचय पत्र बनाउन आएकी उनले घरमा १ वर्षे छोरालाई छाडेर आएको बताईन् । यति ढिलो होला भन्ने सोँचेन, यहाँ त ठूलो भीड रहेछ, दिन बित्यो घरमा बच्चाको हालत के भएको होला ? आत्तिँदै रीताले भनिन ।

प्रदेश निर्वाचन कार्यालय परिसरमा सोमबार दिउँसो भेटिए, घोराही ११ हापुरका ७३ वर्षीय डिल्ली बहादुर रोका । उनी पनि आफ्नी श्रीमती लालमति रोकासँगै मतदाता परिचय पत्र बनाउन आएका थिए । ‘पहिले बनाईएन, के काम होला भन्ने थियो । अब चाहियो भनेर सबैले दिन दिनै भन्न थाले, नबनाए सेवा सुविधा नपाईने भन्छन्, वडाबाट पनि केही पाईदैन भनेपछि हामी बुढाबुढी आएका हौँ, रोकाले भने, पहिले त केही चाहिँदैनथ्यो अब त के के हो के के ? सायद यही हो क्यो हो , नयाँ नेपाल ।’

Blog Post Ad

बंगलाचुली गाउँपालिकाका ५६ वर्षीय सुर्यबहादुर बोहरा लामो समय कतार बसे । उनी घर आएको एक वर्ष भयो । अहिले उनलाई मतदाता परिचय पत्र बनाउनु परेको छ । सोमबार लाईनमा भेटिएका बोहराले सबैले बनाउनुपर्छ भनेपछि बनाउन आएको बताए । उता, घोराही ११ हापुर, गणेशपुरका ७० वर्षीय पानसरी घर्तीले बुढेसकालमा मतदाता परिचय पत्र बनाउन आएको बताईन् ।

घोराही ११ खैरा की सुमित्रा चौधरी डेढ वर्षे छोरा लिएर लाईनमा उभिएकी थिईन् । बिहानै आएकी उनको अपरान्ह ४ बजे पालो आयो । अर्की घोराही १६ की कल्पना भण्डारीले पनि २ वर्षे छोरा काखमा च्यापेरै मतदाता परिचय पत्र बनाउन आएकी थिईन् । ‘सबैले भोट हाल्नुपर्छ हाम्रो अधिकार हो भनेपछि आएको हुँ’ भण्डारीले भने ‘यो पटक बनाएको परिचय पत्रले अरु ठाउँमा पनि काम गर्छ भनेको सुनेको छु ।’

उसो त केही दिनसम्म बिहानै गाउँगाउँबाट ठूलो संख्यामा बस नै रिजर्व गरेर राजनीति दलहरुले मतदाता परिचय पत्र बनाउन ल्याउनेको संख्या उल्लेख्य थियो । अहिले ठूलो संख्यामा नागरिकहरु मतदाता नामावली बनाउन प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयमा पुगिरहेका छन् । केही दिन अघिसम्म पालिकास्तरका केन्द्रहरुमा पनि यस्तै भीड लागेको थियो तर नामावली दर्ता नसकिँदै पालिकास्तरमा दर्ता कार्य अभियान सकिएपछि प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश घोराहीको कार्यालयमा ठूलो भीड लागेको छ ।

कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दैनिक एक हजारभन्दा बढीले मतदाता परिचय पत्रका लागि आवेदन दिने गरेका छन् ।
उनले भने, ‘निर्वाचनको मिति तोकिएको छैन । नागरिकहरु मताधिकार सुरक्षित गर्न उत्साहित देखिनुभएको छ । यसरी एकै पटक नआएर बिस्तारै नाम दर्ता गराउन आउँदा पनि हुने हो तर स्थानीय राजनीतिक दलले पनि हतार गरे जस्तो देखिन्छ, उहाँहरुले नै गाडी रिजर्व गरेर गाउँगाउँबाट ल्याउने गर्नुभएको छ ।’

राजनीतिक पार्टीहरुले यसमा सहजीकरण गरेपनि एकै पटक हुँदा कार्यालयमा चाप परेको बताए । सिमित कर्मचारी र स्रोत साधनका बीच धेरै चाप बढेपछि काम गर्न हम्मेहम्मे भएको उनले बताए । घोराहीस्थित कार्यालयका पाँचजना कर्मचारी काममा खटिएका छन् । जिल्लाभरि ११ जना कम्प्युटरमा दर्ता गर्न आवद्ध छन् ।

पालिकामा १० हजार ५ सय ५६ जनाले नाम सूचीकरण गरे

दाङमा मंसीर १७ गतेदखि पुस २ गतेसम्म तथा पुस ४ गतेदेखि १८ गतेसम्म ७ वटा पालिकामा संचालन गरिएको मतदाता परिचय सूचीकरण अभियानमा साढे १० हजारले सूचीकरण गरेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका कार्यालय प्रमुख निमराज भट्टराईका अनुसार सबैभन्दा धेरै बबई गाउँपालिकामा सूचीकरण भएको छ भने सबैभन्दा कम बंगलाचुली गाउँपालिकामा सूचीकरण भएको छ ।

उनका अनुसार मंसीर १७ गतेदेखि पुस २ गतेसम्म भएको अभियानमा दंगीशरण गाउँपालिकामा १ हजार १ सय ८१, बंगलाचुली गाउँपालिकामा ५ सय ५४, बबई गाउँपालिकामा २ हजार २ सय २३, शान्तिनगर गाउँपालिकामा २ हजार १ सय ३ जनाले मतदाता परिचय पत्रका लागि सूचीकरण गरेका छन् । यस्तै, दोश्रो चरण अन्तर्गत गढवा गाउँपालिकामा १ हजार ५ सय ७६, राजपुर गाउँपालिकामा १ हजार १ सय ६९ र राप्ती गाउँपालिकामा १ हजार ७ सय ५० जना गरी पालिकामा १० हजार ५ सय ५६ जनाले आफ्नो नाम सूचीकरण गरेका निर्वाचन अधिकारी भट्टराईले बताए ।

यस्तै, प्रदेश निर्वाचन कार्यालयबाट मंगलबारसम्म १९ हजार बढीले मतदाता परिचय पत्रका लागि आवदेन दिएको उनले बताए । यसरी हेर्दा जिल्लामा पछिल्लो समय करीव ३० हजार बढी मतदाता थपिएका छन् । फोटो सहितको मतदाता नामावली संकलन जारी रहँदा डेढ महिनाको अवधिमा साढे ३० हजार बढी मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । यो संख्या भदौबाट शुरुभएको मतदाता परिचय पत्र बनाउनेको संख्या बाहेकको हो । ती संख्या जोड्ने हो भने अझ बढ्ने देखिएको छ ।

दाङमा अहिले पनि दैनिक ठूलो संख्यामा मतदाता नामावलीमा नाम दर्ता हुँदै आएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए पालिका अन्तर्गतको अभियान सकिएपछि पालिकामा छुटेकाहरु अहिले प्रदेश निर्वाचन कार्यालय घोराही, जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीमा जाने गरेका छन् । यी कार्यालयबाट नियमित मतदाता नामावली संकलनको काम भईरहेको छ । निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा नागरिकहरुको भीड लाग्ने गरेको हो । विशेष अभियान शुरु हुनुपूर्व दाङमा तीन लाख ७७ हजार पाँच जना मतदाताले आफ्नो नाम दर्ता गराएको तथ्यांक छ ।

जिल्लामा अब कुल चार लाख ७ हजार बढी मतदाता भईसकेको सूचना अधिकारी कुँवरले बताए । ईलाकाबाट लिइएको विवरणको यकिन तथ्यांक आउन बाँकी रहेकाले यो संख्या अझ बढ्ने उनले बताए । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति नतोकुञ्जेल मतदाता परिचय पत्र बनाउने कार्यक्रम जारी रहने भएकाले छुटेका कुनै पनि योग्य नागरिकले मतदाता परिचय पत्र बनाउन प्रदेश निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad