Ad Area

आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै


दाङ, १ माघ । आज माघ १ गते माघी पर्व । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।थारू बस्तीमा माघी पर्वको रौनक छाएको छ । नयाँ वर्षका रूपमा रहेको माघे संक्रान्ति भित्रिएसँगै थारू समुदायका बस्तीहरूमा उत्साह छाएको हो । घरदेखि टाढा भएकाहरू घरमा आइपुगेका छन् ।

घरमा भएकाहरूले घरलाई लिपपोत गरेर शृंगार गर्नेदेखि माघीका लागि आवश्यक जाँड, ढिक्री, रोटीलगायतका सामग्री बनाउन व्यस्त छन् । माघीका लागि ढिक्री, जाँड बनाउनेदेखि अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारू समुदायका महिला व्यस्त छन् । माछा मार्ने, बंगुरको मासुलगायतका विशेष मीठा–मीठा परिकारको जोहो माघीमा गर्ने चलन छ । माघीको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ ।

माघी पर्वलाई पहिले–पहिले पाँच दिनसम्म मनाउने गरिए पनि पछिल्लो समय पर्व छोटिँदै गएको छ । माघेसंक्रान्तिको दिन बिहानै पवित्र नदी, तलाउ तथा त्रिवेणीमा नुहाएर शुद्ध हुने र गाउँका महटावाँसँगै अग्रज आमाबुबा, दाजुदिदीलगायताई आदर र सम्मान गर्ने चलन छ । नयाँ वर्षसँगै वर्षभरिको योजना बनाउने पर्वका रूपमा रहेको माघी भित्रिएसँगै घोराही उपमहानगरपालिका–१० जितबहादुर चौधरी आवश्यक सामग्री जुटाउन व्यस्त छन् ।

माघी पर्वका लागि आवश्यक दाउरा, दुना, टपरी जुटाउनेदेखि जाँड, ढिक्रीलगातका सामग्री बनाइसकेका उनी माघी संक्रान्तिमा विधिपूर्वक पर्व मनाउँदै आफन्तसँग बसेर रमाइलो गर्ने तयारीमा छन् । तर, तेस्रो चरणको फैलिरहेको कोरोना भाइरसको डर भएको उनले बताए । ‘माघी मनाउनका लागि सम्पूर्ण तयारी भइरहेको छ, अब हाम्रो विधिअनुसार माघी मनाउने काम माघ १ गते बिहानै नुहाएर हुन्छ’, उनले भने, ‘तर कोरोना संक्रमितहरू बढिरहेका छन्, माघीमा धेरैसँग भेटघाट हुने भएकाले जोखिम समेत देखिन्छ ।’

घोराही उपमहानगरपालिका–१६ का दीपक चौधरीले पनि माघीको आवश्यक तयारी गरिसकेका छन् । घरमा ढिक्री, रोटी बनाउनेदेखि बंगुर र माछाको समेत व्यवस्था गरिसकेकाले विधिपूर्वक पूजा गरेर रमाइलोसँगै वर्षभरिको योजना बनाउने तयारीमा रहेको बताए । ‘माघी थारू समुदायको प्रमुख पर्व हो । हाम्रा लागि यो नयाँ वर्षको सुरुवातको दिन पनि हो’, उनले भने, ‘नयाँ वर्षमा रमाइलोसँगै वर्षभरि गर्ने कामको योजना समेत बनाउने गर्दछौँ ।’ यससँगै माघीमा खानपान गर्ने, चेलीबेटीलाई पावर पठाउने र आफन्तसँग भेटेर रमाइलो गर्दै मनाउने गरिन्छ ।

माघी पर्वमा आफन्तहरू घरमा आउने भएकाले पाहुनाहरूको सत्कारका लागि विभिन्न तयारी गर्नुपर्ने उनले बताए । ‘माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्ने हाम्रो परम्परा रहेको छ’, उनले भने, ‘अहिले रोटी, मासु, माछाको तयारी गर्ने गरिए पनि अन्य तयारी एक महिना अघिदेखि नै हुने गर्दछ ।’ माघीमा थारू संस्कृति झल्कने नाँचगान समेत नाच्ने गर्दछन् ।

Blog Post Ad

माघी थारू समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले पर्व मनाउनका लागि एकसाता अघिदेखि नै तयारी गर्ने गरिएपछि पछिल्लो समय यो हराउँदै गएको थारू समुदायका अगुवा बेजुलाल चौधरीले बताए । ‘आजको दिन थारू समुदायको विशेष दिन र माघी विशेष पर्व हो, यो एकसाता अघिदेखि नै थारू बस्तीमा सुरु भइसकेको हुन्छ’, उनले भने, ‘माघी पर्वले थारू बस्तीमा रौनक ल्याउँछ, नयाँ जोश र उमंगका साथ मनाइन्छ ।

पर्वको अवसरमा वर्षभरिको योजना बनाउने समेत गरिन्छ ।’ गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने, नाँच्ने र भाले बासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आपूmभन्दा ठूलालाई ढोग गरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारू समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नून राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो कोसेलीका रूपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको छ ।

माघको अघिल्लो दिन बिहानै गाउँघरका बंगुर मारेर मासुको व्यवस्था गर्ने प्रचलन छ । माघीमा तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी ६ प्रकारको तिलको प्रयोग गर्नाले जीवनमा सफलता प्राप्त गरिने विश्वास थारू समुदायमा रहेको छ । त्यस्तै ढिक्री, सुँगुरको मासु, माछा, तरुललगायतका विभिन्न परिकार बनाएर खाने प्रचलन रहेको चौधरीले बताए ।

माघीका दिन तिल, चाकु, तरुलजस्ता खानेकुरा खानाले शरीरमा तापक्रम बढ्ने र जाडो हट्ने मान्यता समेत रहेको छ । थारू समुदायमा माघी वर्षको एउटा छुट्टै विशेषता रहेको छ । माघीमा थारू समुदायमा टीका लगाएपछि आशीष माग्न आउने आफन्तीलाई मान्यजनले आशीषसँगै दक्षिणाका रूपमा पैसा अनिवार्य रूपमा दिने गरिन्छ । अन्य चाडहरू दसैँ, अट्वारीलगायतका पर्वहरूमा दक्षिणका रूपमा पैसा अनिवार्य नभए पनि माघीमा पर्वमा आशीष लिन आउने छोरी, बहिनी, भाइ, भान्जाभान्जीलगायतलाई नयाँ पैसा दिनुपर्ने प्रचलन रहेको छ । पछिल्लो समय आधुनिकतासँगै माघी फेरिँदै गएको समेत छ ।

आधुनिकताले थारू समुदायको संस्कृतिमा समेत परिवर्तन ल्याएको छ । दासता उन्मुक्तिको पर्व अहिले अधिकारको पर्वका रूपमा मनाउने गरिने गरिएको छ । थारू समुदायमा ‘माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने र नयाँ महटावाँ चुन्ने चलन समेत छ ।

Blog Post Ad Blog Post Ad