Ad Area

दाङमा फेरि शुरु भयो तपाईंको मास्क खोई ? अभियान


घोराही २८, पुस । जिल्लामा बढ्दो कोरोना जोखिमलाई मध्येनजर गर्दै दाङ प्रहरीले फेरि तपाईंको मास्क खोई ? अभियान शुरु गरेको छ ।

कोरोनाका संक्रमित तीव्र रुपमा बढी रहेका बेलामा नागरिकले स्वास्थ्थ्य सावधानी नअपनाउने, सार्वजनिक स्थलमा जाँदा मास्क नलगाउने क्रम बढेपछि प्रहरीले नागरिकको स्वास्थ्य सुरक्षाका लागि आज बुधबारबाट जिल्लामा तपाईंको मास्क खोई ? अभियान फेरि शुरु गरेको हो । गत वर्ष पनि कोरोनाको तीव्र संक्रमण बढेका बेला जिल्लामा प्रहरीले यही अभियान चलाउँदै नागरिकलाई सचेत गराएको थियो ।

बजारमा हिँड्ने पैदल र सवारीसाधनका यात्रुमा मास्क लगाउने बानीको विकास गर्न तथा कोरोनाको जोखिमबाट बच्न ‘तपाईंको मास्क खोई’ अभियान शुुरु गरिएको छ ।

सडकमा खटिने प्रहरीलाई ‘तपाईंको मास्क खोइ’ लेखेको प्लेकार्ड दिएर त्यसबाटै यात्रुहरुलाई सचेत गराउने अभियान सुरु भएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए । कोरोना संकट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले केही महिना अघि लकडाउन अन्त्य भएसँगै नागरिकले मास्क लगाउन छाडेको र लापरवाही बढेपछि अहिले जोखिम पनि उत्तिकै थपिएपछि सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियानको फेरि थालनी गर्नुपरेको बताए ।

मंगलबार मात्रै जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट कोरोनाको जोखिमलाई लिएर माघी मेला महोत्सव तथा भीडभाडजन्य काममा रोक लगाउने निर्णय गरिएको छ । यस्तै, स्वास्थ्य सावधानी अपनाउन, मास्क अनिवार्य प्रयोग गर्न, सार्वजनिक नियकामा भौतक दुरी कायम राखेर सेवा प्रवाह गर्न तथा सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गर्न सबैमा अनुरोध गरिएको प्रमख जिल्ला अधिकारी रेग्मीले बताए ।

कोरोना संक्रमणको जोखिम बढे पनि आम नागरिकले सुरक्षा सतर्कता अपनाउन लापरवाही गरेको पाईएको छ । आज बुधबारबाट थालिएको यो अभियानका क्रममा प्रहरीले अधिकांशलाई मास्क बिना बजारमा हिँडेको भेटाएको छ । मास्क नलाएकाहरुलाई मास्क तुरुन्त लगाउन, साथमा लिएर गएका तर नलगाएकाहरुलाई लगाउन तथा अब बाहिर निस्कँदा अनिवार्य घरबाटै मास्क प्रयोग गर्न लगाइएको प्रहरीले जनएको छ ।

पटक–पटक सिठ्ठी फुकिरहनुपर्ने र निरन्तर बोलिरनुपर्दा आफ्नो मास्क खोलिरहनुपर्छ, त्यसो गर्दा नाक मुखजस्तो संवेदशीन अंग छोई रहनु परेकाले सुरक्षाकर्मीकै सुरक्षाको लागि पनि यो सहयोगी हुने भन्दै प्लेकार्डमार्फत सचेत बनाउने अभियानको सोँच आएको हो तर भनेर मात्रै नहुने रहेछ, आफ्नो स्वास्थ्य सुरक्षाका लागि नागरिकले नियम मान्ने लापरवाही गर्ने गर्छन्, प्रहरी निरिक्षक सापकोटाले भने ।