Ad Area

किसानलाई समस्यै समस्या


घोराही, २८ पुस । बबई गाउँपालिका वडा नं. ५ की गौरीकला रोकाले व्यावसायिक रुपमा बाख्रापालन गरेकी छन् । बाख्राका लागि बनाइएको खोरमा करिव ६० बढी बाख्रा छन् । बाख्राका लागि स्याहार सुसारमा उनको दिन बित्ने गर्दछ । बाख्राको स्याहार बाहेकका अरु कामका लागि उहाँको समय छैन् । व्यावसायिक हिसावले गतिलो अनुदान पाउन नसकेको उनको गुनासो छ ।

सरकारले कृषि तथा पशु पालनमा व्यावसायिकरणका लागि गतिलो योजना बनाउन नसक्दा व्यवसायबाट नै पलायन हुने अवस्था आउने हो कि भन्ने उनको आशंका छ । ‘दुःख गरी व्यवसाय गरियो, सरकारी तवरवाट प्रोत्साहनका काम भएका छैनन्, अर्काेतर्फ बिचौलियाका कारण मार खेप्नु परेको छ ।’–उनले भनिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का महेन्द्र कुमार बस्नेतले व्यावसायिक काममा औषधिको समस्या हुने गरेको बताए । बाख्रापालन गर्दै आएका बस्नेतले पशु कार्यालयबाट पाइने औषधी र अन्य ठाउँवाट पाइने औषधिको बिषयमा जानकारी बोर्डमै राख्नुपर्ने बताए । ‘पशु विरामी भएको समयमा कार्यालय पुग्दा यो औषधि यहाँ पाइदैन भनेर फर्काउनुहुन्छ, एक त कार्यालयमा कर्मचारी कम देखिनुहुन्छ, सूचना समेत प्रष्ट छैन्’–उनले भने ।

सोही ठाउँका सर्वेस बुढाथोकीले अनुदान भन्दा पनि उत्पादित बस्तुको मुल्य निर्धारण गर्न आवश्यक भएको बताए । मुल्य निर्धारण नहुँदा फरक ठाउँमा फरक–फरक खालका मुल्यमा उत्पादनहरु बिक्रि गर्नुपर्ने बाध्यता सुनाए । सबै उत्पादित बस्तुहरुको मुल्य निर्धारण गर्न यहाँका सरोकारवालालाई आग्रह गरेका छन् । मुल्य निर्धारण नगरिदा बिचौलियाले दुःख दिएको बताए । उत्पादककर्ताले सस्तोमा बेच्नुपर्ने, उपभोक्ताले महंगोमा खानुपर्ने तर बीचको बिचौलियाले राम्रो आम्दानी गर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनको जोड छ ।
घोराही उपमहानगरपालिका ११ की ममता बिष्टले पशुपक्षी विमामा सहजता आवश्यक भएको बताइन् । विमा प्रकृया सामान्य कृषकका लागि झन्झटिलो रहेको भन्दै यसलाई सबैको पहुँचमा ल्याउन सहज बनाउनुपर्ने बताइन् । यस्तै भक्त बहादुर बिश्वकर्माले अनुदानका नाममा कृषकलाई दुख दिने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । अनुदान कार्यक्रमका लागि सूचना प्रकाशन गर्ने र ५० जनाले अनुदान पाउने कार्यक्रममा सयौ जनाले फारम भर्ने गरेपनि अन्तिममा पहुँचवालालाई बाड्ने गरेको बताए । “आफ्ना चिनेका, आफन्त र पहुँचवालाई बाड्ने अनुदानको फारम भर्न लगाएर सयौँ जना कृषकलाई किन दुख दिनु ?–उनले प्रश्न गरे ।

निश्पक्ष रुपमा वितरण नगर्ने अनुदानको सार्वजनिक सूचना ननिकाल्न आग्रह गरे । बास्तविक कृषकले कागजी प्रकृया मिलाउन नसक्ने तर गैर किसानले कागजी प्रकृया मिलाएर अनुदान रकम कुम्ल्याएको गुनासो कृषकहरुको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा आयोजना गरिएको दाङ सृजनशिल कृषि तथा पशुपक्षी सहकारी लिमिटेडको अन्तर्रक्रिया कार्यक्रमा सहभागी कृषकहरुले यसरी आफ्ना दुःख सुनाएका थिए । कार्यक्रममा घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले संस्थागत विकासका सवालमा कृषिलाई माथि उठाउनमा जोड दिनुपर्ने बताए । आबश्यकता छनोट गर्नुपर्ने उनको भनाई थियो । बास्तबिक किसानले कति अनुदान लगेका छन् यसको लेखाजोखा हुन आवश्यक भएको भनाई राखे । ‘उत्पादन अनुसारको आम्दानी छैन्, बिचौलियाको बिगबिगी छ ।’–डाँगीले भने । संस्थाका सल्लाहकार खुसल घिमिरेले सहकारीलाई सफल बनाउन सबैको सहयोग आवश्यक भएको धारणा राखे । कृषि पेशालाई व्यावसायिकीकरण गर्न सरकारी तथा गैरसरकारीको सहयोग आवश्यक भएको बताए ।

Blog Post Ad

सरकारले कृषिको व्यावसायिकीकरण गरी देशको आर्थिक विकास गर्ने लक्ष्य लिएको थियो । तर आर्थिक विकासका लागि कृषिलाई बढावा दिने भनेपनि कृषि पेशालाई प्राथमिकता दिइएको छैन् । सरकारी तवरवाट गरिने कार्यक्रमहरु समेत प्रभावकारी बन्न सकेका छैनन् । सहकारीका अध्यक्ष गोविन्द रोकाको अध्यक्षतामा भएको कार्यक्रममा वडाका अध्यक्ष तथा सहकारीका प्रतिनिधि कृषकको सहभागिता रहेको थियो । उपाध्यक्ष पबित्रा घर्तीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको बिषयमा सल्लाहकार सुरेन्द्र केसीले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सहकारीका सदस्य रोवरबहादुर केसीले गरेका थिए ।

 

Blog Post Ad Blog Post Ad