Ad Area

दाङमा १३ प्रतिशत अझै कोरोना खोप बाहिर


दाङ,३० पुस । केहीदिन अघिसम्म दाङमा कोरोनाका सक्रिय बिरामी १२ जनामा झरेको थियो । कोरोना संक्रमित कम हुँदै जाँदा आम नागरिकले स्वास्थ्य सावधानीमा लापरवाही गर्ने, राजनीतिक दलहरुले जनसागर उतारेर शक्ति प्रदर्शन गर्ने काम गरे । चिसो मौसम र स्वास्थ्य असावधानीका कारण केही दिनयता दाङसहित मुलुकभर कोरोनाका बिरामी ह्वात्तै बढेका छन् ।

कोरोना महामारीको तेश्रो लहर भनिएको यो बेलामा दाङमा पनि दैनिक रुपमा दोहोरो अंकमा संक्रमित थपिएका छन् । बिहीबारमात्रै जिल्लामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५८ जनाको पिसीआर परिक्षण गर्दा १७ जना र तुलसीपुरका १५७ जनामा गरिएको एन्टिजेन परिक्षणबाट ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमित हुनेमा धरै तुलसीपुरका ६८ जना छन् ।

त्यस्तै, घोराहीका १४ जना रहेको केन्द्रले जनाएको छ । जिल्लामा बिहीबार सक्रिय संक्रमितको संख्या २३८ जना रहेको छ । उनीहरुमध्ये २१६ जना घरमा, २४ जना सामान्य उपचारमा र १ जना आइसियूसहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । जिल्लामा दैनिक जसो संक्रमित थपिँदै जाँदा यसको नियन्त्रण र सावधानीका लागि अपनाउनु पर्ने सतर्कताका बारेमा नागरिकका तर्फबाट अहिले पनि लापरवाही देखिएको छ ।

स्थानीय सरकारमातहतका स्वास्थ्य संस्थाहरु तथा जिल्ला र प्रदेश मातहतका स्वास्थ्य संस्थाहरुमा पनि कोरोना महामारी नियन्त्रणका लागि थप सचेतनाका कार्यक्रममा उल्लेख्य तयारी र सावधानी अझै हुन नसकेको पाईएको छ । जिल्लामा केहीदिनयता कोरोना ग्राफ बढ्दै जाँदा विगतको जस्तो असहज अवस्था नआओस् भनेर पूर्व तयारीमा भईरहेको ढिलाईले स्थिति जटिल नबन्ला भन्न सकिने अवस्था भने छैन ।

प्रदेश सरकारमातहत रहेको स्वास्थ्य कार्यालय दाङले खोज र खोप भन्ने उद्देश्यले जिल्लाका लक्षित उमेर समुहका सबै नागरिकलाई खोप लगाउन विगतदेखि नै पहल गर्दै आएपनि धेरैले खोप नलगाएको पाईएको छ । कोरोनाका बिरामी प्रायः होम आईसोलेसनमा छन् । स्वास्थ्य निकै प्रतिकुल भएका तथा अरु रोग लागेका तर संक्रमणले अप्ठ्यारो महसुस गरेकाहरु अस्पतालको बेडमा पुगेका छन् । स्वास्थ्य कार्यालय दाङका प्रमख अंगदबहादुर शाहीले जिल्लास्थित कोरोना संकट व्यवस्थापन समिति, प्रदेश सरकार र संघीय सरकारले गरेको निर्णय कार्यान्वयनमा स्थानीय सरकारसँग समन्वय गरेर अघि बढेको बताउनुभयो ।

कोरोना नियन्त्रणका लागि आम नागरिकहरुलाई विगतदेखि नै बारम्बार सावधानी अपनाउन तथा यसलाई सामान्य नठान्न अपिल गरिरहेको स्मरण गराउँदै अहिलेको अवस्थामा पनि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिन अपिल गर्नुभयो । यो बेलामा कोरोनाबाट बच्न फेरि हरेक पालिकाले सचेतनाका कार्यक्रम गर्ने, खोप अभियानमा लक्षित सबै नागरिकलाई सहभागी गराउन सघाउने तथा स्वास्थ्य सावधानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रोटोकल अनिवार्य पालना गर्न वृहत अभियान चलाउने पर्ने बेला आएको प्रमुख शाही बताउनुहुन्छ । तर, भनाई र गराईमा तालमेल नमिलेको जस्तो अवस्था रहेको उहाँको तर्क छ ।

Blog Post Ad

प्रहरीले पनि तपाईको मासक खोई अभियान शुरु गरेको छ । ‘विद्यालय जाने बालबालिकाको स्वास्थ्य सम्वेदनशीलतालाई सम्बोध गरिए जस्तै अरु क्षेत्र पनि पर्न सक्ने हुँदा भयावह स्थितिको सामना विगत जस्तै गर्न नपरोस् भनेर बेलैमा सबैले सावधानी अपनाउनुपर्ने बेला आएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले खोप लगाउन आउनुस् भन्दा पनि नटेर्ने, लापरवाही गर्नेहरु अहिले खोप लगाउन आउन थालेका छन् ।

सरकारले सार्वजनिक क्षेत्रमा जाँदा खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेहरु स्वास्थ्य संस्था धाउन थालेका छन्, यो बेलामा नक्कली खोप कार्ड बनाउन सक्ने अवस्था पनि हुन्छ, स्थानीय पालिकाले जिम्मेवार ढंगले भूमिका खेल्नुपर्छ ।’ यस्तै, हिजोका दिनमा जस्तो भीडभाड गर्ने, मेला लगाउने, अनावश्यक काममा पनि स्वास्थ्य सावधानी नपनाई काम गर्नेहरुका लागि अनिवार्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने अवस्था आएकाले जनप्रतिनिधि, राजनीतिक दल, सरोकार संघसंस्थाहरुले पनि उत्तरदायी भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

यसैबीच, दाङमा ४ लाख ३२ हजार ५ सय ७३ जना खोप लगाउने लक्षित जनसंख्या रहेकोमा अहिलेसम्म ८७ प्रतिशतले खोप लगाईसकेका छन् । बाँकी रहेकाहरुले खोप लगाउन लापरवाही गरेका, खोप लगाउनुपर्छ भन्ने थाहा पाउँदा पाउँदै पनि धेरै जान्ने समुह, जेष्ठ नागरिक, दीर्घरोगीलगायत रहेको पाईएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीका अनुसार पहिलो मात्रा खोप लगाउने ८७ प्रतिशतमा ३ लाख ७७ हजार ६ सय ८१ जना रहेका छन् । दोश्रो मात्राको खोप लगाउने ६१ प्रतिशत छन् ।

जसमा २ लाख ६४ हजार ३ सय १५ जना रहेको उहाँले बताउनु्भयो । यस्तै, केही दिन अघि संचालित १२ देखि १७ वर्ष उमेर समुहका किशोरकिशोरी लक्षित खोपमा २२ हजार चार सय ५५ जनाले मोडर्ना खोप लगाएका छन् । पहिलो चरणमा घोराही उपमहानगरपालिका अन्तर्गतका किशोरकिशोरीहरुलाई मात्रै लगाईएको यो खोप अब माघको ८ गतेपछि जिल्लाभर लगाउने तयारी भएको छ । ‘केही जिल्लाबाट बचेर आएको खोप थियो, त्यसैले पहिलो चरणमा घोराहीमा मात्रै मार्डना खोप लगाएका हौँ, चाँडै जिल्लाभर १२ देखि १७ वर्ष उमेर समुहका किशोरकिशोरीले खोप लगाउन पाउँछन्,’ प्रमुख शाहीले भन्नुभयो ।

यस्तै अरु उमेर समुहका लागि जिल्लामा कोरोना खोप अभाव नरहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामै खोप उपलब्ध गराउँदै सहज रुपमा खोपको व्यवस्थापन गरिएकाले छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । अहिले पनि १३ प्रतिशत नागरिकले कोरोनाको खोप नलगाएको तथ्यांकले देखाएको हुँदा चाँडो भन्दा चाँडो खोप लगाउन र छुटेकाहरुलाई खोप अभियानमा सहभागी हुन अपिल गरिएको छ । यसैगरी, उहाँले पाँचदेखि ११ वर्ष उमेर समुहका बालबालिकाहरुलाई पनि माघको दोश्रो साताबाटै खोप लगाउने तयारी भएको बताउनुभयो ।

प्रमुख शाहीका अनुसार, जिल्लमा अहिले प्रसस्त मात्रामा कोरोना खोप रहेको छ । जिल्लाका घोराही उपमहानगरपालिकामा भेरोसेलको साथ हजार ८ सय ७४ डोज खोप सञ्चित छ भने एक डोज मात्रै लगाए पुग्ने जोन्सन खोप ८ हजार ३ सय डोज रहेको छ । कोभिशिल्डको एक हजार डोज खोप तुलसीुरको मेट्रो अस्पतालमा राखिएको छ । यस्तै, सोही अस्पतालमा भेरोसिलको ६ सय ५० डोज, जोन्सन एण्ड जोन्सन सय डोज खोप सञ्चित छ । उता, गढवा गाउँपालिकाको स्वास्थ्य शाखामा भेरोसेलको ९ सय ७३ डोज, जोन्सन एण्ड जोन्सन ६ सय ८५ डोज खोप सञ्चित रहेको छ ।

राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चौकीमा भेरोसेलको १ हजार ६ सय ६१ डोज खोप र जोन्सन एण्ड जोन्सन खोप १ हजार १ सय डोज सञ्चितमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको पालिकाहरुमा पठाईएको कोरोना खोप हरेक बुुधबारका दिन तोकेर लगाउने गरिएकोमा अहिलेको परिस्थितीलाई मध्येनजर गर्दै खोप अभियान आवश्यकता अनुसार दैनिक गरिएको छ । यसअघि कोरोनाको कोभिशिल्ड खोप लगाएका करीव ४० हजार जनाले दोश्रो खोप लगाउने तयारी भएको छ ।

जिल्लामा कोरोनाको जोखिमलाई मध्येनजर गर्दै अस्पतालहरुमा कोरोनाका बिरामीका लागि आवश्यक बेड तथा सामग्री तयारी अवस्थामा राख्न लगाइएको छ । पछिल्लो अवस्थालाई लिएर बिहीबार मात्रै दाङमा बेलुका सात बजेसम्म मात्रै होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा घोराहीमा बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै यस्तो नियम जारी गरेको हो ।

माघी पर्वको अवसरमा आयोजना हुने सबै खाले मेलाहरू समेतमा रोक लगाइएको छ। त्यस्तै, राजनीतिक, सामाजिक र सांस्कृतिक भेलाहरू बन्द गरिएका छन् । सार्वजनिक स्थलमा २५ भन्दा बढी जमघट गर्न प्रतिबन्ध लगाएको छ। सार्वजनिक यातायात चढ्ने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । त्यस्तै, माघ ७ गतेदेखि सार्वजनिक स्थलहरू, कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदि प्रवेशका लागि खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

जसले खोप लगाउनेको संख्या अब स्वाभाविक रुपमा बढ्ने अनुमान गरिएको छ । केन्द्रको जस्तै माघ १५ गतेसम्म विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा रोक लगाइको छ । तर, जिल्लाका केही नीजि विद्यालयले आफु खुशी पठनपाठन जारी राखेका छन् भने माघको पहिलो साताबाटै भोतिक उपस्थितीमै कक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरिसकेका छन् । घोराही उपमहानगरपालिकाले पनि माघ ९ गतेबाटै पठनपाठन सञ्चालन गर्न भनेको छ । औद्योगिक संस्था, पसल सञ्चालन गर्नेले अनिवार्य स्वास्थ्य मापदण्ड पालना खोल्न निर्देशन जारी गरिएको छ ।

Blog Post Ad Blog Post Ad